इलाम । इलाम नगरपालिका– ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जिल्ला प्रहरी कार्यालय इलामलाई एक सय थान भिटिएम (स्वाब संकलन गरेर राख्ने भाँडो) हस्तान्तरण गरेका छन् । भिटिएम अभावका कारण स्वाब संकलनमा समस्या हुने गरेको थाहा पाएपछि वडाध्यक्ष श्रेष्ठले आफ्नै लगानीमा भिटिएम हस्तान्तरण गरेका हुन् ।
आज जिल्ला प्रहरी कार्यालय इलाममा एक कार्यक्रमका बिच उनले इलामका प्रहरी प्रमुख नविनराज राईलाई सो सामाग्री हस्तान्तरण गरे । प्रहरीको सरुवा बढुवा हुँदा एक ठाउँमा कोरोना पोजिटिभ भएर पनि अर्को ठाउँमा जाने भएका कारण कोरोना भाइरस फैलिन सक्ने भएकाले पनि सतर्कता अपनाउन सो सामाग्री हस्तान्तरण गरिएको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आउने प्रहरीहरुलाई राख्नका लागि भर्खरैबाट प्रहरी कार्यालय नजिकै रहेको बाल मन्दिर प्रयोग गरिन थालिएको छ । बाहिरबाट आएका प्रहरीहरुलाई क्वारेन्टाइन रुपमा १४ दिनसम्म सो स्थानमा राख्न थालिएको प्रहरी प्रमुख राईले बताए । सोहि बाल मन्दिरमा बस्ने प्रहरीहरुलाई लक्षित गरेर भिटिएम बितरण गरिएको बताइएको छ ।