माई । आफ्नै बुवाको मृत्युपछि बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिनेहरु विरुद्ध इलामको माई नगरपालिका–२ बस्ने यामकला आर्चाय (विश्वकर्मा) ले आज जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्धा दर्ता गरेकी छिन् । १२ बर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र अनुसार बुवाको काजकिरिया सकेर आज घटनामा संलग्न आफ्नै सहोदर भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र झापाको बुद्धशान्ति गाउँपालिका–३ बस्ने पार्वता आचार्य बजगाईंलाई विपक्षी बनाई स्वयम् जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई मुद्धा दर्ता गरेकी हुन् ।
विवाहपछि आफ्नो माईती पक्षबाट पटक–पटक विभेद र अपमान सहनुपरेको यमकला बताउछिन् । ‘माइती घरमा सँगै बसेर काजकिरिया गर्ने त कुरै छाडौं, मरेर मुडोजस्तो लडाएर राखिएको बुवाको अनुहार समेत हेर्न दिएनन् ।’ गहभरी आँशु पारेर उनी भन्छिन्–‘आजको २१औं शताब्दीको युगमा पनि दलितसँग विवाह गरेकै कारण मैले जे सहनु र भोग्नु पर्यो त्यो भावी पुस्ताले भोग्नु नपरोस्, म यहाँसम्म न्यायको भिख माग्न आएकी हुँ ।”
आफूलाई न्याय दिन र पींडितलाई हदैसम्मको कानूनी कारबाहीको मागसहित यामकलाले आज दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय इलामले आज नै दर्ता गरेको प्रहरीले जनाएको छ । घटनाको सत्यतत्य अनुसन्धान गरेर जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाईने प्रहरी उपरिक्षक नवीनराज राईले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय इलामको दर्ता नं २२ मा यामकलाको जाहेरी दर्ता गरिएको प्रहरी निरिक्षक उद्धव पोख्रेलले जानकारी दिए ।
अधिकारकर्मी नवराज शंकरले माई नगरपालिका–२ मा दलित समुदायको युवासँग विवाह गरेकै कारणले भएको घटना दुःखद् एवं निन्दनीय भएको बताए । ‘यो घटना सामाजिक दृष्टिकोणले अमानवीय र कानूनी दृष्टिकोणले दण्डनीय अपराध हो ।’ उनले भने –‘घटनाको सत्यतथ्य छानवीन गरेर पींडितलाई न्याय दिलाउनुपर्दछ र दोषीलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्नुपर्दछ ।’ जातीय भेदभाव मानव समाजको कलंक हो, विकास र समृद्धिको बाधक भएको बन्दै अधिकारकर्मी शंकरले कसलाई अछूत बनाएर, कसैलाई विभेद र अपमान गरेर समृद्ध र समतामूलक समाज नबन्ने अधिकारकर्मी शंकरले दाबी गरे ।
दलितसँग बिवाह गरेकै कारण विभेद भाग्न बाध्य पारिएकी यामकलाका तीन जना सन्तानहरु रहेका छन् । यामकला माई नगरपालिकाकी उपमेयर एवं नगरपालिकाको न्यायिक समितिकी संयोजक बिष्णुमायाँ आचार्यकी सहोदर भतिजी हुन् ।
