चुलाचुली । इलामको चुलाचुली गाउँपालिका क्षेत्रमा वर्षातका कारण भएको क्षतिबारे स्थलगत निरिक्षण गरिएको छ । वर्षातका कारण क्षति भएको क्षेत्र र संभावित क्षतिको आंकलन गर्न गाउँपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समन्वय समितिको उप–समितिले स्थलगत निरिक्षण गरेको हो ।

चुलाचुली गाउँपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समन्वय समितिका संयोजककै नेतृत्वमा उप–समिति गठन भएको थियो । वडा नम्बर एकका अध्यक्ष पूर्ण लावतीको नेतृत्वमा गाउँपालिका भित्रका सबै वडामा विपद् व्यवस्थापनमा गरिएका काम र लगातारको वर्षातले गरेको क्षतिबारे अध्ययन भएको हो । समितिको टोलीले गाउँपालिका भत्रिका सबै वडामा असार ३०, ३१ र साउन १ गते स्थलगत निरिक्षण गरेको थियो ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु सहितको टोलीले वर्षातमा बाढी पोहिरोले गरेको क्षति र जनतालाई परेका समस्याबारे अध्ययन गरेको शसस्त्र प्रहरी बल चुलाचुली बेस क्याम्पका प्रमुख भोला खत्रिले बताए ।

विपद् व्यवस्थापन समितिले उप–समिति गठन गरि वर्षातको क्षतिको यकिन गर्न स्थलगत अनुगमन र निरिक्षण गर्न सबै वडाको भ्रमण गर्ने निर्णय गरे अनुसार क्षतिको यकिन र संभावित क्षति हुने क्षेत्रको अध्ययन गरेको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए । उप–समितिको संयोजकमा वडा नम्बर एकका अध्यक्ष पूर्ण लावती, आर्थिक विकास समिति सदस्य संयोजक रन बहादूर लिम्बु, इञ्जिनियर क्षितिज दाहाल, सव–इञ्जिनियर गोविन्द ढकाल रहेका छन् ।

उप–समितिले चुलाचुलीमा रहेका नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई पनि स्थलगत अध्ययनमा सहभागिता गराएको थियो । जसमा चुलाचुलीमा रहेका नेपाल प्रहरीका प्रमुख जिवन कार्की र शसस्त्र प्रहरी चुलाचुली बेसका प्रमुख भोला खत्रीको सहभागिता रहेको गाउँपालिकाका कर्मचारी तिर्थराज खरेलले बताए ।