Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

आज राष्ट्रिय धान दिवस, मनसुनले किसान उत्साहित

आज राष्ट्रिय धान दिवस, मनसुनले किसान उत्साहित

  • सन्देश सम्वाददाता
  • सोमबार, असार १५ २०७७


आज राष्ट्रिय धान दिवस, मनसुनले किसान उत्साहित

धान दिवस, अर्थात रोपाइँ जात्रा । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ आजकै दिन नेपालभर धान दिवस मनाइन्छ । नेपाल कृषिप्रधान देश । कृषि प्रधान देश भएकै कारणले यहाँका अधिकांश मानिसहरु कृषि पेशामा आवद्ध छन् । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीपातीमा व्यस्त रहन्छन् । आजका दिन पहाडी भेग लगायत क्षेत्रमा असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ ।

शुभकार्यका लागि घर बाहिर निस्कने, महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । असार १५ मा दहीसंगै चिउरा खाने प्रचलन छ । चिउरा धानबाट तयार गरिने परिकार हो । नेपालीको प्रमुख खाद्यान्न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग जोडिएको छ । यसवर्ष “धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि” नाराका साथ १७औँ राष्ट्रिय धान दिवस मनाईदैछ ।

नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय भएको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आएको छ । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुनेगरेको तथ्यांक छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । असार १० सम्म आइपुग्दा नेपालको उच्च पहाडमा २६, मध्यपहाड र तराईमा २० प्रतिशत जमिनमा रोपाइँ भएसकेको छ । नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ ।

नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नेपालको धानखेती आकाशे सिँचाइमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ । कूल गार्हस्थ्य उत्पादनमा धानको उत्पादन ११ प्रतिशत रहेको छ । धानको उत्पादन घटेको वर्ष कूल गार्हस्थ्य उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गार्हस्थ्य उत्पादनमा सकारात्मक सङ्केत देखिने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार