इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ । जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ । ६ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका, पश्चिमका मोरंङ जिल्ला उत्तरमा माङ्सेबुङ गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ । पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ । यहाँ पर्ने चुरे क्षेत्रमा चुला ढुंगासरी मसिना पहाडहरु उठेकाले तिनकै आधारमा ठाउँको नाम चुलाचुली रहेको हुनसक्छ । झापासँग नजिक भएकाले झापाले नहेरेको इलामले नदेखेको संज्ञा स्थानीय सरकार गठन हुनु अघि दिइदै आएको थियो । तर आज यो परिर्वतन भइसकेको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई बताउँछन् । उनै गाउँपालिका अध्यक्षसँग लोकल सन्देशका लागि प्रधान सम्पादक सुजन तिमसिनाले गरेको कुराकानी :
स्थानीय सरकार गठन भएपछि तेश्रो बर्षको बजेट ल्याउने तयारी भइरहेको छ । अहिलसम्मको कामको मुल्यांकन कसरी गर्नुहुन्छ ?
शुद्ध मनले गरेको काम आफुलाई चित्त बुझ्दो रहेछ । आफैले भन्दा पनि तेश्रो पक्षले मुल्यांकन गर्दा राम्रो हुन्छ । स्पष्ट भन्दा सुरुको बर्ष केही गरेनौ होला । दोश्रो बर्षमा केही न केही गर्न खोज्यौ । तेश्रो बर्षमा केही देखिने गरी गाउँपालिकामा काम गरेका छौ । केही गर्न थालेको महसुस भएकाले हालसम्मको काम प्रति चित्त बुझेको छ ।
विश्वमा नै अधिकार सहितको संघियता नौलो व्यवस्था नेपालमा स्थापित हुँदै गएको छ । दैनिक संरचना थिएन । आफनो विकासमा भौतिक पुर्वाधारका संरचना कसरी अघि बढ्दै छ ?
३ वटा मध्ये हामी स्थानिय सरकार हौ । स्थानीय सरकारको हैसियतले ऐन, कानुन, पुर्वाधार, विकासका कामहरु गर्दै अघि बढिरहेका छौ । भौतिक हिसाबले जसल सोध्दा पनि भन्न सक्ने चाही प्रशासनिक भवन, वडा कार्यालयहरु तदारुकताका साथ बनाउदै छौ । स्वास्थ्य चौकी निर्माणका कामहरु सुरु भएका छन् ।
विद्युत विस्तार, खानेपानीको काम सवै वडामा बन्ने क्रम तिव्र रुपमा अघि बढिरहेको छ । केही क्षेत्रमा कालोपत्रे गर्ने कामहरु सुरु गरेका छौ । यो बर्ष पनि त्यो कार्यक्रम छ । हिलोमा हिडनुपर्नेमा ग्राभेल गरेका छौ । स्थानीय सरकारको हिसाबले बजेट पर्याप्त भए जनताको अपेक्षा अनुसार गर्न सक्थ्यौ होला । बजेट सिमितताका कारण जे जति ग¥यौ आफनो सार्मथ्य प्रयोग गरेर गर्दा ठिकै भए जस्तो लाग्छ ।
विकास निर्माणसँगै देखिएको स्वास्थ्य र शिक्षा हो । कोरोनाका कहरबिच शिक्षा क्षेत्रमा लगानीको अवस्था कस्तो छ ? कोरोनाको समयमा स्वास्थ्य संरचनाले कसरी काम गरिरहेको छ ?
सबै सरोकारवालासँग समन्वय गरेर काम गरिरहेका छौ । अन्य स्थानीय तहको जस्तै गरी कार्य सम्पादन गरिरहेका छौ । हाम्रोमा व्यवस्थापनमा एकरुपता नै छ । हाम्रोमा पर्याप्त कर्मचारी हुनुहुन्न । तर जति हुनुहुन्छ उहाँहरुलाई पुर्ण उपयोग गरी कोरोना विरुद्ध लड्नुपर्छ भनेर विपद व्यवस्थापन समितिलाई सक्रिय बनाएका छौ । समितिको सक्रियताले गाउँपालिका, वडा कार्याृलय, स्वास्थ्य, सुरक्षा संयन्त्रको सहयोग भइरहेको छ । स्वास्थ्यकर्मीले उल्लेखनिय काम गरिरहनुभएको छ ।
रात दिन नभनि क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य चेक जाँच, विदेशबाट आउनेलाई स्वास्थ्य जाँच गरी व्यवस्थापन, पिसिआर टेस्टको कामका लागि कहिले विराटनगर, कहिले काँकडभिट्टा पुगिरहनुभएको छ । उहाँहरुको कामको उच्च सम्मान हुनेछ । जनप्रतिनिधिहरुले पनि दैनिक जसो काममा व्यस्त हुनुहुन्छ । कहिले पनि सेवाग्राहीलाई असुविधा महसुस हुन दिएका छैनौ । लकडाउनको अवधिमा जे जति गर्नुपर्ने विकासका कामहरुलाई रोकेका छैनौ ।
विश्व अर्थतन्त्रमा असर पुग्दा विकासको गतिमा हिडेको देशमा ब्रेक लागेको छ । यसको असर चुलाचुली गाउँपालिकालाई समेत पुग्यो । नयाँ बजेटको चरणमा विकासको गति नरोकिने गरी कसरी प्राथमिकतामा राखिएको छ ?
बिगतका बर्षमा जे जति काम ग¥यौ । त्यसलाई निरन्तरता दिने छौ । साढे ३२ करोड बजेट प्रस्तुत गर्ने क्रममा गाउँसभा गर्ने गरी अघि बढेका छौ अहिले । स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता राख्नुपर्छ भन्ने लागेको छ । विगतका बजेटमा बढोत्तरी गर्ने सोच छ । कोरोनाको कहर कहिले अन्त्य हुन्छ यकिन छैन् । यसले झन झन जरो गाडिरहेको छ । ऋण बोकेर युवाहरु विदेशबाट युवाहरु फर्कन क्रम छ । उनीहरुलाई व्यवस्थापन गर्न जागिर दिन गाह्रो छ ।
कृषिमा व्यवसायिक बनाउन सकियो भने हून्छ । कृषिमा गाउँपालिकाको आन्तरिक बजेट र प्रधानमन्त्री आधुनिकिकरण परियोजनाबाट समेत बजेट आएको छ । त्योसँगै जोडेर कृषिमा अघि बढ्नुपर्ला । कोरोनाले आगामी आर्थिक बर्ष ०७७/७८ भन्दा पनि ०७८/७९ मा बढि असर गर्छ । त्यस कारण आगामी बर्ष अझ बढि जटिल छ । संघ र प्रदेशको नितिसँगै मिलेर अघि बढ्नुपर्छ ।
धान खेती बढि हुने भएकाले इलामको खाध्य भण्डार पनि भनिन्छ । सिचाईको असुविधा, खोलानाला क्षति कृषिलाई आधुनिकिकरणसँगै चुरेको क्षति कम गर्न कस्ता कार्यक्रमहरु छन् ?
खास गरी चुरे क्षेत्र भनेको एकदमै मेरुदण्ड हो । चुरे बचाउनुको विकल्प पनि छैन् । जालीमा ढुङ्गा भरेर चुरे बचाउनका लागि साध्य पनि छैन् । जनतालाई चुरे संरक्षणका लागि सु–सुचित गर्नुपर्छ । बायो इन्जिनियरिङ बाट चुरे विनास रोक्नुपर्छ । जति पनि चुरे भत्कने क्रम छ । त्यसलाई रोक्न पहिलो नम्बरमा विरुवा सरक्षण र त्यसपछिको लागि सहयोग पुग्ने गरी बायोइन्जिनियरिङको काम ग¥यौ भने चुरे भत्कन रोकिन्छ । चुरे बचाउनका लागि बुझाउन वन कार्यालयसँग राष्ट्रपति चुरे संरक्षण र सामुदायिक वन उपभोक्ता समितिसँग हातेमालो गर्दा मात्र राम्रो हुने महसुस गरेका छौ । त्यसो गर्दा खोला नालाको समस्या, पहिरोको दुःख भोग्यौ त्यसको रोकथाम हून्छ भन्ने लाग्छ ।
यसका लागि एक्लै गरेर हुँदैन समन्वय हुनुपर्छ । अहिले खोलानाला पहिलाको हिसाबले बढ्न सकेका छैनन् । राष्ट्रपति चुरेले व्यवस्थित हिसाबले बग्न दिनुपर्छ । जतासुकै बग्न नदिन सामान्य मापदण्ड बनाएर धार परिर्वतन रोक्दा धनजनको क्षति कम हून्छ । कृषि क्षेत्रमा अहिले यसकै कारण असर छ । मदन भण्डारी मार्ग चुलाचुली क्षेत्रको माथिल्लो भाग भएर जाँदैछ । बुझेसम्म टेन्डुर समेत भएको छ । यस अन्र्तगतका सवै खोलामा पुल बने कृषि उपज निर्यातमा सहज हुन्छ । कटानका कारण हुने विपती कम हून्छ भन्ने आश छ ।
कृषिको क्षेत्रमा चुलाचुलीको संभावना राम्रो छ । अहिले सिचाईको अवस्था कस्तो छ ?
अब जस्तो ६ नम्बर वडाको तल्लो भाग तोरीबारीमा १२ महिना सिचाई हुन्छ । ५ मा पनि बुकुवा रतुवा सिचाई थियो त्यो हाल बिग्रिएर तहसनहस भएको थियो । प्रोजेक्टको रुपमा सिचाई डिभिजनले सुचारु गर्ने अवस्थामा पुगेको छ । त्यो संचालन भए हिउँद बर्खा पनि सिचाई हून्छ । रतुवा खोला हिउँदमा पनि सुक्दैन् । त्यसले वडा नं ५ को आधा भाग र अहिलेको ३ र ४ लाई पनि केही पुग्ने डिजाइन भएको छ । यो भए ३ वडा सिचाई हुन्छ ।
यता कमल सिचाई छ त्यसमा हिउँद बर्खाको लागि कमल खोला छ । २ नम्बर वडामा चाजु खोलाबाट सिचाई हून्छ । त्यसमा हिउँदमा पानी पर्याप्त हुदैन् । जसले गर्दा यहाँ एक समय मात्र हुन्छ । सिचाई हाल २५ प्रतिशत छ भन्नुपर्ला । पम्पसिट सेलोटयुव गरेर हिउँदे मकै, फलफुल, हिउँदे खेती लगाउने कार्य त्यसबाट भइरहेको छ ।
चुलाचुलीलाई शान्ति सुरक्षाको हिसाबले संवेदनशिल क्षेत्रको रुपमा राखिन्थ्यो । विशेष गरी सखुवाको काठ भएकाले झापा तर्फ चोरी तस्करी हुने गरेको सुनिन्थ्यो । अहिले शान्ति सुरक्षाको अवस्था कस्तो छ ? पछिल्लो समय शसस्त्र प्रहरी बल बसेको छ त्यसबाट अहिले शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
शान्ति सुरक्षाको अवस्था विगतमा कहाली लाग्दो नै थियो । अहिले सुरक्षाको हिसाबले अफ्ठयारो छैन् । पहिला एउटा प्रहरी चौकी थियो । त्यसले केही कर्भर गर्न भुमिका निर्वाह गरेको थियो । शसस्त्र प्रहरी कमलमा आएपछि र त्यहाँ बेस बनाएर बसेपछि धेरंै भन्दा धेरै सुरक्षाको महसुस भएको छ । चुरेबाट काठ झापा तर्फ लग्ने क्रममा यसो भनिरहँदा हाम्रो भु–भागबाट काटेर लग्ने होइन् । नाका मात्र हो चुलाचुली । माङ्सेबुङ र महमाईबाट आउने गर्छ । अहिले पनि आउने क्रम होला तर धेरै कम छ । त्यो रोक्नका लागि स्थानीय तह गठन र सुरक्षाका कारण केही कम भएको हो ।
झापाले नहेरेको इलामले नदेखेको भनिथ्यो त्यो क्रम परिर्वतन हूँदै आएको हो ?
स्थानीय सरकारको रुपमा चुलाचुली गाउँपालिका स्थापित भएपछि जिल्लाले केही कुरामा देख्नुपर्छ । तर पहिलाको जस्तो सबैकुरामा देख्नुपर्छ भन्ने चाही हुँदैन् रहेछ । अब त केन्द्र र प्रदेशले पनि देख्दो रहेछ । अहिले चाही पहिला जस्तो नदेखेको गुनासो कम छ । र झापाले हेपेको भन्ने कुरामा झापाले हेपेको जस्तो लाग्दैन् । झापा त्यसै पनि ठुलो क्षेत्र हो । सबै स्थानीय तहमा राम्रो छ समन्वय । हिजाको जस्तो परिभाषा छैन आज जस्तो लाग्छ । ्
चुलाचुलीको अर्थतन्त्रको रुपमा के लाई अघि बढाउने भन्ने छ । र दिर्घकालिन रुपमा चुलाचुली जोगाउने र आत्मनिर्भर बनाउने के लाई प्राथमिकता दिनुहुन्छ ?
कृषि । कृषिलाई नै फोकस ग¥यौ भने सम्मान पनि छ । त्यसले धेरै किसानको हित र पहिचानलाई पनि माथी उठाउँछ । दोश्रोमा पर्यटनलाई मान्नुपर्छ । हाम्रोमा अर्थाह पर्यटकिय हिसाबले गन्तीमा राखिने पर्यटकिय स्थलहरु छन् । केही ठाउँहरुमा सुरु पनि गरेका छौ । संभाव्यता अध्ययन, डिपिआर गरेका छौ । अब प्रदेश सरकारले पनि केही लगानी गर्दैछ । आन्तरिक र बाह्रय पर्यटकहरुको भिडभाड सुरु भएको छ । कृषि पछि दोश्रो प्राथमिकतामा पर्यटनलाई नै राखेका छौ ।
कृषिलाई प्रदेश र केन्द्रिय सरकारले पनि प्राथमिकतामा राखेको छ । अब पराम्परागत कृषिबाट आधुनिकिकरणमा जोडिन के गर्न सकिन्छ ?
कृषिमा आधुनिकिकरणका लागि कृषि यान्त्रिकरण भनेर कृषि ज्ञान केन्द्रले कार्यक्रम गरिरहेको अवस्था छ । त्यसैगरी हाम्रो पनि कृषि शाखा छ । गाउँपालिका, वडा कार्यालयहरुले कृषि आधुनिकिकरण गरेर लग्नुपर्छ भनेर थुप्रै कृषिसंग सम्बन्धित औजारहरु पनि वितरण गरेका छौ ।
गाउँ सरकारको नेतृत्व गरिरहनुभएको छ । तेश्रो आर्थिक बर्ष चलिरहेको छ ५ औ बर्षमा गाउँबासीले कुन अवस्थामा चुलाचुलीलाई देख्न पाउँछन् ?
धेरै कुरा नगरौ थोरै मात्रमा भन्छु । हिजो हामी स्थानीय सरकारको रुपमा उपस्थित भयौ । त्यो बेला ज–जसले फोटो तयार पार्नुभएको थियो । अब हामीले छाडेर जाँदा पक्कै पनि फरक के देख्नुहुनेछ भने हिजो पानीको हाहाकार थियो । सवै वडामा पानीको व्यवस्था ग¥यौ । विद्युतको सवालमा हामी आउनु अघि ४० प्रतिशत समेत बलेको थिएन् । लगभग ९० प्रतिशत अहिले विजुलीको काम सकेका छौ । बाटाघाटा थिएन अब ग्राभेल नभएको बाटो हुँदैन् ।
नयाँ बनाइयो भने फरक होला नत्र ग्राभेल नभएको बाटो छैन् । त्यसैगरी स्वास्थ्यमा सवै वडामा स्वास्थ्य कार्यालय बनाउने अन्तिम चरणमा पुगेका छौ । सबै वडा कार्यालयहरु कसैको घरमा भाडा तिरेर बस्नुपर्ने अवस्था हुँदैन् । गाउँपालिका पनि पुरानो भवनमा छौ । त्यसमा पनि हामी हुँदैनौ । कम्तीमा गाउँपालिकाबासीहरुले त्यती काम गर्दा चाही स्थानीय सरकारको महसुस गर्छन होला ।