फिक्कल । इलामको सूर्योदय नगरपालिकाको सातौ नगरसभा आजबाट सुरु भएको छ । आगामी आर्थिक बर्षको लागि नगर विकासका योजनाका प्रमुख नितिहरु र संसोधन विधेयक प्रस्तुत गर्दै आजबाट नगरसभा सुरु भएको हो । नगरसभाको पहिलो दिन सुशासन व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर ११ का अध्यक्ष टेकबहादुर राईले नगरको सुशासन ब्यवस्थापन तथा संचालन ऐन २०७६ संसोधन गर्न बनेको पहिलो संसोधन विधेयक नगरसभामा पेश गरे । उपप्रमुख दुर्गादेवी भट्टराईले विकास योजनाका प्रमुख नितिहरु सभामा प्रस्तुत गरिन् ।
नगरसभामा प्रस्तुत निति तथा कार्यक्रममा लोपोन्मुख लेप्चा जातिको नामवन अर्थात नववर्ष पर्वका दिन नगरभरी सार्वजनिक विदा दिने प्रस्ताव आएको वडा नम्बर १० का अध्यक्ष पेमा उगेन लामाले बताए । प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख भए अनुसार लेप्चा जातिहरुको आर्थिक, सामाजिक र धार्मिकस्थलहरु संरक्षण र प्रर्वद्धन गर्दै लेप्चा भिलेज निर्माणको अध्ययन गरिने उल्लेख छ । ऐतिहासिक ज्यूठी (किल्ला) लाई संरक्षण,सम्वर्दन र पुन निर्माणको निति लिइनेछ । लेप्चा जाति सँग सम्बन्धित ऐतिहासिक फेन्सिङ गुम्बालाई धार्मिक पर्यटकिय केन्द्रको रुपमा विकास गर्दै लगिने लगायतका बिषयहरु आजको नगरसभामा प्रस्ततु भएका थिए ।
प्रस्तावित निति तथा कार्यक्रम माथि आगामी असार ८ गते बस्ने नगरसभाले दफावार गरेपछि मात्र पारित हुने वा नहुने भन्ने विषय टुङ्गो लाग्ने वडाध्यक्ष लामाले जानकारी दिए । नेपाल सरकारद्वारा आदिवासी जनजाती प्रतिष्ठान ऐन २०५८ अनुसार सूचिकरण भएका ५९ जातिहरु मध्ये लेप्चा पनि एक हो । सरकारको वर्गिकृत पाँच सुची अनुसार लोपोन्मुख समूहको दश जाति मध्ये एकमा पर्ने लेप्चाहरुले आफ्नो चाड पर्वले पहिचान बोकेको ठान्छन् । लाप्चा उत्थान मञ्चको २०७५ को सर्भे अनुसार इलाममा ३ हजार ६० जना लेप्चा रहेका छन् । इलामको सुर्योदय नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा लेप्चा समुदायको बसोबास रहेको छ ।