कन्याम । सूर्योदय नगरपालिका– ६ मा रहेको डुँडेगैरा खेलमैदानको अस्तित्व संकटमा परेको भन्दै स्थानीय युवाहरुले नगर प्रमुख रणबहादुर राईलाई ज्ञापन पत्र बुझाएका छन् । डुँडेगैरा खेलमैदान संरक्षण संर्घष समिति गठन गरेर नगर प्रमुखको ध्यानार्कषण गराएका हुन् । मेची राजमार्गको कन्याम सडक खण्ड विस्तारको क्रममा जम्मा भएको ढुङ्गा माटोहरु मैदानमा राखेपछि डुँडेगैराको अस्तित्व संकट परेको थियो । सूर्योदय नगरपालिका–६, ७ र ८ का युवाहरुले प्रयोग गर्दै आएको सो मैदानमा माटो व्यवस्थापनका नाममा थुपारिदै जाँदा डुँडेगैरा मैदानको अस्तित्व नै संकटमा पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
‘सार्वजनिक रुपमा प्रयोग भइरहेको सो खेलमैदानमा सडकबाट निस्किएको माटो र ढुङ्गा फाल्ने निर्णय नगरपालिकाले किन ग¥यो ? यदि उक्त निर्णय नगरपालिकाको हैन भने सार्वजनिक खेलमैदानसँग जोडिएको ऐतिहासिकता नै मासिने निर्णय ६ नं वडा कार्यालयले कहिले र किन ग¥यो ? आफनो नगरपालिका भित्र रहेको रहेको खेलमैदान मासिएको देखिरहँदा नगरपालिका किन मौन रहयो ?’ ज्ञापनपत्रमा उल्लेख छ ।

खेलमैदानमा ढुङ्गा, माटो फालिएको देखेपछि स्थानीय युवाहरुले पटक पटक सम्वन्धित वडाध्यक्षसँग मौखिक ध्यानाकर्षण गराएपनि वडा कार्यालयबाट मैदान सुधारको संकत नदेखिएपछि जेठ २६ गते डुँडेगैरा खेलमैदान संरक्षण संर्घष समिति गठन गरिएको समितिका सदस्य सौरभ आर्चायले बताए । संर्घष समितिले वडा कार्यालयमा औपचारिक ध्यानार्कषण पत्र बुझाएको थियो ।
वडाध्यक्ष शिवकुमार बस्नेतले ४ दिनभित्र मैदान सुधार कार्य अघि बढाउने बताएका थिए । तर जेठ २८ गते खेलमैदान नजिकै रहेको कन्याम इन क्षेत्रको सडक विस्तारको क्रममा निस्किएको माटो तथा ढुङ्गा फेरी लगेर मैदानमा फ्यालिएको पाइएपछि वडाध्यक्ष प्रतिवद्धताबाट पछि हटेको आभाष भएको ज्ञापन पत्रमा लेखिएको छ । ऐतिहासिक महत्व बोकेको तथा खेल प्रेमीको अभिन्न अंगको रुपमा रहेको मैदान संरक्षणका लागि नगर प्रमुखसँग अपिल गर्नु परेको आर्चायले बताए । ज्ञापनपत्र बुझदै नगर प्रमुख रणबहादुर राईले मैदानको अस्तित्व मेटिन नदिने बताए । उनले वडा कार्यालयको प्रतिनिधिलाई बोलाएर मैदानको संरक्षणका लागि काम अघि बढाउन पहल गर्ने बताए ।

