जाैबारी । इलामको माईजोगमाई गाउँपालिका– २ स्थित पर्यटकियस्थल तुम्लिङमा भारतीय सिमा सुरक्षा बल (एसएबी) ले अवरोध गरेको पार्क निर्माण जनताले पुनः निर्माण सुरु गरेका छन् । करिब २ महिना अघिबाट रोकिएको काम गाउँपालिका अध्यक्ष जीतबहादुर राईको अगुवाईमा स्थानीय उपभोक्ता समितिले सुचारु गरेकाे हाे । पटक पटक जिल्ला प्रशासन कार्यालय, शसस्त्र प्रहरी गण इलाम, सिमा सुरक्षा बल पशुपतीनगर र सिमा प्रशासनलाई अवरोध फुकाउन बारम्बार जानकारी गराएपनि चासो नहुँदा काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

‘प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई र सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामका एसपी रोशन श्रेष्ठलाई बारम्बार अवरोध बारे जानकारी गराएका थियौ । तर उहाँहरुले चासो नदिएपछि काम सुरु गरेको हौ ।’ गाउँपालिका अध्यक्ष जीतबहादुर राईले भने ‘ आर्थिक बर्ष सकिन लाग्दा बजेट फ्रिज हुने देखियो त्यसैले १५/२० जना स्थानीय र उपभोक्ता समिति सहित रोकिएको पार्क निर्माणलाई पुनः सुचारु गरेका छौ ।’ मानेभञ्ज्याङबाट एसएसबीको टोली तुम्लिङ पुगेपनि स्थानीयले प्रष्ट रुपमा सिमा पिलरले नेपाल–भारत छुट्याएकाले काम नरोक्ने बताए । प्रदेश सरकारको १० लाख रुपैया बजेटमा उपभोक्ता समिति मार्फत सन्दकपुर–मानेभञ्ज्याङ्ग पर्यटकीय क्षेत्रमा पर्ने तुम्लिङ्ग क्षेत्रमा पार्क निर्माणको काम बैशाख महिनाको पहिलो साताबाट शुरु भएको थियो ।

प्रदेश सरकारको शहरी तथा भवन डिभिजन कार्यालय मार्फत कार्यान्वयन हुने योजना शुरु भएको दुई दिनमै भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको थियो । सीमा पिल्लर भन्दा तीन सय मिटर टाढा पार्क निर्माण शुरु भएपनि एसएसबीले सीमा क्षेत्रमा काम गर्दा नेपाल सरकारबाट आफुलाई पहिलै जानकारी गराउनुपर्ने बताउँदै आएको थियो । भारतले भने सीमा क्षेत्रको दशगजा मिचेर सुरक्षा पोष्ट नै स्थापना गरेको छ ।