नयाँबजार । कोरोना भाइरसका कारण न्युन आय भएका र मजदूरलाई लक्षित गरी इलामको माईजोगमाई गाउँपालिकाले श्रममा आधारित राहात कार्यक्रम शुरु गरेको छ । जनतालाई भोकै हुन नदिने र गाउँमा विकास निर्माणका कामलाई नियमित बनाउन श्रममा आधारित राहात कार्यक्रम शुरु गरेको गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए ।
श्रममा आधारित राहात कार्यक्रम लागु गरि माईजोगमाई गाउँपालिकाले विकास निर्माणको काम शुरु गरेको हो । कारोना रोगको संक्रमणका कारण दैनिक ज्यालादारी गर्ने र रोजगारी गुमाएर घर फर्किएका युवाले राहात पाएपछि अनिवार्य श्रम गर्नुपर्ने निर्णय भएको छ ।

युवाहरुलाई गाउँमै रोजगारी दिन दैनिक उपभोग्य सामग्री प्रदानसँगै अनिवार्य श्रम गर्नुपर्ने निर्णय गरि विकास निर्माणका काम गरिँदै आएको छ । लकडाउन लम्बिएसँगै पहिलो चरणको राहात निःसर्त वितरण गरेको गाउँपालिकाले दोस्रो चरणदेखि अनिवार्य श्रम गर्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले बताए । असंगठित मजदूर र न्युन आय भएका परिवारलाई नियमित रुपमा राहात प्रदान गर्ने र उनीहरुलाई उत्तरदायी बनाउन श्रम गर्नुपर्ने निर्णय गरेको थियो ।
श्रममा आधारित राहात कार्यक्रम गाउँपालिको वडा नम्बर ६ प्याङबाट शुरु गरेको छ । दैनिक उपभोग्य सामग्री पाएका परिवारहरुले अहिले सडकको सोलिङ गर्ने, नाला निर्माणको काम हुँदै आएको स्थानीय खोम खालिङ्ले बताए। स्थानीय १० परिवारलाई पहिलो चरणमा राहात कार्यक्रम लागु गरिएको थियो । पहिलो चरणको कार्यक्रमबाटै जनताको उत्साहपूर्ण सहभागिता रहेको गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए । ‘राहात पाउँनेसँगै अन्य परिवारको पनि अधिक सहभागिता भएकाले हामी उत्साहित भएका छौँ–‘राईले भने–‘गाउँपालिकालाई आर्थिक भार नहुने र जनता पनि भोकै नहुने देखिएकाले यो कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेटबाटै व्यवस्था गर्नेछौँ ।’

जनताको पनि दायत्विबोध गराउने उदेश्यले राहात पाउनेले गाउँघरको सडक सोलिङ गर्ने, ग्राभेल गर्ने र सडकको कच्चि नाला बनाउने काम गरिरहेका छन् । जनताहरु भोकै नराख्ने र विकास निर्माणका काम पनि अघि बढाउन श्रममा आधारित राहात कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने गाउँपालिकाले जनाएको छ । विकास निर्माणको कामले पनि निरन्तरता पाउने र जनता पनि भोकै नहुने भएकाले कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाको योजना छ ।