इलाम । आज ९० औं समाज सुधार दिवस रहेको छ । विभिन्न कुरीति, अन्धविश्वास र बेथितिमा रहेको किरात समुदायलाई ‘सत्य धर्म मुचुल्का’ मार्फत महागुरु फाल्गुनन्द लिङ्देनले सुरु गरेको समाज सुधार अभियानको सम्झनामा बैशाख २४ गते समाज सुधार दिवस मनाइदै आएको छ । किरात समुदायको अहिलेसम्मकै महत्वपूर्ण दस्तावेजको रुपमा रहेको सत्य धर्म मुचुल्का निर्माण गरी महागुरु फाल्गुनन्दले तत्कालिन १० लिम्बू १७ थुमका विशिष्ट र मान्य ब्यक्तित्वहरूको चुम्लुङ (भेला) गराएर सत्यधर्म मुचुल्काको घोषणा गरेका थिए ।
वि।सं। १९८८ साल वैशाख २४ गतेका दिन हाल पाँचथरको फिदिम नगरपालिका–५, चोकमागु स्थित लब्रेकुटीमा किरात समाज सुधारको निम्ति ७ बुँदे सत्यधर्म मुचुल्का घोषणा गरेका थिए । त्यही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्षको वैशाख २४ गतेलाई किरात समुदायले समाज सुधार दिवशको रुपमा मनाउँदै आएका छन् । सोही अनुसार बैशाख २४ गतेलाई समाज सुधार दिवशका रुपमा किरात समुदायको वाहुल्यता भएका क्षेत्रहरूमा विभिन्न कार्यक्रमहरू गरी मनाईदै आएको थियो । तर यो बर्ष कोरोनाका कारण दिवसमा कुनै पनि विशेष कार्यक्रम आयोजना गरिएको छैन् ।
तत्कालिन अवस्थामा अत्याधिक मासु र मदिराको प्रयोग गर्ने किरात समुदायलाई धार्मिक कार्यहरू जीवन सुहाँउदो तरिकाले गर्न तथा मासु र मदिराको प्रयोगबाट समाज विकासलाई रोकिने स्थितिमा नपु¥याउन फाल्गुनन्दले अपील गर्दै सत्य धर्म मुचुल्का घोषणा गरेका थिए । फाल्गुनन्दले उक्त मुचुल्का प्रतिपादन गरेको स्थल लब्रेकुटी महागुरु फाल्गुनन्दको पावन कर्मभूमिको रुपमा चर्चित छ । जहाँ उनको समाधिस्थल समेत छ । जस्लाई किरात धर्मका अनुयायीहरूले पवित्र भूमिको रुपमा मान्ने गरेका छन् ।
सत्यधर्म मुचुल्का मार्फत फाल्गुनन्दले अनेकौं बिकृतिले व्याप्त किरात समुदायलाई सुधारको बाटोतर्फ लैजान मार्ग प्रशस्त गरेका थिए । यद्यपी उक्त मार्गलाई अवलम्बन गर्न भने किरात समुदाय धेरै पछि परेको किरात समुदायकै अगुवाहरू बताउँछन् । सत्यधर्म मुचुल्का मार्फत फाल्गुनन्दले सृष्टिकर्ताको रुपमा लिइने नारी जातिलाई उच्च सम्मान दिनुपर्ने सर्त अघि सारेका थिए ।
छोरी चेलीको विवाहकर्ममा कुनै किसिमको सोत रित सुनौली–रुपौली लिन नहुने नीति अवलम्बन गरेका थिए । छोरीचेलीको विवाहमा जाड–रक्सी लिएर खानु उनीहरूको पिसाब खानु र उनीहरूले ल्याएको मासु खानु उनीहरूकै मासु खानु बराबर हो भनेका थिए । कुनै पनि कर्मकाण्डहरू गर्दा मदिराजन्य वस्तु र मासु–मंसको प्रयोग गर्न नहुने सर्त अघि सारेका थिए । किरात समुदायभित्र रहेका यस्ता थुप्रै बिकृतिहरूलाई निर्मुल पार्न फाल्गुनन्दले सत्यधर्म मुचुल्का निर्माण गरेका थिए । उनले किराँत धर्म, दर्शन र संस्कृतिको पुनःजागरण नै गराएको भन्दा अत्युक्ति नहोला ।
फाल्गुनन्दले सत्यधर्म मुचुल्का मार्फत मार्ग प्रशस्त गरेको समाज सुधारको नीतिलाई किरात समुदायले मात्र नभएर विश्व समुदायले नै अवलम्बन गर्नुपर्ने आवश्यकता खड्किदै गएको किरात धर्मका अभियन्ताहरू बताउँछन् । यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का खडापछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोत रीत लिने चलन अन्त्य हुँदै गएको पाइन्छ ।
सत्यधर्म मुचुल्काले किराँत समुदायको धार्मिक, साँस्कृतिक र पारम्परालाई सुधार गर्ने महत्वपूर्ण प्रयत्न गरेको किराँत समुदायका अगुवाको भनाइ छ । यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का खडापछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोत रीत लिने चलन अन्त्य हुँदै गएको पाइन्छ ।
लैङगीक विभेदको विरोध गर्दै शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोड दिएको छ । मादक पदार्थ एवं मदिरा सेवनले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकाले यसको सेवन नगर्ने कुरा समावेश गरिएको छ । मुचुल्का निर्माण भएको ८ दशक पछि पनि यसको सान्दर्भिकता अझै बढ्दै गएको छ । उनको सम्मान स्वरुप नेपाल सरकारले २०५० मा फाल्गुनन्दको चित्रांकित हुलाक टिकट प्रकाशन गरेको छ भने नेपाल सरकारको कक्षागत पाठ्यक्रममा उनको जीवनी समेत समावेश गरेको छ ।