फाकफोकथुम । इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिकामा लेखा शाखामा कर्मचारी अभाव नहुँदा समस्या भएको छ । कर्मचारी नहुँदा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्न समस्या रहेको छ । गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले संघिय सरकारबाट ६ महिनासम्म लेखाका कर्मचारी नपठाउँदा कामकाजमा समस्या भएको बताए । जिल्ला समन्वय समिति र प्रदेशको समन्वय भेलामा राखेको समस्याको आधारमा एक जना लेखापाल खटाएपछि अहिले समस्या केही समाधान भएको उनले बताए । ‘अहिले सातवटै वडामा सचिवहरु छन् । यदपी सवै वडामा कुनैमा अहेब, कुनैमा कार्यालय सहयोगीलाई जिम्मा दिएर काम अघि बढेको छ । ’ उनले भने ।
स्थानिय सरकारलाई असफल पार्न विभिन्न षडयन्त्रहरु रचिएको उनको आरोप छ । ‘ केही भष्ट्रचार गर्न नपाउँदा आलेप र मलेप गाउँपालिकाभित्र गर्न नदिई विकास तथा पुर्वाधारको सकारात्मक पहल योजनाहरु विफल बनाउन लागेका छन् । ’ उनले भने । ‘ अध्यक्षको कारण असहज भयो भनेर फेसबुकमा मेरो विरुद्ध प्रचारबाजी समेत भइरहेको छ । ’ समयमा लेखाका कर्मचारी दरबन्दी नपठाउँदा विकासका बजेट, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता वितरणमा केही ढिलासुस्ती भएको उनले बताए । फाकफोकथुममा गत पुषबाट लेखा शाखामा कर्मचारी नहुँदा सामाजिक सुरक्षाको मात्र नभएर विकासका आयोजनाको रकम समेत निकासा हुन नसकेको उपाध्यक्ष सरस्वती राईले बताइन् । उनका अनुसार अहिले काजमा लेखामा कर्मचारीहरु आएकाले दोश्रो चौमासिकको बजेटबाट एक साताभित्रमा सामाजिक सुरक्षाको रकम वितरण गरिसकिने छ ।