इलाम : इलाममा ९ हजार भन्दा बढि असंगठित मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । स्थानिय सरकार मार्फत जिल्लाका १० वटा स्थानिय तहका ९ हजार ७ सय ६४ घरधुरीलाई रहत वितरण गरिसकिएको जिल्ला विपद व्यवस्थापन केन्द्रका सुचना अधिकारी सफल पोर्तेलले जानकारी दिए । उनका अनुसार सवैभन्दा धेरै इलाम नगरपालिकामा २ हजार ५ सय ३४ घरधुरीलाई राहत वितरण गरिएको छ ।
माई नगरपालिकामा १ हजार ९ सय ४१, चुलाचुली गाउँपालिकामा १ हजार ५ सय ३९, माङसेवुङ गाउँपालिकामा १ हजार १ सय ९५ र फाकफोकथुम गाउँपालिकामा ७ सय ७९ घरधुरीमा राहत वितरण गरिएको हो । त्यसैगरी सूर्योदय नगरपालिकामा ५ सय ५४, देउमाई नगरपालिकामा २ सय ६८, माईजोगमाई गाउँपालिकामा ३ सय ९, रोङ गाउँपालिकामा ४७४ घरधुरीलाई राहत दिइएको हो । सन्दकपुर गाउँपालिकाले गत चैत्र २० गतेबाट बैशाख १५ गतेसम्म ३ हजार ६ सय भन्दा बढि घरधुरीलाई खाध्य बस्तुमा अनुदान दिएको छ ।
उसले सबै वडामा रहेका उपभोग्य सामग्री बिक्रि गर्ने पसलबाट दैनिक उपभोग्य सामग्री खरिद गर्दा मुल्यमा अनुदान दिएको थियो । गाउँपालिकाले चामलमा प्रतिकिलो २ रुपैयाँ, चिनिमा प्रतिकिलो ५ रुपैयाँ, खानेतेलमा प्रतिलिटर १० रुपैयाँ, चिउरामा ५ रुपैयाँ र नुनमा प्रतिकिलो ५ रुपैयाँ मुल्य अनुदान दिने निर्णय गरेको थियो । बैशाख १६ गतेका दिन १ सय ६ सय ६१ परिवारलाई राहतको कुपन वितरण गरिएको छ । कुपन प्राप्त गर्नेहरुले नजिकैको पसलबाट सरकारले तोकेको मापदण्डको आधारमा राहत लिन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।