इलामको सूर्योदय नगरपालिकाका किसान डम्बर कटुवालले ५० रोपनीमा चिया खेती गरेका छन् । अघिल्ला बर्षहरुमा चियाबाट आएको पैसाले नै उनको परिवार धानेको थियो । तर यो बर्ष उनी जस्ता धेरै किसानलाई समस्या छ । कोरोनाका कारण चियाको मुख्य सिजनमा सवै उत्पादन विक्री गर्न नपाउँदा किसानलाई चिया निल्नु र ओकल्नु भएको छ । । अघिल्ला बर्षहरुमा त चिया बेचेर अन्न किनेर खाइएकै थियो । यो बर्ष त त्यो पनि रहेन् । ’ उनी गुनासो गर्छन् ‘ जेनतेनले अलि अलि चिया त टिपेर उद्योगमा पठाइयो पैसा कहिले आउने हो टुङ्गो छैन् । अब त चियाको पैसा आउँला र खाउँला भन्ने आश नै छैन ’ सरकारले लगाएको लकडाउनका कारण किसानहरुले समयमा चिया टिप्न पाएनन् । जसले गर्दा चिया बाँझिन सुरु ग¥यो । ढिला भएपनि चिया टिपेका किसानहरुले यस बर्ष आफनो उत्पादनको मुल्य कसरी पाउँने भन्ने यकिन नै छैन् ।
‘चिया उधारोमा दिइयो साहुले चामल उधारो दिँदैन ।’ कट्वाल गुनासो पोख्छन् ‘ अब त सिजन सकिन लागेर चिया पनि बाँझिन लाग्यो ।’ यस बर्ष कोरोनाले प्रभाव पारेको चिया क्षेत्रलाई अघिल्लो बर्ष मजदुरहरुको आन्दोलनको कोपभाजनमा प¥यो । २०७५ चैत्र १७ गतेबाट श्रम ऐन कार्यान्वयनको माग राख्दै ४५ दिनसम्म मजदुरले उद्योग ठप्प पारे । जसको प्रभावले थलिएको चिया उद्योग तङ्ग्रिन पाएको ८ महिना नवित्दै कोरानोले गाज्न सुरु ग¥यो । अघिल्लो बर्ष बैशाख १५ गते २३ औ राष्ट्रिय चिया दिवस आफूहरूलाई भोकै पेट राखेर सरकारले चिया उद्योगीसँग ‘साँठगाँठ’ गरेको भन्दै श्रमिकले आन्दोलन गर्दा खल्लो बन्यो । २४ औ दिवसलाई अहिले कोरोनाले ।
उद्योगीलाई समेत किसानलाई भुक्तानी दिन समस्या छ । ‘ विश्व बजारको अवस्था अहिले तहसनहस छ । किसानले उत्पादन गरेको कच्च पर्दाथ खेर नजाओस भनेर खरिद गरेका छौ । भोली बजारमा तयारी चिया कसरी विक्छ त्यसैको आधारमा हरियोपत्तीको मुल्य दिने हो ।’ बर्दुभ्याली चिया उद्योगका संचालक तथा सूर्योदय टि प्रोडयुसर्स एसोसिएसनका प्रवक्ता बुद्ध तामाङले भने । कोरोनाको अवस्थामा उद्योग संचालनमा घाटा भएपनि किसानहरुको हितका लागि संचालनको विकल्प नभएको तामाङको भनाई छ । नेपाली चिया क्षेत्रको भविष्य र स्थायित्व छ्रैन् । एका तर्फ किसानले आफनो श्रम अनुसारको मुल्य नपाइरहँदा तयारी चियाले अन्तराष्ट्रिय बजारमा मुल्य पाउँदैन् । अर्को उद्योगीहरुले कौडीको भाउमा चिया बेच्नुपर्ने बाध्यता छ ।
भारत परस्त बजारले सधै समस्या
भारत परस्त बजार रहेको नेपालको चियामा बारम्बार समस्या आइरहन्छ । कहिले गुणस्तर त कहिले प्रेस्टिसाइडको असर देखाएर नेपाली चिया सिमामा नरोकिएको बर्ष नै छैन् । नेपालबाट तयारी चिया कोलकातास्थित ‘सेन्ट्रल फुड ल्याबोरेटरी’ मा नमूना परीक्षण गराएपछि मात्र निर्यातको इजाजत दिने गरिएको छ । जसले नेपाली किसान र व्यापारी दुवै मारमा परेका छन् । तयारी चिया युरोप पठाउन समेत नेपालका उद्योगीलाई समस्या छ । तेश्रो मुलुक पठाउने चियालाई अर्गानिक प्रमाणिकरण गर्नुपर्ने हुन्छ । जुन नेपाली किसानको क्षमताले धान्न समस्या छ ।
प्रदेशसभा सदस्य तथा चिया उद्यमी काजीमान कागते किसान एक्लैले अर्गानिक प्रमाणिकरण गर्न नसक्ने बताउँछन् । ‘ अर्गानिक प्रमाणित गर्न लाखौ खर्च लाग्छ जुन साना किसानको क्षमताले भ्याउन मुस्किल छ । बर्षेनी नविरकण समते गर्नुपर्ने हुन्छ ।’ उनी भन्छन् । जर्मन टी काउन्सिल र युरोपियन टी कमिटीले सन् २००५ मा खाद्य पदार्थको रहल अवशेषको नयाँ मापदण्ड तयार गरेपछि रासायनिक पदार्थ मिसिएको चिया तेश्रो मुलुकमा निकासी हुन छाडेको छ । त्यसअघि काउन्सील र कमिटीमार्फत नै नेपाली अर्थोडक्स चिया युरोप र अमेरिका जाने गर्दथ्यो । किसानहरुले अन्तर्राष्ट्रिय बजारलाई नै लक्षित गरेर जैविक चिया तयार गरिरहेका छन् । नेपाली बजारमा सस्तो सिटिसी चिया खपत बढी हुन्छ । सिटिसीसरह मूल्यमा अर्थोडक्स चिया बेच्न नसकिने भएकाले अन्तर्राष्ट्रिय बजारमा जानुको विकल्प नभएको साना उद्यमीहरुको गुनासो छ ।
युरोप निर्यातमा पहुँच पुग्दैन
नेपालको चिया भारत बाहेक १८ वटा भन्दा बढि देशमा पुग्ने गरेको व्यपार तथा निकासी प्रवद्धन केन्द्रको तथ्यांकले देखाउँछ । तर साना चिया उद्यमीका लागि प्रशोधीत चियाको ९० प्रतिशत बजार भारत नै रहेको चिया तथा कफि विकास वोर्डको विवरणमा उल्लेख छ । नेपालको करिब ८५ प्रतिशत चिया भारत जाने गरेका छ । सन्दकफु टि प्रोसेर्ससका प्रोपाइटर एवम चियाबिज्ञ चन्द्रभुषण सुब्बाका अनुसार नेपालमा बार्षिक उत्पादन हुने ५० लाख किलो चियामध्ये ८५ प्रतिशत भारत जान्छ । भारत निकासी भएर बाँकी रहेको १५ प्रतिशत चियाको पनि ३० देखी ४० प्रतिशत मात्र अर्गानिक प्रमाणित भइ तेश्रो मुलुक निर्यात हुने गरेको छ । तयारी चिया अमेरिका वा जर्मन निर्यात गर्नका लागि १२ डलरसम्म कार्गो भाडा तिर्नुपरिरहेको चन्द्रभुषण सुब्बाले बताए । उनले भने ‘ तीन हजारको चिया १२ सय रुपैयासम्म कार्गो भाडा खर्चेर पठाउनुपर्छ ।’ थोरै चिया निर्यात गर्दा बढी रकम लाग्ने गरेको छ । धेरै चिया निर्यात गर्दा भने पाँच डलर जति मात्रै पर्ने उनी बताउँछन् ।
१४ जिल्लामा व्यवसायिक चिया खेती
व्यवसाकिय चिया खेती सर्वेक्षण प्रतिवेदन २०७५ का अनुसार १४ जिल्लामा व्यवसायिक खेती हुने चियामा ९ हजार २ सय ३६ कृषक तथा चिया उत्पादक व्यवसायीहरु आवद्ध रहेका छन् । जसमध्ये ९ हजार १ सय २७ ले व्यक्तिगत रुपमा र एक सय ८ संस्थाहरु संस्थागत रुपमा चिया उत्पादन गर्दै आएका छन् । १२ हजार ६६ हेक्टर जमिनमा चिया खेती हुँदै आएको नेपालमा कुल ११ हजार ४१ वटा बगानहरु रहेको छन् । जसमध्ये इलाममा मात्र ६ हजार ९ सय ९५ वटा रहेका छन् । चिया क्षेत्रमा ५० हजार बढी मजदूरहरु स्थायी रुपमा काम गर्दै आएका छन् । इलामका ९६ प्रतिशत किसानले आफ्नै बारी र ४ प्रतिशतले भाडामा जग्गा लिएर चिया खेती गरेका छन् । ५० को दशकमा पूर्वी नेपालका इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग, तेह्थुममा अधिक विस्तार भएको र बाँकी ९ जिल्लामा त्यसपछि चिया खेती विस्तार भएको पाइन्छ ।