इलाम । केही जिल्लाहरुले आफना नागरिक लकडाउनको समयमा समस्या भएपछि घर फर्काइरहेको बेला इलामेलीहरु भने गृह जिल्ला आउन नपाउने भएका छन्। रोजगारीका लागि गएकाहरु इलाम फर्कदा चाप बढि भई लकडाउनको प्रभावकारिता नहुने भएपछि जिल्ला फर्काउन नसकिने भएको हो । काठमाण्डौ लगायत देशका विभिन्न ठाउँहरुमा श्रम रोजगारी गर्नका लागि गएका नागरिकहरुको जिवन कष्टकर भएपछि जिल्ला समन्वय समितिले स्थानिय तहहरुलाई आ–आफनो क्षेत्रको नागरिकको लगत संकलन गर्न बैशाख १० गते पत्राचार गरेको थियो । तर ठुलो संख्यामा फर्कने भएपछि जनसंख्याको उक्त चाप थेग्न नसक्ने र आएका व्यक्तिहरुलाई सार्वजनिक क्वारेन्टाइनको व्यवस्थापनका कठिनाइ रहेको बताइएको छ ।
जिल्ला समन्वय समितिको आयोजनामा १० वटै स्थानिय तहको प्रमुख, सुरक्षा संयन्त्र, प्रमुख जिल्ला अधिकारी लगायत सम्मिलित बैठकले इलाम– काठमाण्डौसँग सम्वन्धित संस्थाहरुसँग आवश्यक समन्वय गरी स्थानिय तहले आफना नागरिकहरुमध्ये प्रतिनिधी तोकेर अति गरिब, असंगठित मजदुर तथा विपन्न वर्गलाई राहत निर्देशिका बमोजम व्यवस्था गर्न अनुरोध गर्ने निर्णय गरेको छ । स्वास्थ्य संस्था, सुरक्षा संयन्त्र तथा अत्यावश्किय क्षेत्रमा सुरक्षा किटहरु अपर्याप्त रहेको आरडीटी किट लगायत सकिएकाले आपुर्ति तथा व्यवस्थापनका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य सामाग्री उपलव्ध गराउने पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ लगायत सहयोगी महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
