फिक्कल । राष्ट्रिय वन पैदावार व्यवसायी संघ केन्द्रिय कार्यालयले इलामको ८ वटा स्थानिय तहलाई नगद र व्यक्तिगत सुरक्षा सामाग्री सहयोग प्रदान गरेको छ । १० वटै स्थानिय तहलाई सहयोग गर्ने योजना भएपनि हालसम्म ३ वटा नगरपालिका र ५ वटा गाउँपालिकालाई सहयोग प्रदान गरिएको हो । संघले इलाम नगरपालिकालाई २५ हजार नगद र ५ थान पिपिई, देउमाई नगरपालिकामा २० हजार नगद र ३ थान पिपिई, सूर्योदय नगरपालिकालाई २५ हजार नगद र ५ थान पिपिई, सन्दकपुर गाउँपालिकालाई २० हजार नगद र ४ थान पिपिई प्रदान गरिएको संघका अध्यक्ष रोहित खड्काले जानकारी दिए ।

त्यसैगरी माङ्सेवुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा जनही १५ हजार नगद र २ थान पिपिई, माईजोगमाई गाउँपालिकामा १५ हजार नगद र ३ थान पिपिई तथा रोङ गाउँपालिकाकामा १५ हजार नगद र ४ थान पिपिई प्रदान गरिएको छ । संघका प्रतिनिधिहरुले आर्थिक सहयोग चेक मार्फत प्रदान गरेका थिए ८ वटा स्थानिय तहमा कुल २ लाख ५० हजार बराबरको सहयोग रहेको जनाइएको छ ।
माई नगरपालिका र चुलाचुली गाउँपालिकामा केही दिन पछि सहयोग दिइने खड्काले बताए । स्थानिय सरकारलाई कोरोना विरुद्धको लडाईका लागि क्षमता अनुसार सहयोग गरिएको संघका अध्यक्ष रोहित खड्काले बताए । कोरोनाको अवस्थामा सरकारले लगाएको लकडाउनका कारण विपन्न परिवार र मजदुरहरुलाई छाक टार्न समस्या देखिएकाले आफुहरुको सहयोगले केही राहत हुने अपेक्षा लिएको खड्काले बताए ।