Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलामका १० स्थानिय तहमा ८८० क्वारेन्टाइन बेड थप्न पहल

इलामका १० स्थानिय तहमा ८८० क्वारेन्टाइन बेड थप्न पहल

  • सन्देश सम्बाददाता
  • आइतबार, बैशाख ७ २०७७


इलामका १० स्थानिय तहमा ८८० क्वारेन्टाइन बेड थप्न पहल

इलाम । प्रदेश नम्बर एकमा कोरोनाको संक्रमण देखिन थालेपछि इलाममा थप क्वारेन्टाइन निर्माणका लागि पहल थालिएको छ । जिल्लाका १० वटा स्थानिय तहमा ८८० बेड निर्माणका लागि पहल गरिएको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको विपद व्यवस्थापन केन्द्रको बैठकले स्थानिय तहहरुलाई थप क्वारेन्टाइन बेड निर्माणका लागि अनुरोध गर्ने भएको हो । जस अनुसार सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा २ सय बेडको दरले थप गर्न अनुरोध गरिएको छ ।
इलाम नगरपालिकामा १ सय बेड, माईजोगमाई गाउँपालिकामा ८० बेड छन् । माई नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका, चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माङसेवुङ गाउँपालिकामा ५०/५० बेडको दरले निर्माण गर्न अनुरोध गर्ने केन्द्रले निर्णय गरेको छ । क्वारेन्टाइन स्थापनाका गर्नका लागि आवश्यक समाग्रीहरुको अनुमानित मुल्य सहितको कार्ययोजना तयार गरि अनुमानित आवश्यक बजेट ६८ लाख ९४ हजार ४८० रुपैया प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष माग गर्ने निर्णय गरिएको छ ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र रोङ गाउँपालिकामा निर्माण हुने क्वारेन्टाइनको सुरक्षा व्यवस्थापन नेपाली सेना सहितको संयुक्त सुरक्षा निकायले व्यवस्थापन गर्ने भएको छ ।
नेम्वाङको पहलमा स्वास्थ्य सामाग्री
संविधानसभाका अध्यक्ष एवम प्रतिनिधी सभा सदस्य सुवासचन्द्र नेम्वाङको पहलमा आएको स्वास्थ्य सामाग्री सवै पालिकाहरु, स्वास्थ्य र सुरक्षा निकायलाई वितरण गर्ने समेत बैठकले निर्णय गरेको छ । नेम्वाङको पहलमा ३५०० सेट सर्जिकल मास्क, ५० सेट एन–९५ मास्क, १० सेट पिपिई र १० सेट थर्मल गन प्राप्त भएको थियो । थर्मल गन प्रत्येक पालिकालाई १/१ वटा, पिपिई इलाम अस्पतालमा ६ थान, पशुपतिनगर स्वास्थ्य केन्द्र र फिक्कल स्वास्थ्य केन्द्रलाई २/२ थान दिने निर्णय भएको छ ।
एन–९५ मास्क इलाम अस्पतालमा ३० थान, अन्य ४ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा ५ थानका दरले वितरण गरिने भएको छ । सर्जिकल मास्क प्रत्येक गाउँपालिकालाई १५० का दरले ९०० वटा, नगरपालिकालाई २ सय का दरले ८०० वटा, सुरक्षा निकायमा ३ सय का दरले ९ सय, इलाम अस्पतालमा ५ सय र जिल्ला प्रशासन तथा अन्यलाई ४ सय वटा वितरण गरिने भएको हो ।
विकास आयोजनालाई समयसिमा तोकेर ढुवानी अनुमति दिने
बैठकले जिल्ला भित्र संचालित विकास निर्माणका आयोजनाका लागि अत्यावश्यक निर्माण सामाग्री जिल्ला भित्र ढुवानीका लागि बेलुका ६ बजे देखी विहान ८ बजेभित्रको समय सिमा भित्र अनुमती जारी गर्ने निर्णय भएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई, केन्द्रका सल्लाहकार जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल र इलाम नगर प्र्रमुख महेश बस्नेत, ३ वटै सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि, इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभु शाह, स्वास्थ्य कार्यालय प्रमुख वृजकुमार दास लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार