फाकफोकथुम । इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिका–४ फुएतप्पामा कोरोना भाइरसका कारण खाध्यान्न अभाव भएका विपन्न तथा मजदुर परिवारको लगत संकलन गरिएको छ । राहतका लागि वडाले १०५ जनाको नाम संकलन गरेको छ । फुएतप्पामा ज्यालादारी मजदुरहरुको संख्या न्युन भएपनि बाहिरबाट आएर दैनिक मजदुरी गरिरहेकाहरु तथा लकडाउनका कारण घर जान नपाएका मजदुरहरुलाई राहत वितरण गर्न लागिएको वडाध्यक्ष हरि दंगालीले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा ३ जनासम्म परिवार भएकालाई २० केजी, ४ जनासम्म परिवार भएकालाई २५ केजी र पाँच जना वा सो भन्दा बढि भएका परिवारलाई ३० केजी उपलव्ध गराइने भएको छ । दोश्रो चरणमा गाउँपालिकाको मापदण्ड अनुसार राहत वितरण गरिने दंगालीले जानकारी दिए । राहत वितरणका लागि आवश्यक सामाग्रीहरु टेन्डर मार्फत खरिद गरिएको छ । वडा नं ४ का प्रत्येक व्यक्तिलाई घर दैलोमै गएर माक्स वितरण गरिएको महिला वडासदस्य कबिता राईले जानकारी दिइन् ।