सन्दकपुर । दक्षिण एशियाकै पर्यटकीय गन्तव्य इलामको सन्दकपुर अहिले शान्त छ । सधैँका नयाँ वर्षमा सन्दकपुरमा सयौँ पर्यटकको भिडभाड रहने गरेको थियो । नेपालका मात्रै नभएर विश्व भरका पर्यटकहरु सन्दकपुरमा पुग्ने गरेका थिए । सयौँ पर्यटक पुग्दा नयाँ वर्षमा पर्यटकको भिडले हो–हल्लामा रहने सन्दकपुर २०७७ सालको नयाँ वर्षमा भने शान्त नै देखियो ।

सन्दकपुरका सेर्पा च्यालेट होटलका नाेर्बु शेर्पाका अनुसार फागुन, चैत्र र बैशाखमा दैनिक ५ सय पर्यटकहरु नेपाल र भारतीय बाटो हुँदै सन्दकपुर पुग्ने गरेका थिए । कोरोना भाइरसका कारण यो सिजनमा घुम्न आउने सयौँ पर्यटकहरुले आफुले गरेको होटल बुकलाई रद्ध गरेका छन् ।
चैत्र बैशाखको सिजनमा दर्जनौ प्रजातीका गुराँसका फुलहरु फुल्ने भएकाले सन्दकपुर पर्यटकीय क्षेत्रमा सयौँ पर्यटकहरुले भ्रमण गर्दै आएका थिए । पाँचथरको फालेलुङ गाउँपालिकाले नयाँ वर्षको अवसरमा चौरी महोत्सव गर्दै आएकाले पनि सन्दकपुर क्षेत्रमा नयाँ वर्षमा सयौँ पर्यटकहरु पुग्ने गरेका थिए ।

२०७६ सालको नयाँ अर्थात नयाँ वर्षको पहिलो दिनमा नेपाल र भारत भएर एक हजार पाँच सय पर्यटकहरुले सन्दकपुरको भ्रमण गरेका थिए । नेपाल भारत, भुटान र चीनको तिब्बतका ६० बढी हिमालको दृश्य आँखै अगाडी देख्न सकिने भएकाले सन्दकपुरमा सिजनमा दैनिक ५ सय देखि एक हजारसम्म पर्यटक पुग्ने गरेको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।

सन्दकपुर गाउँपालिका २ र ४ नम्बर वडामा पर्ने सन्दकपुर पर्यटकीय क्षेत्रलाई नेपाल सरकारले प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्यमा घोषणा गरेको छ । घुम्नै पर्ने पर्यटकीय क्षेत्रमा समेत घोषित सन्दकपुर क्षेत्रमा २०७७ को नयाँ वर्षमा धेरै पर्यटकहरुले आउने योजना बनाएपनि कोरानो भाइरसको संक्रमणले सुनसान भएको गाउँपालिका अध्यक्ष उदयबहादूर राईले बताए ।