रोङ : रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राईले अहिले कोरोनाको महामारीबाट आफना नागरिकहरुलाई सुरक्षित राख्नु र भोकमरीबाट मर्न नदिनु पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले अहिले गाउँपालिकामा रहेको गरिव तथा विपन्नहरुका लागि आवश्यक राहत र स्वास्थ्य सुरक्षाको प्रवन्ध भएको बताएका छन् । ‘ हाम्रो गाउँपालिकाको प्रोफाइल करिव २५ प्रतिशत अति विपन्न परिवार रहेका छन् जसमध्ये १० प्रतिशतलाई पुग्ने खाध्यान्नको जोहो भइसकेको छ ।’ उनले भने ‘ स्वास्थ्यलाई ख्याल गरेर अहिले पुर्व तयारी स्वरुप पिपई खरिद, ज्वरो नाप्ने गन, मौसमलाई मध्यनजर गरेर आवश्यक औषधीको खरिद सम्पन्न गरेका छौ ।’
उनले १२ किलोमिटर सिमा जोडिएको सुदुरपुर्वी रोङ गाउँपालिकामा भारत तर्फ काम गर्ने गएकाहरुको लागि क्वारेन्टाइनको व्यवस्थापन गरेर राखिएको जानकारी दिए । ‘ भारतमा काम गर्न गएका मध्ये फिरेर ८७ जना आएका छन् ।’ उनले भने ‘ त्यसमध्ये ६० जनालाई १४ दिन क्वारेन्टाइनमा राखिएको थियो ५७ जना अहिले घर फर्किएर गइसकेका छन् । बाँकी रहेका ४ जनाले मोतिराम माविको क्वारेन्टाइनमा ८ दिन बिताइसकेका छन् ।’ क्वारेन्टाइनमा समय विताएर घर फर्किएकालाई पनि ७ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको राईले बताए ।
वडा नं ५ र ६ मा सवैभन्दा बढि भएकाले गाउँपालिकाले विभिन्न स्कुलमा क्वारेन्टाइन व्यवस्था गरिएको उनले बताए । अन्य वडामा छिटपुट मात्र भएकाले होम क्वारेन्टाइनमा नै राखिएको राईले बताए । दाताहरुबाट अहिलेसम्म प्राप्त राहत सामाग्री चैत्र २९ गते (आज) सवै वडामा वितरण गरिने राईले बताए । ‘ अहिलेसम्म पहिलो चरणमा ८४ क्विन्टल ७५ केजी चामल र अन्य आवश्यक नुन, तेल, दाल लगायत प्राप्त भएको छ । प्रति व्यक्ति ५ केजीको दरले चामल, प्रति परिवार १ केजी नुन, तेल, एउटा सावुन वितरण गरिनेछ ।’ राईले भने ‘ अन्य दाताहरुले दिएको बचन पुरा गरे दोश्रो चरणको राहतका लागि पनि गाउँपालिकाले खरिद गर्नुपर्दैन ।’
अपुष्ट जानकारी अनुसार भारतमा रेल सेवा खुल्ला हुने र रोङ गाउँपालिकाका १५० भन्दा बढि बासिन्दा आएको खण्डमा उनीहरुको लागि समेत क्वारेन्टाइनको व्यवस्थापन हुँदै गरेको अध्यक्ष राईले बताए । प्रत्येकको परिवारको नाता, काम गर्दै गरेको ठाँउ, फर्कने मिति लगायतका डाटाहरु समावेश गर्न मिल्ने फारम बनाएर लगत संकलन हुँदै गरेकाले नेपाल प्रवेश गर्ने वितिक्कै गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिने राईले बताए । उनले आगामी ३ गतेसम्ममा सवै व्यवस्थापन भइसक्ने जानकारी दिए । भारत तथा विदेशबाट आएका परिवारमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य सम्वन्धी जानकारी र जनप्रतिनिधिहरुले सामाजिक परार्मश दिएको कारण क्वारेन्टाइनमा सहज भएको राईले बताए ।