रोङ । इलामको रोङ गाउँपालिका–६ ले राहत बाँडेको फोटो सामाजिक संजालमा नहाल्न आग्रह छ । वडाले विज्ञप्ती जारी गर्दै राहत वितरण गर्ने कसैले पनि फोटो नहाल्न आग्रह गरेको हो । सामाजिक सञ्जालमा यसरी फोटो हाल्दा विपन्नको भावनामा ठेस पुग्ने भएकाले यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मनिकुमार स्याङ्बाेले जानकारी दिए । उनले राहत लिने परिवारका सदस्यसँगै उनीहरुको छोराछोरीमा मनोवैज्ञानिक असर पर्ने भएकाले फोटो खिचेर सामाजिक संजालमा नहाल्ने आग्रह गरिएको बताए ।
‘सामाजिक सञ्जालमा यसरी फोटो हाल्दा विपन्नको भावनामा ठेस पुग्ने त छदैछ उनीहरुको विद्यालय जाने छोराछोरीमा पनि मानसिक असर पर्न जान्छ ।’ उनले भने ‘ बालबालिकाले उनीहरु गरिव हुन भनेर साथीले थाहा नपाओस भन्ने चाहन्छ त्यस्ता फोटोले उनीहरुलाई मानसिक पिडा दिन सक्छ । हामी पनि त्यही तहबाट हुर्किएकाले त्यो पीडा कस्तो हुन्छ भन्ने थाहा छ ।’ उनले कसैले राहत दिँदा फोटो खिचे प्रतिकार गर्न आग्रह गरेका छन् । वडाध्यक्ष स्याङ्बोले वडामा राहत वितरणको शैली पनि फरक भएको बताए ।
‘वडाले कुपन बनाएको छ । त्यहाँ राहत पाउने, राहत सामग्रीको विवरण र पाउने स्थानको ठाउँ तोकिएको छ,’ उनले भने, ‘त्यो कुपन विपन्नको घरमै पु¥याउँछौँ । त्यो कुपन प्राप्त गरेको तीन दिनभित्रमा राहतका लागि जानुपर्छ ।’ वडा नं ६ मा १०५ परिवारलाई राहत वितरणको तयारी भएको वडाध्यक्ष स्याङ्बोले बताए । गाउँपालिकाले हाल १० दिनलाई लक्षित गरेर प्रतिव्यक्ति ५ केजी चामल दिने भएको छ । त्यसैगरी प्रति परिवारका लागि १ केजी नुन, तेल र १ पिस साबुन समेत दिने निर्णय भएको उनले बताए ।
