इलाम । निरंकुश पंचायती सत्ताविरुद्ध आन्दोलनमा सहादत प्राप्त गरेका रत्नकुमार बान्तवाको ६९औँ जन्मजयन्ती तथा ४१ औँ स्मृति दिवस मनाइँदै छ। रत्न बम प्रतिष्ठानले हरेक वर्ष वान्तवाको स्मृति दिवस मनाउँदै आएको थियो तर यो बर्ष कोरोनाले गर्दा कार्यक्रम आयोजना नगरिएको रत्न बम प्रतिष्ठानका अध्यक्ष डा देवि क्षेत्री दुलालले जानकारी दिए । । बान्तवाको जन्म विसं २००८ चैत २७ गते इलाम चमैताको चित्रे (हाल देउमाई नगरपालिका– १) मा गर्जमान र पुष्पमाया राईका ११ सन्तानमा तीनवटी दिदीपछि जेठो छोराका रूपमा भएको थियो। उनको बाल्यकाल अभाव र गरिबीमा बित्यो।
धरानमा आईए पढ्दै गर्दा २०२८ सालमा झापामा विद्रोह सुरु भयो। झापा विद्रोहले रत्नकुमारमा गम्भीर छाप छाड्यो। वामपन्थी विचार राख्ने बम देवानले पनि रत्नकुमार बान्तवालाई कम्युनिज्मका बारेमा लेखिएका किताब, पत्रपत्रिका तथा अन्य सामग्री पढ्न दिएर सहयोग गरे। उनीभित्र बढ्दै गरेको कम्युनिस्ट मोह काठमाडौंमा आएपछि झाँगियो।
वि।सं। २०३२ सालमा अखिल नेपाल कोअर्डिनेसन केन्द्रको इलाम जिल्ला कमिटी गठन भयो। यसको सचिव थिए, झलनाथ खनाल। अन्य सदस्यमा रत्नकुमार बान्तवा, गणेश राई, अगम बान्तवा, भक्त देवान, बमप्रसाद वान्तवा र वसन्त पराजुली थिए। बुर्जुवा शिक्षा बहिस्कार गर्दै गाउँगाउँमा गएर जनतालाई संगठित गर्नुपर्छ भन्ने मान्यताका साथ रत्नकुमार बान्तवा क्याम्पसको जागिर छाडेर २०३३ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय हुन थाले।

रत्नकुमार बान्तवाले २०३४ सालमा चमैताको आफ्नै घरमा सुरुङ बनाए। त्यसमा बमप्रसाद, डिल्ली, मोहन र पदमको समूह लागेको थियो। रत्नकुमार बान्तवा वैज्ञानिक र व्यावहारिक ज्ञानमा पोख्त थिए। बान्तवाको प्रत्यक्ष निर्देशन र कल्पनामा बनाइएको सुरुङभित्र आधा दर्जन व्यक्ति बसेर छलफल गर्न सक्ने ठाउँ छ। सुरुङको एउटा मुख रत्नको घरमा थियो भने अर्को मुख जंगलको बीचमा थियो।
यसरी मारिएका थिए रत्न
संगठन निर्माणका क्रममा रत्नकुमार बान्तवा इलामको नाम्सालिङ पुगेको कुरा सुराकीबाट थाहा पाएपछि प्रहरीले २०३५ चैत २४ गते नामसालिङका लोकबहादुर लिम्बूको घरमा घेरा हाल्यो। त्यतिबेला रत्नकुमार बान्तवा, जैमिला राई र डिल्लीप्रसाद राई घेराउमा परे। रातको समयमा प्रहरीको आँखा छलेर रत्नकुमार बान्तवा भाग्न सफल भए र साथीहरूलाई पनि भगाए।
रत्नकुमार बान्तवाको खोजीमा निस्किएको प्रहरीले २०३५ चैत २४ गते इभाङमा रत्नकुमार बान्तवा भन्ने ठानेर गाउँले किसान निमा शेर्पालाई गोली हानेर हत्या ग¥यो। निमा शेर्पाको अनुहार र जिउडाल रत्नकुमार बान्तवासँग मिल्दोजुल्दो थियो। सुराकीले रत्नकुमार भनेर औँल्याएपछि निमालाई प्रहरीले गोली हानेको थियो तर पछि रत्नकुमार बान्तवा नभएर अर्कै व्यक्ति मारेको थाहा पाएपछि प्रहरी बान्तवाको थप खोजीमा निस्कियो। इभाङमा रहेको एक किसानको घरबाट २०३५ चैत २७ गते बिहान साढे चार बजे उठेर रत्नकुमार बान्तवा, सुशीला श्रेष्ठ, अगम बान्तवा र कुसुम राई ताप्लेजुङ हिँडेका थिए। अलिकति अगाडि बढेपछि प्रहरीसँग उनीहरूको जम्काभेट भयो।
प्रहरीसँगै आएका सुराकीले औँल्याएपछि अगाडि रहेका बान्तवालाई प्रहरी विष्णु राईले गोली हाने। रत्नकुमार बान्तवाले पहिलो गोली छले र खुकुरी झिकेर प्रहरीमाथि जाइ लागे। दोस्रो गोली पनि छलिएर अर्को प्रहरीलाई लाग्न पुग्यो। तेस्रो गोलीले रत्नकुमार बान्तवाको छाती फोरेर मुटुलाई छेड्यो। यसरी रत्नकुमार बान्तवा २७ वर्ष पूरा गर्दै गर्दा जन्मदिनमै प्रहरीको गोलीद्वारा मारिए।

रत्नले सहादत प्राप्त गरेको एक महिना नबित्दै बमप्रसाद वान्तवाको २०३६ बैशाख २८ गते साखेजुङ गैरीबासमा हत्या गरिएको थियो। रत्नकुमार बान्तवाले सहादत प्राप्त गरेको ३७ वर्षपछि २०७२ फागुन २२ गते उनलाई सरकारले शहीद घोषणा गरेको थियो। वान्तवाको स्मृतिमा इलाम नगरपालिका– १ साखेजुङमा रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युटसमेत खोलिएको छ। रत्न र बमको स्मृतिमा चमैतामा पुर्ण कदको शालिक बनाइएको छ । त्यसैगरी इलामको ठुलो टुडिखेल छेउमा र सहादतस्थल इभाङमा पार्क निर्माण गरी अर्धकदको शालिक समेत राखिएको छ ।