इलाम । विश्व व्यापीरुपमा संक्रमणको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को अवस्था सम्बन्धमा जिल्ला समन्वय समितिको आयोजनामा सर्वदलीय बैठक सम्पन्न भएको छ । जिसस प्रमुख श्री गणेशप्रसाद बरालको अध्यक्षता एवं प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री माननीय रामबहादुर मगरको प्रमुख आतिथ्यतामा भएको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
१. खाद्यान्न र इन्धनको आपूर्ति तथा बिक्री, वितरणलाई थप व्यवस्थित गर्ने । इलाममा खाद्यान्न र इन्धन बिक्रेतासँग भएको मौज्दात सामाग्रीको लगत संकलन गरि आवश्यक आपूर्तिको व्यवस्था मिलाउन स्थानीय सरकार सहितका सरोकारवालाले प्रभावकारी रुपमा काम अघि बढाउने । सागसब्जीको बिक्री, वितरणलाई थप व्यवस्थित
२. आवश्यकतानुसार जिल्ला समन्वय समितिको कार्यालयको नवनिर्मित कार्यालय भवनलाई आइसोलेशन अस्पतालको रुपमा तयार गर्ने काम अघि बढाउने ।
३. आपूर्ति व्यवस्थापन, बिक्री वितरण, राहत वितरण एवम् सहायता सन्दर्भमा गृह मन्त्रालयले गरेको विशेष निर्देशनलाई प्रभाकारी कार्यान्वयनका लागि आवश्यक समन्वय गर्ने ।
४. लकडाउनलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि प्रहरी प्रशासनलाई अनुरोध गर्ने र इलाम जिल्लाबासी आम नागरिकमा थप सचेतता अभिबृद्धी गर्ने । साथै सवारी साधनको लागि वितरण गरिने पास अत्यावश्यक बाहेक वितरणमा कडाई गर्ने ।
५. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार सहित राज्यका सबै निकायले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा गरेको निर्णय र निर्देशनहरुलाई कडाईका साथ कार्यान्वयन गर्न प्रतिबद्धता गर्दै यसका लागि इलाम जिल्लाबासी सबैलाई अपिल गर्ने निर्णय भएको छ ।
बैठकमा नेकपा इलामका कार्यालय सदस्य भक्त केसी, कार्यालय सदस्य एवं इलाम नगरपालिका प्रमुख श्री महेश बस्नेत, कार्यालय सचिव नवराज शंकर, नेपाली काङ्ग्रेसका सचिव खगेन्द्र देवान, काङ्ग्रेसका नेताहरु होम दुलाल, केदार थापा, समाजवादी पार्टी नेपालका छिकिन तामाङ्गसहित प्रमुख जिल्ला अधिकारी तुलसी सेडाई, जिल्ला समन्वय अधिकारी श्री हरि दाहाल, जिल्ला समन्वय समिति सदस्य श्री निरुमाया राई, सामाजिक विकास कार्यालय, जिल्ला अस्पताल, इलाम उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस जिल्ला सोसाइटीका प्रमुख एवं प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सोम सुसेली लगायतको उपस्थिति रहेको थियो ।
मंगलबारेमा देउमाई नगरपालिकाको छलफल
देउमाई नगरपालिकाले समेत राज्यमन्त्री मगरसँग छलफल गरेको छ । आफ्नो गृहनगर देउमाई नगरपालिकाको मंगलबार पुगेर मन्त्री मगरले नगरप्रमुख सुर्यप्रसाद पोख्रेलसहित नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण आपतकालीन समितिसँग छलफल गरेका थिए । छलफलमा मन्त्री मगरले कोरोना रोकथामका लागि प्रदेश सरकारको तयारी र नगरप्रमुख पोख्रेलले नगरपालिकाले हालसम्म गरेका कार्य तथा भावी योजनाबारे जानकारी गराएका थिए ।
समितिले संक्रमणकालीन समयमा कालोबजारी, अभाव सिर्जना गर्ने जस्ता विषयहरुले प्रश्रय पाउने संभावनामहरुलाई मध्यनजर गर्दे उक्त समस्या निराकरणका लागि व्यवसायीहरुको सहयोगमा नियमित रुपमा भण्डार र मूल्यसूचि अध्यावधिक गर्ने साथै समय समयमा अनुगमन समेत गर्ने निर्णय गरेको छ ।
त्यसैगरी भारतलगायत तेस्रो मुलुकबाट नगरपालिका प्रवेश गरेका व्यक्तिहरुको नामावली संकलन गरी नगरपालिकामा प्रतिवेदन पेश गर्न साथै नगरपालिका क्षेत्रभित्र रहेको लकडाउनले प्रत्यक्ष प्रभावमा रहेका व्यक्तिहरुको नामावली संकलन गर्न वडा स्तरीय आपतकालीन समितिलाई निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै टोल स्तरीय आपतकालीन समितिबाट प्रत्येक दिन २ बजे र वडास्तरीय आपतकालीन समितिलाई ३ बजे भित्र प्रतिवेदन गर्ने निर्देशन दिने निर्णय समेत गरेको छ ।
लकडाउन अवधिभर एक परिवारबाट अर्का परिवार बीचको प्राय सम्पर्क नरहने गरी दैनिक जीवनयापनका कार्यहरु संचालन गर्न आम नागरिकहरुलाई अनुरोध गर्दे लकडाउनलाई प्रभावकारी तवरले सफल पार्न सहयोग गर्ने स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी , कर्मचारी , राष्ट्रसेवक र आम देउमाई नगरबासीलाई धन्यवाद दिदै नेपाल सरकारले थप गरेको लकडाउनलाई अझ प्रभावकारी रुपमा सफल पार्न अनुरोध गरेको छ ।