बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले एकजना जनप्रतिनिधि गुमाएको छ । नगरको वडा नम्वर–७ का अध्यक्ष गंगाबहादुर भट्टराईलाई नगरपालिकाले गुमाएको हो । अध्यक्ष भट्टराईको मंगलवार अपरान्ह साढे ४ बजे आफ्नै निवासमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित अध्यक्ष भट्टराई तीन महिनादेखि घरमै आराम गरिरहेका थिए ।
जनताको मन मात्रै होइन, मत पनि जितेर आएका भट्टराईले क्यान्सरलाई भने जित्न सकेनन् । २०१३ सालमा जन्मिएका भट्टराई तत्कालीन एमालेका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका हुन् । बिर्तामोड ७ मा भट्टराईको नेतृत्वमा पाँचै जना जनप्रतिनिधि पूर्व एमालेबाट निर्वाचित भएका थिए । किसान परिवारका भट्टराई पूर्व एमालेबाट झापा २ का पूर्व क्षेत्रीय कमिटी सदस्य समेत थिए ।
वडाध्यक्ष भट्टराईको निधनप्रति शोक व्यक्त गर्दै बिर्तामोड नगरपालिकाले बुधबार नगरभित्र एक दिन शोक बिदा दिने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद पाण्डेले बताए । उनको बुधवार विहान १० बजे देउनिया घाटमा जातिय परम्परा अनुसार दाहसंस्कार गरिने जनाइएको छ । अध्यक्ष भट्टराईको श्रीमती देवीमाया, चार छोरा र दुई छोरी छन् ।