Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

तस्बिरमा ५० वर्ष अघिको इलामको आइतबारे बजार

तस्बिरमा ५० वर्ष अघिको इलामको आइतबारे बजार

  • सुजन तिमल्सिना
  • सोमबार, मंसिर ३० २०७६


तस्बिरमा ५० वर्ष अघिको इलामको आइतबारे बजार

सूर्योदय नगरपालिका । हालको सुर्योदय नगरपालिका ११ मा पर्दछ करफोक र आइतबारे क्षेत्र । यो देशको संघीय संरचनामा आउनुअघि पञ्चकन्या गाउँ विकास समितिका रहेको थियो । कुनैबेला खलङ्गाले परिचित आइतबारे कस्तो अवस्थामा थियो भन्ने अहिलेका इलामेलाई मात्रै हैन सबै नेपालीलाई चासोको बिषय हो । २ सय वर्ष अघि जिल्लाको केन्द्र रहेको आइतबारेमा ५० वर्ष अघि बिशाल बजार लाग्ने गरेको त्यसबेलाका तस्बिरले प्रष्ट पार्छ ।

त्यसबेलाका २२ तस्बिर हेर्दा के प्रष्ट देखिन्छ भने बजार बिशाल लाग्थ्यो र गाउँमा उत्पादन भएका कृषि उपजदेखि फलामसम्म किनबेच भइरहेको देखिन्छ । त्यसबेला आइतबारे बजार माटो र ढुङ्गाबाट बनिएका फुसको छानो भएका घर धैरै देखिन्छन् । बजार भित्रका केहि घरम ढुङ्गा र माटोले बनिएका भएपनि टिनको छानो लगाइएको देखिन्छ ।


बिचबिचमा बारीमा उत्पादन गरि वर्षभरी खान पुर्याउने हिसाबले खोस्टा सहितको मकै थाङ्ग्रो बनाएर राखिएको देखिन्छ । बजार बिचको एक घरको छानोको डाँडाभाटा नै झर्न आँटेको अवस्थमा पनि छ । निकै भिड रहेको बजारमा आउने अधिकासं पुरुषले दौरा सुरुवाल र आर्थिक अवस्थाले भ्याएसम्म टोपी लगाएको देखिन्छ भने महिलाले साडि चोली लगाएको देखिन्छ । र महिलाहरु धेरैले बर्को ओडेको देखिन्छ, जसले के प्रष्ट पार्दछ भने यहाँ निकै जाडो थियो । अहिलेको भन्दा कडा ।


बजारमा धेरै कृषि उपजको खरिद बिक्रि
आइतबारेमा २ सय वर्ष अघि इलामको सदरमुकाम रहेको थियो । र बजार पनि त्यहिबेला देखि लाग्ने गरेको अनुमान अग्रज पत्रकार केदार सर्माले बताए । बजार त सुगौली सन्धिपछि नै लाग्न सुरुवात गरेको धेरैको अनुमा छ सर्माले भने– मिति यकिन कसैलाई छैन ।

बजारमा उत्पादन भएको सामग्री बिक्रि गरेर आफ्नो घर खर्च चलाउने सामग्री खरिद गर्दथे । कुन बार बजार लाग्थ्यो भन्ने प्रष्ट नभएपनि बजारमा धेरै इलामे जनताले आफ्नो उत्पादन बजार ल्याउँथे र प्राय ः नुन र तेल खरिद गरेर घर फर्कन्थे ।


बजार आउनेहरुले बोरा, डोको र थुन्सेमा आफ्नो उत्पादन बजार ल्याएको देखिन्छ । त्यसबेला गाडिको चलन नआइसकेकाले ढोडामा सामान ओसार्न घोडाको प्रयोग भएको देखिन्छ । खासगरी बजारमा दाल, गुन्द्रुक, मकै, चामल, बिक्रि हुने गरेको पाइन्छ ।

त्यसबेला खेतीपाति धेरै हुने भएकाले र अहिलेको जस्तो औद्योगिकरण नभइसकेकाले चित्राको मान्द्रोको प्रयोग खाध्यबाली सुकाउने प्रयोग गरिने भएकाले बजारमा पनि धेरै नै बिक्रिका लागि ल्याएको देखिन्छ । जुन अहिलेपनि ग्रामिण क्षेत्रमा प्रचलनमा रहेको छ ।


गरिबिको पराकाष्टः चप्पल बिहिन खुट्टा
नेपाल अंग्रेजको युद्ध अघि नेपाल बिशाल भु–भागमा फैलिएको थियो । युद्धपछि नेपालको भु–भाग खुम्चियो र त्यहि खुम्च्याइले गर्दा इलामको सदरमुकाम आइतबारे सरेको थियो । र आइतबारेको बजारमा आउने प्रायः नेपालीको खुट्टा खालि नै देखिन्छन् ।


अहिलेको हिउँदमा सितमा खालि खुट्टा हिड्दा कटक्कै खान्छ त्यसबेला त धेरै नै सित पर्दो हो उनीहरुले रहरले खुट्टामा जुत्ताचप्पल नलगाएको होइन होला आर्थिक अवस्थाले गर्दा खुट्टा खालि भएको होला, सायद । एउटा उखान छ खुट्टा भए त जुत्ता जत्ति ।


तर यहाँ खुट्टा भएर मात्रै हुँदैन रहेनछ, जुत्ता लगाउन त पैशा नै चाहिन्थ्यो त्यो बेला पनि । केहिले मात्रै खुट्टामा जुत्ता र चप्पल प्रयोग गरेको पाइन्छ । यसले के प्रष्ट पार्छ भने नेपालीको आर्थिक अवस्था धेरै कमजोर थियो र त्यस बेलादेखिका शासकहरुले हामिलाई चप्पल लगाउने बनाउन र यो अवस्थासम्म ल्याउन ठुलै त्याग र तपस्या गरेका   छन् ।


फलामको व्यापार कुटो कोदालो
आइतबारे बजारमा फलामको व्यापार पनि भएको पाइन्छ । यो बजारमा कोदालो र कुटोको बिक्रिका लागि केहि युवा बसेको देखिन्छ । उनीहरुले आफैले निर्माण गरेको कोदालोले ग्राहक पर्खिराखेको छ । यस्तै बजारमा तामाका र कासका थाल बोकुटा, तथा भाँडाहरु बिक्रि गरिहेको देखिन्छ । त्यसबेला यी भाँडाकुडा निकै प्रचलनमा आएको अग्रजको भनाइ छ ।


सडक पहुँच नभएपछि आइतबारेको हाट तिनघरेमा
ऐतिहासिक आइतबारे बजार सडकको पहुँच नहुँदा तिनघरेमा सरेको स्थानीय अगुवा भिष्म प्रधानले बताए । त्यसबेला अहिलेको जस्तो व्यापारीहरुले एउटै गाडिमा सामान लाने चलन नहुने र गाडिले राजमार्गमा नै सामन झार्ने गरेपछि व्यापारिको असुबिधाले बजार तिनघरे सरेको प्रधानको भनाइ छ ।

यी तस्बिरहरु सामाजिक संजालबाट लिइएको हो । बिक्रम सम्बत २०२३ ÷२४ सालमा क्यामरामा कैद गरिएको तस्बिर सुर्योदय नगरपालिका १० निबासी रोहित खड्काको फेसबुकबाट लिइएको हो ।


यस्तो छ इलामको इतिहास
सुगौली सन्धिपछि इलाम जिल्लाको सदरमुकाम दुई वर्ष हालको करफोक विद्या मन्दिर क्षेत्रमा सारिएको थियो । हालको दार्जिलिङस्थित नागरिक गढिबाट करफोकमा इलामको सदरमुकाम सारिएको हो । अग्रेजसँगको युद्धकै दौरानमा सुगौली सन्धि भएपछि इलामको सदरमुकाम नागरिकगढिबाट करफोक विद्या मन्दिर क्षेत्र रहेको आइतबारेमा सारिएको थियो ।


सिंगो देश नेपाल अग्रेज युद्धको प्रभाव रहँदा पूर्वी नेपाल पनि नपर्ने कुरै भएन । युद्धपछिको सुगौली सन्धिपछि हालको सीमाना मेची नदीदेखि टिष्टासम्मको क्षेत्र छोड्नुपर्ने भयो र तत्कालिन सदरमुकाम नागरिक गढि नेपाली सेनाले ४० दिनमा छोड्नुपर्ने अवस्था थियो ।

त्यहि बखत करफोक क्षेत्रको आइतबारेमा इलाम सदरमुकाम छोडियो । त्यसबेला सदरमुकामलाई खलङ्गा भनिन्थ्यो । करफोक छेउको पूर्णे डाँडोमा खलङ्गा बसेको महेन्द्र रत्त बहुमुखि क्याम्पसको पूर्व प्रमुख युद्धप्रसाद बैद्यद्धारा लिखित पुस्तकमा उल्लेख छ । सुगौली सन्धिपछि करफोकमा विक्रम सम्बत १८७२ देखि १८७४ सम्म इलामको सदरमुकामकाम कायम रहेको थियो ।


छोटो समय सदरमुकाम रहेको करफोकबाट इलामको सदरुमकाम नामसालिङ सारियो । यसको कारण थियो सदरमुकाम सुरक्षाको । सुरक्षाको कारणले सदरमुकाम सुरक्षित नहुनेकी भन्ने अध्ययनपछि १८७५ सालमा नामसालिङमा खलङ्गा सारिएको थियो ।

नामसालिङ्मा पानीको समस्या हुने भएपछि केहि दिनमै हालको सदरमुकाममा खलङ्गा कामय गरियो ।

जसअनुसार देश संघीय संरचनामा गएपछि खलङ्गा दुई सय वर्ष पुगेको अवस्थामा २०७५ सालमा विभिन्न कार्यक्रम गरि इलाम नगरपालिकाले मनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार