इलाम । इलामको एक मात्र रामसार क्षेत्रमा सुचिकृत धार्मिक पर्यटकिय स्थल माइपोखरीमा भगवान शिवको कलात्मक मुर्ति निर्माण गरिने भएको छ । धार्मिक पर्यटनलाई प्रर्वद्धनका निम्ती एक करोड भन्दा बढीको लागतमा बिस्तृत परियोजना प्रस्ताव नै तयार गरेर यस्तो मूर्ति बनाउन लागिएको हो । आगामी आर्थिक वर्षमा शिवको मूर्ति बनाउनका लागि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाले ५०५० लाख रुपैयाँ बिनियोजन गर्नेगरि दुई स्थानीय तहबीच आज मङ्सिर १ गते सहमति भई सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।
दुवै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको रोहबरमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र सन्दकपुर गाउँपालिकाका प्रमुखको हस्ताक्षर रहेको सहमति पत्रअनुसार इलाम नगरपालिकाले तयार गर्ने बिस्तृत परियोजना प्रस्तावअनुसारको निर्माण कार्यको लागत रकम दुवै स्थानीय तहले बराबर ब्यहोर्ने छन् ।
उक्त मुर्ति निर्माण भएपश्चात सो को सञ्चालन गरी आम्दानी सङ्कलन गर्ने कार्य सन्दकपुर गाउँपालिकाले गर्ने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ । बिश्व सम्पदा सूचीमा सुचिकृत माइपोखरी प्राकृतिक, साँस्कृतिक, तथा धार्मिक महत्त्व र ऐतिहासिक चम्पकारण्य क्षेत्र भएको हुँदा जैविक विविधताले युक्त पर्यटकिय क्षेत्रको सौर्न्दर्य अभिबृदी गर्दै पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा राखिएको छ । सो क्षेत्रको आर्थिक बिकासका लागि शिवालय मन्दिर तथा पार्क निर्माणको लागि दुई वटा सम्झौतारसहमति पत्रमा हस्ताक्षर भएको छ ।