Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

इलामको चिया : पर्यटन‚ अध्ययन र फिल्म सुटिङको केन्द्र बन्दै

इलामको चिया : पर्यटन‚ अध्ययन र फिल्म सुटिङको केन्द्र बन्दै

  • नमीन ढकाल
  • सोमबार, कार्तिक ४ २०७६


इलामको चिया : पर्यटन‚ अध्ययन र फिल्म सुटिङको केन्द्र बन्दै

इलाम । हरियो चियाबगानलाई चिरेर गएको नागवेली सडक । इलामको प्रवेशद्धार जोरकलशबाट करिब १५ किलोमिटर पार गरेपछि आउने कन्यामको दृश्यले कसको मन नलोभ्याउँला । त्यसमाथी पनि आकाश उघ्रिएको बेला चियाबगान बिचबाट देखिने कञ्चनजंघा लगायत हिमश्रृङखलाको दृश्यमा नलोभिने को होला र ? । असोज देखी बैशाखसम्म भुल्केघामसंगै बनभोज खान आउनेको लस्करले कन्यामलाई छाडेको हुँदैन् । मेचीराजमार्गमा हुलका हुल आउने पर्यटकहरुको जमघटले कन्यामको माहोल नै बेग्लै देखिन्छ । सुन्दर चियाबारी नै इलामको पहिचान र समृद्धिको मुख्य आधार बन्दैछ । चियाबगानको बिचबाट देखिने दृश्यमा जिल्ला बाहिरबाट आउने पर्यटकहरुले घन्टौ भुलेको पत्तै पाउँदैनन् ।
चियाको राजधानीको नामले चर्चा बटुलेको इलामेहरुले चियालाई आधार नै बनाएर आर्थिक उपार्जनको माध्यम बनाउने पर्याप्त सम्भावना पनि छ । जताततै चियाका बुटाहरु देख्ने भएकाले इलामको यात्रामा निस्किने जुनसुकै यात्रीको मन हरियो चियाको बोटले लोभ्याउँछ । सवारीसाधनभित्रै बाट दाँयाबाँया तलमाथि जताततै चिया नै चिया देखिँदा जो कोहीको मन फुरुङ्ग हुन्छ । नाङगो पाखामा अहिले हरियाली फाँट र बस्तीमात्रै देखिने इलामका आर्कषक चिया प्रशोधन कारखानामा चिया पेलिदै गरेको आवाज र पिउँपिउँ लाग्ने चियाको मगमग बासनाले हरेकको मन लोभ्याउने गरेको छ ।
इलाम घुम्न आएका सबैजसो पर्यटक चियाबारी र चिया कारखाना घुम्न छुटाउँदैनन । समयले भ्याएसम्म चिया टिपाइ, प्रशोधन हेर्ने र यसको ऐतिहासिक पृष्ठभूमि खोतल्ने प्रयास गर्छन । यहि नै इलामको चिया पर्यटनको मुख्य आधार पनि हो । जिल्लाका दर्जनौं गाउँमा छरिएका किसानले आँगनको डिलसम्मै लगाएको चियाले आम्दानीसंगै इलामको पर्यटनलाई पनि सघाउँ पु¥याएको छ । इलामका अधिकाँश ठाउँ यस्तो छैन जहाँ चिया नहोस । थोरै भएपनि किसानको बारीमा चियाका मुनाहरु खेलिरहेकै नहोस । गाउँले जीवनशैली र हिमाली सौन्दर्य बेच्ने इलाम चैतदेखि असोजसम्म ‘चियाको बैंस’ले पाहुना पल्काउँछ । यो चियाका मुना पलाउने सिजन पनि हो । तेश्रो मुलुकका पर्यटकहरुको अध्ययनको गन्तव्य बनेको छ इलामका चियाबारी । तेश्रो मुलुकका पर्यटकहरु पल्काउने सन्दकपुरका अतिरिक्त इलामको चिया अध्ययन नै हो । बि.स १९२० सालमा प्रधानमन्त्री जंगबहादुर राणाले आफना ज्वाई इलामका तत्कालिन बडाहाकिम गजरासिंह मार्फत चिया रोपण गराएको इतिहास पाइन्छ । त्यहीबाट सुरु भएको हो इलामको चिया पर्यटन ।
थापाकै नेतृत्वमा वि.स १९३२–१९३५ मा इलाम बजारमा आधुनिक चिया प्रशोधन कारखाना निर्माणपछि चिया उत्पादन भइ बजारमा आएको थियो । दार्जिलिङमा वि.स १८९६ सालमा स्थापना भएको सबैभन्दा पुरानो आलुबारी चिया कमानभन्दा २४ बर्ष मात्र कान्छो छ, इलाम चिया बगान । चीन सरकारबाट सौगात तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले वि.सं. १९२० मा चीन भ्रमणबाट फर्कदा चीनिया जातको चियाको वीउ उपहारस्वरुप तत्कालिन चीनिया सम्राटबाट ल्याएपछि भौगोलिक वनावट, माटो, हावापानी सुहाँउदो स्थान इलाम रोजियो । दार्जिलिङमा गरिएको चिया खेतीको मनोरम दृश्यबाट प्रभावित भई इलाममा चिया खेतीको प्रारम्भ गरिएको हो ।
दार्जिलिङको चिया कमानबाट पनि दक्ष कामदारहरु झिकाई सदरमुकाम इलामको एक सय ३५ एकड जमिनमा चिया रोपिएको इतिहास छ । चिया खेतीका संस्थापक नेता गजराजसिंह थापा हुन् । तर चिया खेती अभियानलाई साथ दिने अग्रज सहयोगीको बारेमा प्रामाणिक नाम नभेटिए तापनि थापाकै समकक्षी इलाम र दार्जिलिङका हाम्रा पुर्खा थिए भन्ने चर्चा डा देवी क्षेत्री दुलालले आफनो पुस्तक इलामको चिया इतिहासमा गरेका छन् ।
इलाम पछि सोक्तिममा चिया रोपण गरियो । विस १९४० मा सोक्तिममा दोश्रो उद्योग स्थापना गरियो जुन विराटनगर जुट मिल भन्दा ५६ बर्ष पहिले । उद्योग र कृषिको इतिहास बोकेको इलामको चिया अहिले तेश्रो मुलुकका पर्यटकहरुको लागी अध्ययनको थलो बनेको छ । यहाँको प्राकृतिक सौन्दर्य अवलोकन गर्न २०१९ सालमा तत्कालीन राजा महेन्द्र आएका थिए । तत्कालिन युवराज वीरेन्द्रले पनि २०२८ सालमा इलाममा महिना दिन बिताएपछि इलाम सहित पुर्वका ५ जिल्लालाई चिया क्षेत्र नै घोषणा गरे । वि.स २०२३ सालमा नेपाल चिया विकास निगमको स्थापना पछि तत्कालिन युवराज वीरेन्द्रले २०२८ साल पुस २१ गते कन्याममा चिया खेती सुरु गराए र २०४१ साल चैतमा आधुनिक चिया प्रशोधन कारखानाको उद्घाटन विरेन्द्र राजा ले नै गरेका थिए ।
वीरेन्द्र र ऐश्वर्यले कन्याममा पहिलो–पटक रोपेका चियाका बुट्टा अहिले पनि संरक्षित रहेको प्रदेश साँसद काजीमान कागतेले बताउँछन । उपराष्ट्रपती नन्दबहादुर पुन २ बर्षअघि इलाम आउँदा चिया बगानको सौन्दर्यबाट मोहित भएर फर्किएका थिए । उनी जस्तै देशका उच्चपदस्थ व्यक्ति पटक–पटक इलामको ऐतिहासिक चियाबारी घुम्न आइरहन्छन । नेपालमा पछिल्लो संरचना अनुसार तीन तहका सरकार गठन भई तीनै तहका सरकारले चिया क्षेत्रलाई प्राथमिकता दिएका छन् । नेपाली चियाको राजधानी अर्थात इलामका सबै स्थानीय तहका किसानले चियालाई व्यवसायिक रुपमा खेती गरेको छन् । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको चियाखेतीलाई अझ व्यवसायिक बनाउन इलामका सबै स्थानीय तहले रोपण, उत्पादन र बजारीकरणमा लगानी बढाउनुपर्ने देखिन्छ । चीन र जापानले झै नेपालले पनि चिया संस्कृतीलाई जोड दिनुपर्ने देखिन्छ ।
ती दुई देशमा त्यहाँ उत्पादन हुने चिया ‘टि टेस्टिङ्ग सेरोमनी’को रुपमा लोकप्रियता भएको छ । संस्कृतिका रुपमा चिया विकसित हुँदै गइरहेको छ । चिया अथितिलाई सत्कार गर्ने एक पेय पदार्थ मात्र नभएर मानव सभ्यताको एक अभिन्न संस्कार पनि भएको छ । ठूला मिटिङ, सभा, गोष्ठिमा टि–ब्रेकका रुपमा चिया पिउने गर्दछौं । यसले गर्दा चिया एउटा अलग्गै संस्कार सभ्यता हुँदै चिया पर्यटनमा प्रवेश गरेको छ । पहाडको चिसो हावा, चिया बगानको हरियाली, चिया मजदुरको दिनचर्या र इलामे चिया संस्कृति पर्यटकका लागि आकर्षणको केन्द्र हुन । चियाबारी वरिपरि नै रहेका देशकै लोपोन्मुख लाप्चासहित, थामी, मगर, गुरुङ, लिम्बू, राई, नेवारलगायत समुदायको परम्परा र संस्कृतिले पनि पर्यटकलाई आनन्द दिन्छन ।
चियाको विषय अध्ययन गर्ने विद्यार्थीका लागि त इलाम आउनैपर्ने गन्तव्य हो, तराईको गर्मीबाट उम्किन पनि झापाबाट डेढ घन्टामै चिसो कन्याम चियाबारी आउन सकिन्छ । चियाको हरियाली र सौन्दर्यताले पर्यटकहरु मात्र होइन चलचित्रकर्मीहरुको मन पनि जित्न सफल भएको छ । दर्जनौ चलचित्रहरुको दृश्य कन्याम र अन्तुका बगानले धानेको छ । चलचित्र निर्देशक उज्वल घिमिरे इलामलाई फिल्म सिटीको उपमा दिन्छन् । ‘इलाम फिल्म सिटीको संभाव्यता बोकेको क्षेत्र हो । यहाँका बगानले धेरै सिनेमाकर्मीहरुको मन मस्तिष्कलाई तानेको छ ।’ विकासराज आर्चायले निर्देशन गरेको नाइ नभन्नु ल ५ को धेरै जसो सिन इलाममा खिचिएका छन् । अहिले म यस्तो गित गाउँछु २ को इलाममा सुटिङ केही दिन अघि सम्पन्न भयो । ४० को दशक यता धेरै चलचित्रहरुका लागी इलामले सिन दिएको छ । धेरै चलचित्रको दृश्यमा इलाम पाइन्छ । यसर्थ इलामको चिया पर्यटनबाट चलचित्र क्षेत्रले समेत फाइदा उठाएको छ । इलामले सौन्दर्यलाई इतिहासविद्ध युद्धप्रसाद बैद्य नकुदिएको हिराको उपमा दिन्छ । उनकै शव्द सापटि लिएर भन्ने हो भने ‘इलाम नकुदिएको हिरा हो यसलाई कुद्न शिल्पीको खाचो छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार