परिचय
देउमाई नगरपालिका नेपालको प्रदेश नम्बर १ अन्तरगत इलाम जिल्लाको पश्चििमी क्षेत्रमा पर्दछ । इलामका १० वटा स्थानीय तहहरु मध्ये यो नगरपालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण, बलियो र उर्भर, विभिन्न जातजातिहरु, भाषा, धर्म, सस्कृति र भेषभुषाको धार्मिक सहिष्णुताले ओतप्रोत, पर्यावरण, कृषि, पर्यटन तथा औद्योगिककरणको संभावना बोकेको आर्थिक सम्पन्नता तिर तिब्र गतिमा लम्किरहेको पहाडी भु–भागमा अवस्थित छ । १,९१.६३ वर्ग किलोमिटर क्षेत्रफल भएको देउमाई नगरपालिका समुद्री सतहको २ सय ५० मिटर देखि २७ सय मिटरको उचाईसम्म फैलिएको भने नेपालको कुल भु–भागको ० दशमलब १३ प्रतिशत र इलाम जिल्लाको ११ दशमलब २२ प्रतिशत भूभाग यो नगरपालिकाले ओगटेको छ ।

पूर्वमा इलाम नगरपालिका, पश्चिममा फाकफोकथुम र मांङसेबुंग गाउँपालिका, उत्तरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका र दक्षिणमा माई नगरपालिका यस नगरपालिकाको सिमाना हो । इलाम जिल्लाको उत्तरबाट दक्षिण बग्ने ४ खोला मध्ये पश्चिमी क्षेत्र भएर बग्ने पवित्र देउमाई खोलाको नामबाट यो नगरपालिकाको नामकरण गरिएको हो ।

२०७३ सालमा घोषणा भएको देउमाई नगरपालिकाको जनसंख्या २०६८ को जनगणना अनुसार ३२ हजार ९ सय २७ रहेको छ । यहाँ राई , लिम्बु, मगर, ब्राह्मण, क्षेत्री, शेर्पा ,तामाङ, नेवार, गुरुङ, सुनुवार, दलित ,दशनामी लगायतका जातजातिहरुको बसोबास रहेको छ । मिलनसार, मेहनती, प्रगतिशिल, न्यायप्रेमि जनसमुदाय र हावापानीमा विविधता रहेको यो नगरपालिका सदरमुकामबाट १ घण्टाको पक्कि सडकको यात्राबाट तथा झापाको विर्तामोडदेखि दानाबारी सिद्धिथुम्का हुँदै गाग्रेभञ्ज्याङ्ग जोड्ने मोटरबाटो हुँदै पुग्न सकिन्छ ।
कुईभीर
कुईभीर पर्यटकीय क्षेत्र देउमाई नगरपालिका १ मा अवस्थित छ । कुईभीर पुग्न इलाम सदरमुकामबाट मेची राजमार्ग समातेर डेढ घण्टा यात्रामा पुगीने ढप्पेटारबाट उकालो लाग्नु पर्छ । शेर्पा समुदायको बस्तीमा अर्गानिक परिकारका स्वादमा रमाउदै २ घण्टाको पदयात्रा गरेपछि कुईभीरको चुचुरो पुगिन्छ । कुईभीर धार्मीक , सांस्कृतिक , जैविक विविधता , बन्यजन्तु , चराचुरुगी , जडीबुटी र बनै भरी फुल्ने लालि गुँरासले सजिएको हुन्छ । तत्कालिन इलामका बडाहाकीम सन्तबीर लामाको सक्रियतामा निर्माण भएको पदमार्ग समातेर बौद्ध गुम्बा ,जोर पोखरी र देउमाई पोखरी पुगिन्छ ।

पोखरी क्षेत्रमा प्रसस्त चौर रहेकाले बनभोज स्थलको रुपमा समेत यो ठाउँलाई बिकास गर्न लागिएको छ । ढकमक्क फुल्ने गुरास चाप, चिमाल र लेकाली फुलमा रमाउदै देउमाई पोखरीबाट १ घण्टाको यात्रामा कुईभीर पुगिन्छ । भुईकुहिरो भित्र अजंग भएर बसेको कुईभिर पहाडबाट दजनौ हिमालका दृश्य, सूर्योदय, नेपाल र भारतका अनेकौ क्षेत्र आँखै अगाडी देखिन्छ ।

यहिबाट पूर्वी नेपालकै प्रमुख पर्यटकीय गन्तब्य सन्दकपुर पदयात्रा गरिने भएकाले कुईभिर अजंगको भीर पहाड नभई घुमफिरको उत्कृट गन्तब्यस्थल हो । कुइभिर पहाडको इलामतिर कुहिरोले छोप्ने र पाँचथरतिर कुहिरोले नछोप्ने हुँदा दुई जिल्लाको सीमाना कुहिरोबाटै छुट्टिन्छ ।
गुफाथुम्की डाँडा
परापुर्वकालमा बौद्धमार्गी भिक्षुहरुले डाडामा बसेर साधना लिने गरेको अग्लो डाडाँ गुफाथुम्की देउमाई नगरपालिकाको वडा ३ मा पर्दछ । बौद्धमार्गी भिक्षुहरुले डाडामा बसेर साधना लिने गरेकाले डाँडाको नामाकरण गरिएको किम्बदन्ती छ ।

बौद्धमार्गीहरुले बिक्रम सम्बत १९८० सम्म आफनो साधना केन्द्र गुफाथुम्कीलाई बनाएको अध्ययनबाट पाईन्छ । डाडाको बिचमा रहेको घुमाउने पोखरीको छालले चरन क्षेत्रमा पुगेका गाईबस्तु डुपेपछि घना जंगल मासेर पोखरी पुरिएको कथन छ ।

इलामका प्रायः भूभाग देख्न सकिने गुफाथुम्की डाडालाबाट सूर्योदय , सूर्यास्त र दर्जनौ हिमालका दृश्य देखिन्छ । गुफाथुम्किको यात्रा देउमाई नगरपालिकाको मुख्य प्रशासनिक कार्यालयबाट आधा घण्टाको पैदल यात्रा पुग्न सकिन्छ ।
पानीटार
पानिटार पूर्वी नेपालकै ‘ग्रिन कार्पेट’ अर्थात हरियो चियाले ढाकिएको एक महत्वपूणस्थल हो । पूर्वी नेपाललाई चिया क्षेत्र घोषणापछि खेती बिस्तार गर्न सरकारले प्राविधिक सेवा प्रदान गर्न रोपिएको चिया बगान नै अहिले देशि विदेशिको रोजाईमा परेको छ ।

साढे ४ सय रोपनी क्षेत्रफलमा फैलिएको पानीटारमा अहिले राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले नमुना चिया प्रसोधनस्थलसँगै नेपाली चियाको इतिहास, प्रजाती, प्रविधि र स्वादमा रमाउन सक्ने पूर्वाधारको विकास गरिरहेको छ ।

नागबेली बाटोमा प्रेमलाप गर्दै स्वर्गीय आनन्द लिने पूर्वकै गन्तव्यको रुपमा पानीटारलाई प्रकृतिले दिएको उपहार भन्दा फरक पर्दैन ।
सिद्धिथुम्का चुली
समुद्री सतहबाट १७ सय मीटर उचाइमा फैलिएको सिद्धिथुम्का चुली सूर्योदय र सूर्यास्तको दृश्यवलोकन गर्ने पूर्वी नेपालकै सु–प्रसिद्ध स्थल हो । जिम्बु, हिगुवा जातका बनस्पतिमा रमाउदै मोती झै टल्कने दर्शन ढुंगा र तराईका फाटसंगै अग्ला हिम श्रृंखलाहरु देखिँदा सिद्धिथुम्का चुली पर्यटन लोभ्याउने क्षेत्र हो ।

सिद्धिथुम्का चुलीबाट इलामका अधिकांश स्थान, छिमेकी जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर मात्र हैन भारतको दार्जिलिङ्ग, सिलिगुडि एवं करसाङ्गका शहरहरुको दृश्य पनि हेर्न सकिन्छ । यहाँबाट सर्वोच्च शिखर सगरमाथा सहित तेश्रो अग्लो शिखर कञ्चनजंघाको पनि दृश्यावलोकन गर्न सकिन्छ ।
अजम्बरे डाँडा
डाँडामा अजम्बरी बुटि पाइने गरेका कारण यसलाई अजम्बरे डाँडा भनिएको किम्बदन्ति छ ।

सूर्योदय , सूर्यास्तको दृश्य हिम श्रृङखला र तराईका नागबेली आकारका मनोरम दृश्य हेर्नका लागि अजम्बरे डाँडा उपयुक्त गन्तव्य हो । खासगरि अजम्बरे डाँडा उत्कृष्ट सूर्यास्तको दृश्य देखिने गन्तव्यस्थल हो ।
झ्याउ पोखरी
देउमाई ८ र ९ को संगमस्थलमा अवस्थित झ्याउ पोखरी पश्चिमि क्षेत्रकै ठूलो सिमसार क्षेत्र रहेको थियो ।

जलवायु परिवर्तनका कारण पानीको सतह घटेपनि हाल सरक्षण र बिकासको काम गरि झ्याउपोखरीलाई पर्यटकको गन्तब्यस्थल बनाउन जनप्रतिनिधि छन् । झ्याउ पोखरीलाई स्थानीय र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणले गति लिएको छ ।
पङखेलुङ्ग झरना
पङखेलुङ्ग खोलामा रहेको पङ्खेलुङ झरना देउमाई नगरपालिकाको अर्को पर्यटकीय गन्तव्य हो ।

पङ्खेलुङ झरना काली दह र चङ्गलङ्ग पहराका नाममा पनि प्रशिद्ध छ । जंगलको बिचमा अवस्थित ५० मिटर अग्लो झरनामा रमाउनेहरुको संख्या पनि बढ्दै गएको छ ।
धार्मीक तथा सांस्कृतिक सम्पदा
देउमाई नगरपालिकामा बिभिन्न धार्मीक मठमन्दिरहरु रहेका छन् । जसले धार्मीक सहिसुणता कायम राखेको छ । वडा नम्बर ५ मा रहेको नागेश्वरी धाम,फाल्गुनन्दले स्थापना गरेको शिवालय मन्दिर, तपस्यास्थल खत्रक्पा, किरातेश्वर ध्यान केन्द्र, लेचुम्बा डाडाँ र फुलुङगी डाडाँ यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरु हुन् ।नगरपालिकाको वडा नम्बर ६ मा राधाकृष्ण र सिंहदेवी मन्दिर अवस्थित भने मंगलबारे बजार छेउमा लक्ष्मी नारायण मन्दिर रहेको छ । देउमाई नगरपालिका १ को कुईभीर क्षेत्रमा पर्ने उर्गेन सांगछयोलिङ गुम्बा बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । यस्तै त्रिवेणी चोकमा स्याङदोपल्दिप बौद्ध गुम्बा र अति पुरानो साङगेछयोलिङ गुम्बा रहेका छन् । पानीटार नजिकै साङ्ग्ये छयोलिङ गुम्बामा रहेको छ ।
शिखरबाबा धाम
वडा नम्बर ४ मा रहेको प्रसिद्ध शिखरबाबा धाम देउमाई नगरपालिकाको एक धार्मिकस्थल हो । २०६१ साल भदौ १ मा शिखरबाबामा अलौकीक शक्ति प्राप्त भइ शक्तिपिठ उत्पन्न भएको बिश्वासमा हालसम्म २३ लाख बढी भक्तजनहरुले दर्शन गरिसकेका छन् ।यहाँ प्राकृतिक चिकित्सा पदतीबाट शिखरबाबाले बिभिन्न रोगको उपचार समेत गराउदै आउनु भएको छ । वडा नम्बर ८ र नौ को संगममा ढोल बोकेको आकृतिको ढोलेदेवि मन्दिर रहेको छ ।
जटेश्वर महादेव मन्दिर
वडा नम्बर ५ को सिंगलप्पामा रहेको जटेश्वर महादेव मन्दिर धार्मीक तथा पर्यटकीय गन्तब्य हो । देउमाई खोलाको चाचले घाटसंगै खोलाकिनारमा निर्माण गरिएको जटेश्वर मन्दिरमा पाठपूजा गर्दा मनोकांक्षा पुरा हुने विश्वास छ ।
सिद्धिदेवी
सिद्धिदेवीमा पुजाआजा गरि गाईको दुध चढाउनाले गाउँमा पानी र अन्न कहिल्यै अभाव नहुनका साथै पशुधनको दिर्घायु हुने जनविश्वास छ । सिद्धिदेवी मन्दिर शिव र पावर्तीका रुपमा पारुहाँङ्ग र सुम्निमा बसेकाले सबैको कल्याण हुने किराँत धर्मावलम्विको विश्वास रहेको छ ।
फाल्गुनन्द माङहीम
वडा नम्बर ९ मा राष्ट्रिय विभुति फाल्गुनन्दले स्थापना गरेको माङहीम पर्दछ । राष्ट्रिय विभुति फाल्गुनन्दले वि.सं. १९९४ मा फलामे चिम्टा गाडेर माङहीम स्थापना गरेका थिए । माङहीममा फल्गुनन्दले प्रयोग गरेका झ्याम्टा, एकतारे, डमरु, भरुवा बन्दुक, चौरीको चम्मर संरक्षण गरिएको छ । फाल्गुनन्दले नै स्थापना गरेका शिवालय मन्दिर, तपस्यास्थल खत्रक्पा, किरातेश्वर ध्यान केन्द्र, लेचुम्बा डाडाँ र फुलुङगी डाडाँ यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरु हुन् ।
गजुरमुखी धाम

गजुरमुखि धामको दर्शन गर्ने भक्तजनको यात्रा देउमाई नगरपालिकाकाबाट तय गर्ने भएकाले यहाँ धार्मिक पर्यटन प्रवद्र्धन हुँदै आएको छ । माङ्सेबुङ्ग गाउँपालिका वडा नम्बर १ मा पर्ने गजुरमुखि धामको यात्रा देउमाई नगरपालिकाबाट हुँदै आएको छ । मनोकाक्षा पुरा हुने बिश्वासका साथ गजुरमुखी जाने भक्तजन बढ्दै गएका छन् ।
खान्द्रुङ्ग गुफा
ढाडजस्तो देखिने खान्द्रङ्ग गुफाको भित्र ठुलठुला ओडार र सुरुङ्गहरु रहेका छन् । तीन तलामा रहेको गुफा भित्र ढिकि, जाँतो, धुपौरो, नाग, चरा, हात्ति र बाघको पाइला कुदिएको देख्न सकिन्छ ।

गुफाभित्र गाईको पाइला, धामी झाक्रिको ढ्याङग्रो र गजोका आकर्षक आकृति छन् । नेपाली भाषामा शिव पार्वती, किराँती भाषामा पारुहाङ्ग सुम्नीमा र युमा थेवा मगर भाषामा झाक्री झक्र्यानी नामले झाँक्रि गुफा परिचित छ । गुफा माथिको डाँडामा नाच्ने, गाउँने, तन्त्रमन्त्र जप्ने, चिन्ता बस्ने भएकाले गुफाको नाम झाक्री गुफा राखिएको हो । यस्तै मेची राजमार्गको नजिकै सिवधाम गुफा रहेकाले संरक्षण र प्रचारका काम भइरहेका छन् । गुफाभित्र चमेरा र चराचुरुङ्गिहरुको बासस्थान रहेकाले चराविज्ञहरु अध्ययनका लागि पुग्ने गरेका छन ।
रत्न सुरुङ्ग
रत्न सुरुङ्ग गुफा राजनितिक इतिहाससँगै जोडिएको छ । देउमाई नगरपालिका १ मा अवस्थित रत्न सुरुङको नाता नेपालको राजनितिक आन्दोलन र परिर्वतनसँग जोडिएको छ । सहिद रत्नकुमार वान्तवाकै नेतृत्वमा २०३५ सालको साउन महिनामा खनिएको थियो । २२ मिटर लामो सुरुङभित्र १० जना मानिस बसेर बैठक संचालन गर्न सक्ने योजना सहिद बान्तवाको थियो ।

तत्कालिन पंचायती सरकारबाट लुकेर आफ्ना राजनीतिक गतिविधि संचालन गर्न यो सुरुङ निर्माणको मुख्य उदेश्य हो । भूमीगत रुपमा आफना गतिविधि संचालन गर्न सहिद वान्तबाकै हातले निर्माण गरेको यो सुरुङ ऐतिहासीक तथा सहिद भुमीलाई अहिले संरक्षण र पर्यटकीय प्रवद्र्धनका काम शुरु भएका छन् । रत्नबम स्मृति प्रतिष्ठानले अहिले रत्नको घरको संरक्षण गरि संग्राहालय, सहिदको शालिक, पुस्तकालय लगायतका संरचना निर्माण गरिएको छ ।
रोपाँई जात्रा
रोपाँई जात्रा देउमाई नगरपालिको मौलीक संस्कृति हो । देउमाई नगरपालिकाको केन्द्र मंगलबारे बजारमा कृष्णअष्टमीको अघिल्लो बुधबार मनाइने रोपाईजात्रा विषेशगरी नेवारी संस्कृतिबाट सुरू भएको मानिन्छ ।

सबै जातजाती एकै ठाउँ मिलेर मनाउने रोपाईजात्रा मंगलबारेमा २०१७ सालबाट शुरु भएको हो । हालको भानुभक्त माध्यमिक विद्यालयले आयश्रोत संकलन गर्ने र मनोरञ्जन दिने उदेश्यका साथ रोपाईजात्रा थालिएको इतिहास छ । जात्रामा धान रोप्दा गरिने सबै कृयाकलापलाई अभिनय र नाचगानको शैलीमा मनाइन्छ ।
जातीय संस्कृति
देउमाई नगरपालिका जातजातीका मौलिक परम्परा, रीतिरिवाज र संस्कृतिको संगमस्थल हो । नौमति, पंचेबाजा, मारुनी, साकेला, उद्यौली, उभौली, चण्डीनाच, केलाङ्ग नाच, ढोल नाच, धाननाच वालन, संगीनी हुर्रा नाँच, डम्फु सेलो, तामाङ्ग सेलो नाच यहाँका सास्कृतिका धरोहर हुन् ।

जनजातिको मौलिक परम्परा, रीतिरिवाज र धर्म संस्कृतिले देउमाई नगरपालिका पर्यटनको सास्कृतिक ग्राम बन्दै गएको छ ।
लोपउन्मुख जिवजन्तु
देउमाई नगरपालिकाको कुईभीर वरपरका जंगलमा पाईने लोपउन्मुख बन्यजन्तु रेडपाण्डा, पुतलि, चराचुरुङ्गीले बिश्व भरका पर्यटक र बन्यजन्तुकर्मीको मन तानेको छ ।

रेडपाण्डाको अध्ययन अनुसन्धानका लागि यहा बन्यजन्तुविद्हरु आउने गरेका छन् । यहा बिभिन्न प्रजातीका चराचुरुङ्गी र पुतलीहरु समेत पाईने गरिएको छ ।
कृषि उपज, पशुपालन र जडीबुटी
यस क्षेत्रमा आलु मकै धान, अलैँची अम्लिसो अकबरे,सागसब्जीको व्यवसायीक खेती हुँदै आएको छ । यस क्षेत्रमा पुग्ने पर्यटकले स्थानीय उत्पादनको स्वाद चाखेर रमाउने गरेका छन् । यो नगरपालिका चिया क्षेत्रमा पनि निक्कै अगाडी रहेको छ ।

स्थानीय किसानले जमिन खाली नराखी बाली र बोट बिरुवा लगाएका छन् । यहाका किसानले दुधबाट ठूलो आम्दानी लिने गरेका छन् । गाउ गाउमा संचालन भएका डेरी उद्योगले किसानलाई दुध उत्पादनमा थप सहयोग मिलेको छ ।

यस नगरमा जिम्बु, हिगुवा, पाखनवेत, चिराईतो ओखे आलु मजिटो जातका औषधीजन्य जडीबुटी पाईन्छ ।
खत्रक्पा
खत्रक्पा देउमाई नगरपालिका ९ र माई नगरपालिका १ को सीमा क्षेत्रमा अवस्थित छ । किराँत धर्मगुरु तथा राष्ट्रिय विभुति फाल्गुनन्दको ध्यान केन्द्र रहेको खत्रक्पा धार्मिक आस्थाको केन्द्र हो ।

इलामका माई र देउमाई खोलाको संगमस्थल रहेको फुलुङ्गिसँगै रहेको माहागुरु फाल्गुनन्दको ध्यान केन्द्र रहेको खत्रपा धार्मिक तथा पर्यटकीय क्षेत्र हो । खत्रपा र फुलुङ्गिलाई धार्मिक तथा पर्यटकीय क्षेत्र विकास गर्न प्रदेश सरकारले अग्रसरता देखाएको छ ।
देउमाई नगरपालिकाको यात्रा
पूर्व पश्चिम राजमार्गमा पर्ने झापाको चारआलिबाट ७५ किलोमिटर उकालिएपलिएपछि इलाम सदरमुकाम पुगिन्छ । इलाम सदरमुकामबाट मेचीराजमार्ग समातेर १८ किलोमिटर यात्रापछि पुगिने नेपालटारबाट पश्चिमतर्फ मोडिनुपर्छ । देउमाई नगरपालिकाको केन्द्र रहेको मंगलबारे १२ किलोमिटर यात्रापछि पुगिन्छ ।

देउमाई नगरपालिका यात्रा लागि झापाको बिर्तामोड स्थित मोक्तिचोकबाट इलामको माई नगरपालिका दानाबारी हुँदै देउमाई नगरपालिकाको जितपुर, सिद्धिथुम्का पर्यटन क्षेत्र, गाग्रेभञ्ज्याङ्ग मंगलबारे बजारसम्मको यात्रा गर्न सहज छ । ५९ किलोमिटर यात्रापछि पुगिने मुक्तिचौँक गाग्रेभञ्ज्याङ्ग सडकलाई देउमाई नगरपालिकाले पर्यटकीय मार्गका रुपमा विकास गर्दै आएको छ ।