सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकाले २० किलोमिटर लामो सडकको विस्तृत परियोजना अध्ययन गर्ने काम सम्पन्न गरेको छ । गाउँपालिका वडा नम्बर ३ स्थित बिक्रिबाट सन्दकपुर ५ स्थित जौबारी जोड्ने सडकको डिपिआर गर्ने काम सम्पन्न भएको हो ।
पिरामिड टेक्निकल प्रालिले बिक्रि सानीमाई, कृष्णभिर माईखोला जमुनाहुँदै जौबारी जोड्ने सडकको डिपिआर गरि डिपिआरको काम सम्पन्न गरिएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । इञ्जिनियर मनोज अधिकारी, प्रदिप थापा, किसन अधिकारी, अच्युत कटुवाल, रकज अग्रवालको टोलीले सडकको विस्तृत परियोजना अध्ययनको काम सम्पन्न गरेको हो ।
टोलीले भाद्र १३ गतेदेखि अशोज ४ गतेसम्म स्थलगत अध्ययन गरि काम सम्पन्न गरेको छ । सर्भे अनुसार सडकको क्षेत्राधिकार ३० मिटर रहने र त्यसमध्ये ७ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख छ । सडकको एक दशमलव २ मिटर सडक ड्रेन रहनेछ । सडक कालोपत्रेका लागि एक अरब १७ करोड ५८ लाख रुपैयाँ लागत खर्च लाग्नेछ । जस अनुसार प्रतिकिलोमिटर ६ करोड ६८लाख रुपैयाँ सडक कालोपत्रे गर्दा खर्च हुनेछ ।
सन्दकपुर गाउँपालिकाको रणनैतिक सडको रुपमा हेरिएको सडक प्रदेश र संघीय सरकारको सहयोगमा कालोपत्रे गर्ने गरि डिपिआरको काम गरिएको गाउँपालिकाका अध्यक्ष उदय बहादूर राईले बताउनुभयो । डिपिआर निर्माणको टोलीले आज एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष उदयबहादूर राई, उपाध्यक्ष शोभा पराजुली र वडाध्यक्षको उपस्थितिमा तयार गरिएको डिपिआरको बारेमा जानकारी गराउनुका साथै हस्तान्तरण गरको थियो ।