फिक्कल । भगवान कृष्ण जन्मदिन अर्थात श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदा दिन श्रीकृष्ण प्रमाणी परिषदले माग गरेको छ । सुर्योदय नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै परिषदले आगामी भाद्र ६ गतेको कृष्ण जन्माष्टीको दिन विदा दिन माग गरेको हो । कार्यवाहक नगरप्रमुख दुर्गादेवी भट्टराईलाई ज्ञापनपत्र बुझाउदै नेपालको संविधानले व्यवस्था गरे अनुसार सनातन देखी चल्दै धर्म संस्कृतिको संरक्षण गर्नका लागी पनि विदा आवश्यक रहेको परिषदले जनाएको छ ।
परिषदका जिल्ला अध्यक्ष शेखर भट्टराई र सचिव राजकुमार दहालको हस्ताक्षर रहेको ज्ञापनपत्रमा स्थानिय सरकारकाे हैसियतले मुख्यमन्त्री र संघिय सरकारसँग बिदाकाे लागी बिशेष पहल गरिदिन आग्रह गरिएको छ । गत बर्षसम्म सरकारले विदा दिँदै आएकोमा यस बर्षदेखी कृष्णाजन्माष्टमीको विदा कटौती गरेको थियो । सोही अनुसार परिषदले गत साउन ३० गते प्रदेश नं एकका मुख्यमन्त्री शेरधन र आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशभरी विदाको माग गरेको थियो ।
परिषदले प्रदेश नं एकका सबै स्थानिय तहमा ज्ञापनपत्र बुझाएर विदाको माग गर्ने जनाएको छ । कृष्ण प्रणामी युवा परिषद प्रदेश नं एकका सचिव खगेन्द्र बास्तोलाले श्रीकृष्णा जन्माष्टमीको दिन विदा कटौतीले हिन्दु धर्माम्वलम्बीहरुमाथी उपेक्षा गरिएको महसुुस भएको बताए । श्रीकृष्णा जन्माष्टीको दिन हिन्दु धर्मावलम्बीहरु दिनभरी उपवास बसेर श्रीकृष्णको पुजा आरधान गर्दै आएका छन् ।