Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सात वर्षमा पनि बनेन ५ सय ५० मिटर लामो माइखोला पुल

सात वर्षमा पनि बनेन ५ सय ५० मिटर लामो माइखोला पुल

  • नमीन ढकाल 
  • बुधबार, साउन ८ २०७६


सात वर्षमा पनि बनेन ५ सय ५० मिटर लामो माइखोला पुल

माई । वारीपटी पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र र पारीपट्टी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र। दुवैलाई जोडने ५ सय ५० मिटर लामो माइखोला पुल अझै पूर्ण रूपमा निर्माण हुन सकेको छैन। ५ वर्षमा सक्ने गरी २०६९ असार २६ गते सूर्य इलाइट जेभी र सडक विभाग पुल महाशाखा अन्तर्गतको तत्कालीन पुल योजना पूर्वी क्षेत्र सेक्टर नं १ धरानबीच २५ करोड ७१ लाख ७३ हजार ५ सय ६६ रुपैयाँको लागत सम्झौता भएको थियो। सम्झौताअनुसार पुलको निर्माण कार्य २०७४ असार मै सम्पन्न हुनुपर्ने थियो।
भूकम्प र नाकाबन्दीका कारण म्याद १ वर्ष थपियो, तर तोकिएको समयमा समेत पुल निर्माण पूर्ण रूपमा सम्पन्न भएन्। ११ बटा पिलर रहेको पुलको १० बटा पिलरमा स्ल्याब हालिए पनि बर्खाको कारण एउटामा रड मात्र बुनिएको माई नगरपालिका–८ का अध्यक्ष रामप्रसाद सदेम्बा बताउँछन्।
झापाको विर्तामोड हुँदै किरातीको धार्मिक आस्थाको केन्द्र माङसेवुङको लारुम्बा जोडने सडक चलनचल्तीको बाटो हो। तर माइखोलाको पुल निर्माणले पूर्णता नपाउँदा बर्खाको ४ महिना खोला तरेर गाडी चढनुपर्ने बाध्यता अझै हटेको छैन। ‘पुलबाटै सिंडी लगाए मान्छे वारपार चाही गर्छन्। तर, पूरा सम्पन्न नभएकोले गाडी चल्दैन’ वडाध्यक्ष सदेम्बाले भने। बर्खाको समय भएकाले पुलको केही मेसिनहरू खोला पार गराउन नसक्दा अहिले कामले गति नलिएको सदेम्बाको भनाई छ।
केही वर्षअघि पुलको मुख नजिकै बाटो निर्माणको विवाद अहिले समाधान भएको छ। ‘बाटोको समस्या छलफलबाट समाधान गर्‍यौँ। बारम्बार मेसिन बिग्रने र बर्खाको भेलावाडीले यो वर्षदेखि संचालनमा आउन सकेन। अर्को वर्ष चाहीँ पक्कै पुलबाट गाडी गुडाउन सकिएला की ?’ सदेम्बाले भने। सोही बाटो हुँदै पूर्वसांसद एवं आदिवासी जनजाति नेता नगेन्द्रकुमार कुमाल मूल घर जाने गर्छन्। पुल निर्माणस्थलबाट करिव ५ सय मिटर पर उनको मूल घर छ।
डुंगाको सास्ती अझै यथावत
मानिस पुलबाट हिँडेर खोला पार गरे पनि डुंगाको सास्ती भने अझै सकिएको छैन। माइखोला पारीको महमाई र लारुम्बा क्षेत्रमा दैनिक जसो खाद्यान झापाबाटै आयात गर्नुपर्ने हुन्छ। खोलामा पानी बढ्न थालेपछि मालबाहक तथा यात्रुबाहक कुनै पनि सवारी साधनहरू चल्न सक्दैनन्। मानिसहरू पुरानो काठको डुंगा प्रयोग गरेर सामान खोला पारी पुर्‍याउने गर्छन्। स्थानीय चन्द्र तामाङ भन्छन् ‘अहिले मान्छे चाही डुंगाबाट तर्नुपदैन तर खाद्यान भने डुंगाबाटै पारी लग्छौँ।’


स्थानीय पर्शुराम बास्तोलाले डुंगा संचालन गर्छन्। ठूला परिमाणमा झापबाट सामान आएपछि उनी खोलामा झर्छन् र सामानलाई पारी तारिदिन्छन्। गत वर्षसम्म मानिस पुरानो डुंगामा नै खोला तर्ने गर्थे। पुल निर्माण भएको स्थानबाट करिब २ सय मिटर नजिकै ३ वर्षअघि ९२०७३ असोज २८० गते खचाखच मानिस बोकेको डुंगा पल्टदा ६ वर्षीय जुम्ल्याहासहित ८ जनाले अकालमा ज्यान गुमाए। दशैँको टीका लगाएर फर्किएकाहरू खोलामा बगे। ज्यान गुमाउनेमध्ये चारजना महमाइकै बासिन्दा थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार