काठमाडौँ । मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारहरुले शनिबार देशभर प्रदर्शन गरेका छन् । विधेयकमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गरेको भन्दै नेपाल पत्रकार महासंघ, प्रदेश समिति र जिल्ला शाखाका अगुवाइमा मुलुकभर प्रदर्शन गरिएको हो । काठमाडौंमा भने अपराह्न ३ बजे बबरमहलमा हातेमालो प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा पत्रकार महासंघका पदाधिकारी, पूर्वअध्यक्ष, सदस्य र विभिन्न सञ्चार संस्थामा आवद्ध सञ्चारकर्मीहरु सहभागी थिए।
सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधान राखिएको भन्दै त्यस सच्याउनु पर्ने मागसहित पत्रकार महासंघले आन्दोलन गरिरहेको छ। महिना दिनको आन्दोलनबाट पनि सरकारले विधेयक सच्च्याउने तप्परता नदेखाएको भन्दै महासंघ अर्को चरणको आन्दोलनमा जाने तयारीमा छ।
बबरमहलको हातेमालो प्रदर्शन सुरु हुनुअघि सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले चाँडै बैठक बसेर तेस्रो चरणको आन्दोलन घोषणा गर्ने जानकारी दिए। उनले आफूहरुको आन्दोलन कुनै विचारधारा विरुद्ध, सरकार ढाल्नमा केन्द्रित नरहेको स्पष्ट पार्दै प्रेस स्वतन्त्रताको लागि भएको बताए।
अध्यक्ष आचार्यले संसद्मा पेस भएको मिडिया काउन्सिल विधेयक हुबहु पास भएमा पत्रकार महासंघ र सञ्चार क्षेत्रले अस्वीकार गरी महासंघले नै अलग्गै आचारसंहिता बनाउने चेतावनी दिए।
विरोध कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरु सुरेश आचार्य, धर्मेन्द्र झा, कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्ले, बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतिक प्रधान, देश सञ्चारका प्रधान सम्पादक युवराज घिमिरे लगायतले सम्बोधन गरेका थिए।