Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

खुदुनाबारीमा फाल्गुनन्दको शालिक अनावरण गरिने

खुदुनाबारीमा फाल्गुनन्दको शालिक अनावरण गरिने

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख २२ २०७६


खुदुनाबारीमा फाल्गुनन्दको शालिक अनावरण गरिने

झापा : झापाको खुदुनाबारी चौकमा निर्माण गरिएको किरात महागुरु फाल्गुनन्दको शालिक मंगलबार अनावरण गरिने भएको छ ।शालिक निर्माण उपभोक्ता समितिले आइतबार पत्रकार सम्मेलन गरी महागुरुको ८९औँ समाज सुधार दिवसको अवसर पारेर शालिक अनावरण गर्न लागिएको जानकारी दिएको छ ।अर्जुनधारा नगरपालिकाको २ र ३ नम्बरको सीमामा पर्ने खुदुनाबारी चौकमा समितिले साडे सात फिट अग्लो महागुरु फाल्गुनन्दको शालिक राखिसकेको छ । १६औँ राष्ट्रिय विभूति समेत रहेका महागुरु फाल्गुनन्दको शालिक एक समारोहका बीच किरात गुरु आत्मानन्द लिङदेन र प्रदेश नम्बर १ का प्रमुख प्राडा गोविन्द तम्याहाङले अनावरण गर्ने कार्यक्रम रहेको समितिका सचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।झापा सितापुरीका मूर्तिकार भक्त राईले एउटै ढुंगाबाट तयार पारेको उक्त शालिक ६ फिट गोलाइमा १५ फिटको उचाइको रहने बताइएको छ । मूर्ति निर्माणका लागि अर्जुनधारा नगरपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेको समितिका अध्यक्ष महेन्द्रकुमार आङदेम्वेले बताए । उक्त मूर्तिको तौल ६ क्वीन्टल रहेको छ ।
उक्त शालिकको एक कार्यक्रमका बीच खुदुनाबारीमा करिब तीन वर्षअघि स्थानीय ज्येष्ठ नागरिक धर्मलाल लिङदेन र हर्कनारायण श्रेष्ठले शिलान्यास गरेका थिए ।संविधानसभा सदस्य प्रेम गिरीले आफू प्रतिनिधि सभा सदस्य रहेकै बेला साविक खुदुनाबारी गाविसले पनि महागुरु फाल्गुनन्दको शालिक निर्माण गर्ने योजना बनाएको बताए ।जब नेपाली भाषी भूटानी शरणार्थीहरु खुदुनाबारीको कैदले जंगलमा आएर बसोबास गरी किरात धर्मको संरक्षण सम्वद्र्धनमा लागे तबदेखि गैरकिरात धर्मावलम्बी जागरुक भएको उनको भनाइ छ ।सांस्कृतिक विविधता भएको शरणार्थी समुदायमा किरात धर्मको उत्थान गर्न जुटेपछि ०५१ सालमा धुपबत्ती बालेर ‘मिङ्सो माङहिम’मा पूजापाठ हुन थालेको विगत सुनाउँदै उनले त्यही कार्यबाट किरात धर्ममा परिवर्तन आएको अनुभव सुनाए ।
०५९ सालमा भूटानी शरणार्थीका साथमा स्थानीय जुटेपछि ‘मिङ्सो माङहिम’ निर्माण भएको जानकारी दिँदै उनले त्यहाँबाट दिव्य प्राप्त भइ गैरकिरात पनि आकर्षित भएको बताए ।किरात धार्मिक स्थलको रुपमा विकसित भइरहेको त्यस अवस्थामा माङसेबुङलाई लक्षित गरी खुदुनाबारीबाटै ‘सर्किट’ बनाउन सुरु गरेपछि महागुरु फाल्गुनन्दको शालिक स्थापना गर्ने अवधारणा अघि बढेको उनले सुनाए ।नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यले नगरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लैजाने रणनीतिलाई महागुरु फाल्गुनन्दको शालिकले थप मद्दत पु¥याएको बताइन् ।
यस क्षेत्रमा धार्मिक पर्यटनका निम्ति विभिन्न योजना सञ्चालन भइरहेको बताउँदै उनले स्थानीयले गरेको कार्यको प्रशंसा गरिन् । खुदुनाबारी क्षेत्रमै फाल्गुनन्द मार्ग, फाल्गुनन्द स्मृति पोखरी र फाल्गुनन्द शान्ति वन वाटिका निर्माण भइरहेका छन् ।करिब १२ लाख ७५ हजारको लागतमा शालिक स्थापना गर्न सकिने अनुमान गरिएको कार्यक्रममा झापा, इलाम, पाँचथरलगायतका किरात धर्मावलम्वीहरुको सहभागिता रहने बताइएको छ ।समितिका अध्यक्ष महेन्द्रकुमार आङदेम्वे, ३ नम्बर वडाध्यक्ष जीवन भण्डारी, स्थानीय अगुवा नरेन्द्र इङनाम, पूर्व जनप्रतिनिधि नरबहादुर कन्दङालगायतले बोलेका थिए ।महागुरु फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २२ गते इलाममा जन्म भएको थियो भने प्रत्येक कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाइने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार