Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

अतिसङ्कटापन्न सुचिमा रहेका गिद्ध संरक्षणको पर्खाइमा (भिडियो र तस्विर सहित)

अतिसङ्कटापन्न सुचिमा रहेका गिद्ध संरक्षणको पर्खाइमा (भिडियो र तस्विर सहित)

  • सुजन तिमसिना
  • शनिबार, चैत्र ३० २०७५


अतिसङ्कटापन्न सुचिमा रहेका गिद्ध संरक्षणको पर्खाइमा (भिडियो र तस्विर सहित)

सन्दकपुर । इलामका जंगलमा अतिसङ्कटापन्न सुचिमा परेका गिद्ध पाइने भएपनि संरक्षणको नहुँदा संकटमा परेका छन् । खुल्ला सीमाका कारण गिद्धको बासस्थान रहेका जंगल फडानी हुँदा संरक्षणको सुचिमा रहेको गिद्ध मृत अवस्थामा भेटिएका छन् । सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सिमा एक वर्ष अघि ८ गिद्ध मृत भेटिए ।
हुल बाँधेर उड्ने गिद्ध मर्नुको कारण हिस्रक जंगलि जनावरको आतंक रोक्न औषधिसँगै राखिएको सिनो थियो । चेतनाको अभावमा जंगलि जनावर चितुवा, बदेल र स्याल मार्न पशुको सिनोमा औषधि लगाएर जंगल छेउमा राख्ने गरेकाले त्यहि सिनो गिद्धले खाँदा मृत अवस्थामा भेटिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताउनुभयो । गिद्ध गरेको देखेपछि गाउँपालिकाले सबै वडा मार्फत औषधि प्रयोग गरेको सिनो नफ्याक्न आग्रह गरेपश्चात मृतक गिद्ध नदेखिएपनि कम मात्रामा भेटिने गरेको राईले जानकारी दिए ।
भारततिर संरक्षण क्षेत्र रहेको इलामको सीमा क्षेत्रमा नेपाली वन मासिएर गएसँगै गिद्ध बेलाबखत मात्रै देखिने गरेको छ । विश्वमा संकटापन्न अवस्थामा रहेको गिद्ध संरक्षणका लागि सरकारी पहल नहुँदा कसरी संरक्षण गर्ने भन्ने बारे योजना बनाउन नसकिएको सदकपुर १ का अध्यक्ष नन्द राईले बताउनुभयो ।

१० वर्ष अघिसम्म प्रशस्त मात्रमा भेटिने गिद्ध हराउँदै गएको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादूर राईले बताउनुभयो । राई भन्नुभयो– इलामका उत्तरी क्षेत्रमा पहिले प्रशस्त मात्रैमा देखिएपनि अहिले कमै मात्र भेटिन्छ । लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको बासस्थान रहेको क्षेत्रमै गिद्धको बासस्थान प्रशस्त भेटिएपनि अहिले कम मात्रामा देखिने गरेको संरक्षणकर्मी धनबहादूर खाम्दाकले बताउनुभयो । खाम्दाकले भन्नुभयो– जंगल तिब्र फडानीले बासस्थान नासिनु, प्रतिबन्धित औषधि डाइक्लोफेनेकको पशुहरुमा अझै प्रयोग हुनु र गिद्धको महत्वबारे स्थानीयस्तरमा जनचेतना नहुँदा बासस्थानसँगै गिद्ध मासिँदै गएको हो ।


इलामको सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको २५ सय मिटर माथि गिद्ध बेलाबेला देखा पर्ने गरेको छ । बेलाबेला देखिने गिद्धको बासस्थान, खानपान र संरक्षण बारे अहिलेसम्म कुनै कार्यक्रम इलाममा भएका छैनन् । नेपालमा सानो खैरो, डंगर, लामो ठँुडे, सुन गिद्ध र सेतो गिद्ध पाइने गरेपनि इलाममा पाइने गिद्ध कुन प्रजातीको बारे यकिन समेत भएको छैन । प्रकृतिको कुचिकारको उपमा पाएको गिद्ध संरक्षणका लागि राष्ट्रिय निकुञ्ज नभएको जिल्लामा जिल्ला वन कार्यालयलाई संरक्षणको जिम्मा दिएपनि बार्षिक कार्यक्रम नभएको डिभिजन वन कार्यालय इलामका प्रमुख श्रीप्रसाद बरालले बताउनुभयो । बरालको अनुसार पछिल्लो १० वर्षमा गिद्धको संख्या अत्याधिक कम भएको छ । गिद्ध नासिने मुख्य कारण डाइक्लोफेनेक औषधी प्रयोग भएको पशुहरुको सिनो खाने मुख्य कारण रहेको बरालको भनाइ छ । वहाँले भन्नुभयो सरकारले डाइक्लोफेनेकको प्रयोगमा रोक लगाएपनि खुल्ला सीमानाका कारण किसानले प्रयोग गर्ने गरेको पाइएकाले पनि गिद्धको संख्यामा कमी आएको डिभिजन वन कार्यालयलले जनाएको छ ।

डिभिजन वन कार्यालयमा संरक्षण सम्बन्धि कार्यक्रम नभएपनि स्थानीय तह र संरक्षणकर्मीसँग मिलेर चेतनामुलक काम गर्ने प्रमुख श्रीप्रसाद बरालले बताउनुभयो ।  संरक्षणकर्मीका अनुसार नेपालमा लाखौंको संख्यामा पाइने गिद्ध आज केही हजारमा सीमित छन् । नेपालमा सन् २००२ देखि २०१० सम्मको अध्ययन अनुसार गिद्धको संख्या अप्राकृतिक रूपमा घटेकोले अन्तराष्ट्रिय प्रकृति संरक्षण संघले नेपालमा पाइने सानो खैरो, डंगर, लामो ठँुडे र सुन गिद्धलाई अतिसङ्कटापन्न र सेतो गिद्धलाई सङ्कटापन्न सूचीमा सूचीकृत गरेको छ ।
अतिसङ्ककटापन्न प्रजाति आउने १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार