सन्दकपुर । तिब्र वन फडानीका कारण लोपउन्मुख वन्यजन्तुको बासस्थान मासिएपछि इलामको उत्तरी क्षेत्रको वनलाई संरक्षित क्षेत्र बनाउने भएको छ । वन फडानी र चोरी शिकारीबाट लोपउन्मुख वन्यजन्तु रेडपाण्डको तस्करी बढेपछि गाउँपालिकाकै अगुवाइमा संरक्षित बनाउने कामको थालनी भएको हो । लोपउन्मुख वन्यजन्तु रेडपाण्डा, थार, चरिबाघ र सयौँ प्रजातीका चराको बासस्थान रहेको उत्तरी इलामको राष्ट्रिय वनलाई संरक्षित क्षेत्र बनाउन काम शुरु भएको छ । सन्दकपुर गाउँपालिका ५ को पिप्लेदेखि २ को बिखेभञ्ज्याङ्गसम्मको क्षेत्रलाई संरक्षित क्षेत्र बनाउन समुदाय, जनप्रतिनिधि, संरक्षणकर्मी र वन कार्यालययले थालनी गरेका हुन् । प्रशासनको उपस्थिति नहुँदा वन फडानीसँगै वन्यजन्तुकै चोरि तस्करी बढेपछि गाउँपालिकाकै अगुवाईमा संरक्षित क्षेत्र बनाउने कामको थालनी भएको अध्यक्ष उदयबहादूर राईले बताए । ३६ प्रजातीका गुराँसका बोट रहेको जंगलको तिब्र फडानी भएपछि संरक्षणको अवधारणा वनाउन गाउँपालिकाले डिभिजन वन कार्यालयलाई एकवर्ष अघि जिम्मा दिएको थियो । वन संरक्षण योजना लागि स्थलगत सर्भे,तथ्याङ्क संकलन गर्ने काम सकिएकाले सामुदायीक वन गठनपछि संक्षणको काम समुदायमा जिम्मा दिने डिभिजन वन कार्यालय इलामका प्रमुख श्रीप्रसाद बरालले बताए ।
भारतसँगको खुल्ला सीमानाका कारण काठ तस्करी गर्न सजिलो हुँदा जंगल फडानीले सो क्षेत्रमा वन्यजन्तुको बासस्थान मासिँदै आएको थियो । वन्यजन्तुको बासस्थान मासिँदा यस वर्ष मात्रै २ वटा लोपउन्मुख जन्तु रेडपाण्डा मृत भेटिएका थिए । भारतसँग सीमा जोडिएको वन क्षेत्रमा पसेर काठ कटान गरि भारतका व्यपारीक क्षेत्रमा निकासी गर्दै गर्ने क्रम बढेपछि सामुदायीक वन निर्माण गरि संरक्षित क्षेत्र बनाउने अवधारणा अघि सारिएको सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादूर राईले जानकारी दिए । लालपुर्जा नभएको जंगलमा पसेर पुर्खाको किपट भन्दैवन मास्ने काममा संलग्नलाई सामुदायीक वन बनाउने सर्तमा एक पटक कानुनी कारबाही नगरिएको अध्यक्ष राईको भनाइ छ ।
रेडपाण्डाको बासस्थान रहेको जंगलमा पसेर रुख काट्ने क्रम नरोकिए कानुनी कारबाही गर्ने र सामुदायीक वन गठन पछि कार्ययोजना अनुसार काम गर्ने सहमतिमा २ वटा सामुदायीक वन गठनको काम अन्तिम चरणमा पनि पुगेको छ । स्थानीय समुदायकै संलग्नतामा धनिपुर्जा बाहिरको घना जंगल संरक्षणसँगै खुल्ला क्षेत्रमा वृक्षारोपणको काम अघि बढ्ने सन्दकपुर सव डिभिजन कार्यालयका प्रमुख सुसिल मण्डलले बताए ।
सन्दकपुर गाउँपालिकाको अगुवाइमा पद्भसम्भव र लालिगुराँस सामुदायीक वन गठन गरि संरक्षित क्षेत्र बनाउने काम भइरहेको हो । इलामको सबैभन्दा अग्लोे तीन हजार ६ सय ३६ मिटर उचाईमा रहेको पर्यटकीय क्षेत्र सन्दकपुर समेत रहेको सो क्षेत्रमा लालिगुराँसको वनसँगै तीन दर्जन बढी सिमसार क्षेत्र रहेका छन् । इलामको माई नदीको मुहान समेत रहेको सो क्षेत्रमा लोपउन्मुख वन्यजन्तु र चराचुरुङ्गिको बसोबास रहेकाले प्राथमिकताका साथ संरक्षणको योजना आगामि आर्थिक वर्षदेखि शुरु गरिने गाउँपालिकाका अध्यक्ष उदयबहादूर राईले बताए ।