फिक्कल । मेचीराजमार्गको सडक क्षेत्राधिकार कायम आज १२ बजेबाट सुर्योदय नगरपालिकाले थाल्ने तयारी गरेको छ । नगरपालिकाले पाल्टांगेदेखी भालुखोपसम्मको सडक दाँयाबाँया साढे ७ मिटर कायम गर्ने काम थाल्ने भएको हो । सूर्योदय नगरपालिका भौतिक पुर्वाधार विकास समितीका संयोजक एवम वडा नं ३ का अध्यक्ष होम कार्कीले कुनै पनि हालतमा सडक क्षेत्राधिकारको कार्य नरोकिने बताए । नगरको बृहतर विकासका साथै पर्यटकीय नगरीको रुपमा अघि बढेकाले स्थानियको आग्रह अनुसार साढे ७ मिटरमा सहमती अनुसार अघि बढेको बताउँदै उनले नगरले पटक पटक सुचना प्रकाशन गर्दा पनि स्थानीयले अटेर गरेपछि आजबाट काम तिव्र रुपमा अघि बढने बताए ।
उनले पक्की संरचना भत्काउन समय लाग्ने भए केहि समय दिने बताए । नक्सा दोहोरो भएको स्थानियको जग्गा नगरसभाबाट निर्णय गरेर प्रदेशसभा र क्याविनेटमा पठाएर समाधान गरिने कार्कीले बताए । सडक क्षेत्राधिकार कायम गराउने समितीका संयोजक शिबकुमार बस्नेतले अदालतले अन्तरिम जारी गरे देखि बाहेकको ठाउँमा घर टहरा आजबाटै भत्काउन थाल्ने बताए ।
स्थानिय क्षेत्र विकासमा सहयोग गर्न नगरप्रमुखको आग्रह
नगर प्रमुख रण बहादुर राईले स्थानीय ठाउँको बिकास भएकाले सबैलाई सहयोग गर्न आग्रह गर्नु भएको छ । साढे सात मिटर सडक बिस्तार गर्दा त्यति धेरै असर नपर्ने भन्दै उनले पर्यटर्कीय क्षेत्रको बिकास भएकाले सबै मिलेर अगाडी बढ्नु पर्ने बताए । लोकल सन्देशसंग कुरा गर्दै वडाध्यक्ष पेमा उगेन लामाले वडा नम्बर १० को संयोजनमा संरचना भत्काउनु अघि बजारबासी र उपभोक्ता संग छलफल गर्न लागेको बताए । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार नगरले सडक क्षेत्रअधिकार कार्यम गर्न लागेको जनाएको छ । यस अघि उच्च अदालत बिराटनगर इलाम इजालसले सूर्योदय नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गर्दै १५ गते छलफलमा बोलाएको छ ।
स्थानीय किरण प्रधानको माग बमोजीम अदालतले साविक फिक्कल गाउँ बिकास समिति १ क को कित्ता नम्बर ६३२ र कित्ता नम्बर ६३४ को जग्गा र सो जग्गामा बनेको घर लगायतका निर्मित संरचनामा कुनै असर पर्ने गरी भत्काईने बिर्गाने कार्य नगर्नु नगराउनु भनी नगरपालिकाका नाममा आदेश दिएको थियो।
यता नगरपालिकाको निर्णयको विरोधमा नगरबासीहरुले स्वस्फुतः रुपमा फिक्कल बजार बन्दको घोषणा गरेका छन । बजारका पसलहरु छिटपुट रुपमा मात्र खुलेका छन । नगरले बजार क्षेत्रमा भत्काउन सुरु गरे जुनसुकै कदम चाल्न सक्ने युवाहरुले चुनौती दिएका छन ।