साङरुम्बा । बैदेशिक रोजागरीका लागी मलेसियामा रहेका नेपालीहरुले इलाम नगरपालिका–१२ साङरुम्बा गौरी गाँउका आगलागी पिडित जीतबहादुर नेम्वाङलाई सहयोग प्रदान गरेका छन । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत साङरुम्बाका नारायण राई, दिपेश कार्की, कविन शेर्मा, प्रेम नेम्वाङ, भुपिन राई, दिनेश साँवा, नेत्रप्रसाद घिमिरे, र झरेन्द्र चौहान सहित अन्य जिल्लाका २३ जनाबाट समेत संकलन गरेको २ हजार ८ सय ३९ मलेसियन रिंगेट (करिव ७८ हजार ९०१ नेपाली रुपैया) मलेसियामा कार्यरत रही हाल विदामा आएका सेसेहाङ लिङदम मार्फत वडाध्यक्ष लाखमान लिम्बुले नेम्वाङ परिवारलाई हस्तान्तरण गरेका छन ।
गत पौष १५ गते सोमबार विहान ९ बजे घरमा कोही नभएको अवस्थामा विद्युत सर्ट भइ नेम्वाङको घरमा नगद, जिन्सी, लत्ताकपडा, भाँडाकुडाँ गरी २० लाख बराबरको क्षति भएको थियो । घटनाबाट उनको ३ तले घर पुर्ण रुपमा नष्ट भएको वडाध्यक्ष लिम्बुले बताए । त्यसैगरी पिडित नेम्वाङलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इनपा–१२ प्रस्तावित वडा कमिटी सदस्यहरुले समेत १० हजार ७ सय रुपैया सहयोग प्रदान गरेका थिए । बाँकी अझै केही सदस्यहरुबाट दोश्रो चरणमा संकलन गरी हस्तान्तरण गरिने मंगलसिंह लिम्बुले बताए ।