ताप्लेजुङ। ताप्लेजुङमा मङ्गलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सदरमुकाम फुङ्लिङस्थित हेलिप्याडमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार इलामको देउमाई नगरपालिका–१ चमैता घर भई हाल सिँचाइ डिभिजन कार्यालय ताप्लेजुङमा सामाजिक परिचालक पदमा कार्यरत २७ वर्षीया सिर्जना गुरुङ र याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २४ वर्षीय अमिर बर्देवाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाका अनुसार हेलिप्याडस्थित रेडियो तमोरको स्टेशन नजिक भित्री सडकबाट करिव १० मिटर जति तल मेची राजमार्गको नालीमा मोटरसाइकल बजारिँदा गम्भीर घाइते बन्नुभएकी गुरुङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा परी मोटरसाइकलका चालक ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २४ वर्षीय अमिर बर्देवाको उपचारको क्रममा लैजादै गर्दा मृत्यु भएको हो । घाइते बर्देवाको ताप्लेजुङमा उपचार सम्भव नहुने भएपछि थप उचारका लागि जिल्ला बाहिर रेफर गरिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको थियो । बर्देवा फुङ्लिङको तोक्मेडाँडामा सञ्चालित अमिर डान्स सेन्टरका प्रोपाइटर समेत हुनुहुन्छ । गुरुङ र बर्देवा सवार बा २१ प ५६२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।