चुलाचुली । इलामको दक्षिणि गाउँपालिका चुलाचुलीको उजाड चुरे क्षेत्रमा रहेका सिमसार र पोखरीहरु संरक्षण शुरु गरिएको छ । झापासँग सीमा जोडिएको चुरे क्षेत्रको जंगल चोरी तस्करीले मासिएसँगै पानीका मुहान र सीमसार पुरिने क्रम बढेपछि संरक्षणको काम शुरु भएको हो । स्थानीय तहको चुनावपछि गाउँपालिकामा जनप्रतिनिधिको नेतृत्व आएपछि चुरेको जंगलको संरक्षणसँगै पानीका मुहान र सिमसार संरक्षण शुरु गरिएको चुलाचुली गाउँ कार्यालपालिकाका सदस्य नरेन्द्र लावतीले बताउनुभयो । जंगल मासिएपछि चुरेको कमजोर भु–भाग वर्षातमा बाढी पहिरोले सीमसार पुरिनथालेपछि सरक्षण थालिएको हो ।
सीमसार र पोखरीहरुको प्राकृतिक स्वरुप नबिगारि संरक्षण गर्नका लागि गाउँपालिका भरिका सिमसार क्षेत्रको वृस्तित अध्ययन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेका छन् । आर्थिक वर्ष २०७४÷०७५ देखिनै सिमसार क्षेत्रको डिपिआरको काम जिम्मा दिइएको र वृस्तित प्रतिवेदन आउने क्रम जारि रहेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनुभयो । गाउँपालिकाको तिनकुने, सिवओरक, साम्बाङ्ग सहित ७ वटा बढी सिमसार संरक्षणका लागि वृस्तित सर्भे शुरु अन्तिम चरणमा पुगेको हो ।
पानीको महुानसँगै पर्यटन, वन्यजन्तु र चराचुरुङ्गिको संरक्षणका गर्ने उदेश्यले विस्तृत सर्भे गरिएको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताउनुभयो । गाउँपालिका क्षेत्रका पोखरीहरुलाई संरक्षणमा स्थानीय समुदायले प्राकृतिक बाँध बाधेर संरक्षण गर्दै आएका थिए । समुदायको प्रयासलाई पुर्णता दिन गाउँपालिकाले वृस्तित सर्भे गरि लगानी गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले जानकारी दिनुभयो । चुरेको संरक्षणको काम गर्दै आएको राष्ट्रपति चुरे कार्याक्रम र गाउँपालिकाको गरि चालु आर्थिक वर्षमा सिमसार र पोखरी संरक्षण गर्नका लागि ७० लाख रुपैँया खर्च हुनेछ ।
चालु आर्थिक वर्षको बजेटबाट पोखरीहरुको प्राकृतिक छेकबार लगाउने, मुहान संरक्षण गर्ने र वृक्षारोपणको कार्यक्रम रहेको छ । चुरे क्षेत्रको संरक्षण गर्न चुलाचुली गाउँपालिकामा राष्ट्रिपति चुरे कार्यक्रममा एक करोड ९३ लाख बजेट विनियोजन भएको छ । उक्त कार्यक्रमबाट ३५ लाख र गाउँपालिकाले ३५ लाख गरि पोखरीहरुको संरक्षण कार्याक्रम गरिने गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताउनुभयो । चुरेको बहुमुल्य रुख सखुवाको फडानीले गर्दा भु–क्षय भई पोखरी र पानीको मुहान पुरिँदा बस्तिमा खानेपानीकै अभाव भएकाले प्राथमिकताका साथ संरक्षणको कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ । पोखरी संरक्षण गर्दा कंक्रिट संरचनाको काम प्रयोग गर्ने योजना रहेको छ ।
वन फाडानी चुरेमा भु–क्षय हुँदा मानिसले खान प्रयोग गर्ने पानीको मुहान मासिएकाले संरक्षण योजना आएपछि पानिको समस्या हट्ने चुलाचुली वडा नम्बर ३ का पुष्पराज आङ्दम्बेले बताउनुभयो । उनी भन्छन्–‘पुरिएका पोखरीहरु पुनः निर्माण भएपछि टनाटन पानी भएसँगै पोखरी मुनिका सुकेका मुहानमा पनि पानि देखिन थालेको छ ।’ पोखरीहरुको संरक्षण भएपछि गाईबस्तु र मानिसलाई खानेपानीको समस्या हटेको चुलाचुली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष नरेन्द्र लावतीले बताउनुभयो । चुलाचुलीमा सिमसार पोखरी संरक्षणका लागि आयुसिएन, मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समिति, डिभिजन वन कार्यालय जस्ता सरकारी तथा गैरसरकारी संस्थाले समेत चेतनामुलक काम गर्दै आएका छन् ।