Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

हरिबहादूर तमाङ्ग : जो सडकको चिसो बासदेखि महलसम्म

हरिबहादूर तमाङ्ग : जो सडकको चिसो बासदेखि महलसम्म

  • सुजन तिमसिना
  • मंगलबार, माघ २९ २०७५


हरिबहादूर तमाङ्ग : जो सडकको चिसो बासदेखि महलसम्म

फिक्कल ।  उदयपुरको विकट गाँउ खोक्लिङमामा जन्मिएका हरिबहादुर तामाङको परिवार सामान्य थियो । बाबा उदयपुर गढीमा जागिरे भएकाले खान लगाउन खासै समस्या थिएन । तर १८ बर्षको उरान्ठाउलो उमेरमा आफै कमाउँछु पर्देश लाग्ने भन्दै बाबुबाट झोक्किएर घर छाडे । २०३४ सालमा गाउँकै स्कुल पढ्दाको साथी थेवे लामाको लहैलहैमा खाली हात, खालि खुट्टा र खालि झोला लिएर तामाङ्ग झरे तराईतिर ।
तामाङ्ग सम्झन्छन्, उ बेला लहानदेखी धरानसम्म ५ रुपैयाँमा पुगिन्थ्यो, गोजिमा छामेको २५ पैशा मात्रै रहेछ ।’ भुटान र सिक्किममा गाउँका केहि युवा काममा जाने सुेनेकाले आफुपनि त्यतै लागेको थिएँ, तामाङ्गले भने । घरमा दूई वटा शिरकमा लुटुपुटु गरेर सुत्ने मान्छे छाडेर हिडेपछि पहिलो रातनै धानको कुनिहुमा (धान झारेपछि राखेको) बित्यो । मंसिरको महिनामा घर छोड्दा बाटोमा कतै धान काट्ने त कतै झार्ने काम भइरहेको थियो ।
आफुलाई भने गाउँबाट भुटान गएर फर्केकका युवाले घर आएर गनेको पैशापट्टि नै ध्यान थियो । तामाङ्ग भन्छन्– भुटान पुग्न त काँकरभिट्टा पुग्नुपर्ने तर खल्तिमा पैसो नभएपछि साथि र म बाटोमा पर्ने पारोको कुनिउमा झाकयौ, रात उनले चिसोमै कटाइयो । उसबेला उदरपुरबाट गाडि चढ्न लाहान निस्कनैपथ्र्यो । लाहानबाट गाडि पाइने भएकाले घर छोडेको भोलिपोल्टदेखि बाटोमा मजदुरी काम गर्दै केहि पैशा जम्मा गर्दै खाँदै हिड्न थाल्यौँ । तामाङ्ग भन्छन्–‘कति रात बोरा ओडेर खुल्ला आकासमा सुतेको पत्तै छैन । त्यतिबेला खेतीपाति धेरै हुने भएकाले बाटोबाटै धान काट्ने कुट्ने र पराल बोक्दै हिड्ने गरेको उनी सम्झन्छन् । दिनभर काम गर्दा दिनको ३ रुपैया कमिन्थ्यो । तामाङ्ग भन्छन्– खल्तिमा सुको नभएपछि बाटोमा जे काम भेट्यो त्यही गर्दै पेट भर्यो अनि अर्को ठाउँ सर्यो ।
दमक आइपुग्न पाँच महिना
तामाङ्ग घरबाट हिडेका ५ महिनापछि मात्रै झापाको दमक आइपुगे । उ बेला लाहानदेखि दमकको भाडा ९ रुपैयाँ थियो । खल्तिमा पैशा नभएपसछि तामाङ्गलाई बाटोमा काम गर्दै, खाँदै र हिड्दैगर्नुपर्ने बाध्यता थियो । दिनभर काम गरो खान बस्न खर्च हुने घरबाट निस्केपछि एकमुष्ठ ९ रुपैयाँ जम्मा नै भएन । तामाङ्ग भन्छन्—‘ कहिले सडक त कहिले बाटोमा भेटिएका घरका आगनमा र कहिले सिकुवामा सुत्दै बस्दै दमकसम्म आइपुग्न झन्डै ५ महिनाभन्दा बढी समय लाग्यो ।

२०३४ साल असोजमा घर छाडेर हिडेका उनी फागुनमा दमक पुगे, काँकरभिट्टा पुग्न अझै ४० किलोमिटर बाँकी नै छ । अहिलेको बडेमानको सहर भएको दमक उबेलामा ८÷ १० वटा मात्रै घर रहेको अनुभव सुनाउँछन्, तामाङ्ग । काकँडभिट्टा पुग्न ३ रुपैयाँ भए पुग्थ्यो तर, खल्ति रित्तै । अनि तामाङ्गको दैनिकि शुरु भयो राजमार्ग छेउमका घरमा धानको दाई गदै, जौ काट्दै अलिअलि कमाउने योजनाका साथ । पूर्व पश्चिम राजमार्गको पुर्व फर्के हरेक घरमा काम गर्दै काकडभिट्टा हुँदै भुटानसम्म जाने योजनाका साथ हिँडे । पुराना पलहरु सम्झदै हरिबहादुर भन्छन् ‘कयौ रात बोरो ओडेर २५ पैसाको चना र कोकिस खाएर सडकमै सुतियो । तामाङ्ग भन्छन्,—‘कति रात त भोकै पनि सुतियो, धान काट्दा कति पटक हात नै काट्यो ।
पानिट्याङ्किबाट सिधै भुटान
राजमार्गमा अलिअलि घिस्रदै, काम गर्दै २२ दिनमा काँकरभिट्टा पुगे हरिबहादूर तामाङ्ग । काँकरभिट्टाको सानो बजारमा अलमल नगरि उनी सीमापारि हानिएर पानीटंयाकी पुगेका मात्रै थिए, एक व्यत्तिले सोध्यो । ए बहादुर, कहाँ जाने हो । तत्काल उत्तर फर्काए, कमाउन हिडेको । कमाउन हिँडेको भनेपछि भुटानको फुन्चिलिङमा राम्रो काम पाइन्छ भने अनि त्यतै लाग्यो ।’ हरिबहादुर सम्झन्छन , भुटानको ग्रेप कम्पनीमा ढलाईको चुरी बुन्ने, शक्तिमान ट्रकमा बालुवा लोड गर्ने काम पाए ।
मासिक रुपमा १ सय ५० रुपैयाँ दिने गरेको थियो । ठन्डा ठाँउ भएकाले मुस्किलले काम गर्नुपर्ने थियो । लुगामै बढी खर्च हुन्थ्यो उनको । ‘फुन्चिलिङमा जाडो चाही सारै, उनी भन्छन्—‘रासनमा ६० रुपैया खर्च हुन्थ्यो तर लुगामै बढी खर्च हुने बैदारसंग तलब आउनु अगावै पैसा लिनुपर्ने त्यो पनि सय कडा २० रुपैयाँ । उसबेला भुटानमा भारतीय रुपैयाँ चल्तिमा थियो ।
कमाएको पैसा व्याज तिर्दा तिर्दै सकिन्थ्यो ।’ चिसो भुटानमा काम गर्न नसकेपछि उनी साथीसंगै भागेर भारतको आसाम पुगे । आसम पुगेपछि पनि उनलाई सहज भने थिएन । जंगलमा रात विताउनुपर्ने जंगली जनावारको आक्रमण गर्ने भएकाले ६ महिना त सुत्नै सकिएन । चितुवा र बाघ कराएर घार्घुर गर्छ, छाप्रामा सुत्नुपर्ने, बिना निद्रा वत्यो । पिप्ला र रातो च्याउ टिपेर नै ज्यान पाल्ने काम भयो । तामाङ्ग भन्छन्—‘जंगलमा बसेको हुनाले औलो ज्वरोले भेटेपछि पुनः भुटान पुगे तर लामो समय त्यहाँ काम गर्न नसकेपछि भागेर जिप चढेर सिलिगुडी हुँदै पुन : काकडभिट्टा आइपुग्दा तामाङ्गको गोजीमा एक सुक्को पनि रहेन ।
फर्केर होटलमा काम
काकरिभिट्टा फर्केपछि पेट पाल्नकै लागी भए पनि होटलमा काम गर्न थाले । उनी भन्छन् ‘मासिक २० रुपैया दिने भनेपछि काम गर्न थालियो । ३ बर्ष वित्यो १ रुपैया पनि पाइएन भात मात्र खाइयो । लेखाजोखा नै भएन कति बच्यो भन्ने ।
घर छाडेपछि नेपाल बाहिर भुटान र भारतका विभिन्न स्थानमा मात्र ३ बर्ष बिताइसक्दा तामाङ्गको हातमा सुको जमेन ।
होटल साहुले पैशा नदिएपछि होटल छाड्यो फेरि सडकमै पुगियो । होटल पनि छोड्यो पापि पेट पाल्नेपर्यो, उनी भन्छन्—‘ अनि नेपाल आउने लाहुरेहरुको भारी बोकेर गुजारा गर्न थाले ।’ दैनिक कमाएको पैसाले खान मात्र पुग्ने भएकाले कयौ रात प्यरापिट र बोराभित्र बित्न थाल्यो तामाङ्गको रात । सस्तो मुल्यमा पाउने फाटा कम्पनीको लुगा लगाउँथे ।
पोका बोकेर केही नहुने देखेपछि साथीसंग मिलेर अनारस काटने काम गर्न थाले । भारतबाट अनारस ल्याएर बाटोमा बेच्न थाले संगसंगै मकै समेत पोलेर गुजारा गर्न थाले ।
फेरि होटलमा काम
सडकको गुजारा देखेपछि काकरभिट्टा स्थित एक होटलकी साहुनीले काम बोलाईन् । तामाङ्ग भन्छन्–‘होटलको सिता दिदिले बोलाउनुभयो, डराउँदै डराउँदै गए कामका लागी रहेछ ।’ होटलमा उनी मासिक ३० रुपैयाँ पाउने गरी काममा लागे । काम सुरु गरेको २ महिना नवित्दै उनले मासिक १ सय रुपैयाँ पाउन थालेको थिए । १ बर्षपछि तलब बढेर २ सय रुपैयाँ पुग्यो । तामाङ्गले होटलमा भाडाँ माझने, बढारकुडार मात्र होइन हिसाब किताब पनि राखिदिने गरेका थिए ।
होटलमा खाना खान आउने बैंकले कर्मचारीले माया गरेर ५÷१० रुपैँया पनि दिने गरेका थिए । ‘बैंकबाट सर आउनुहुन्थ्यो माया गरेर ५÷१० रुपैया दिनुहुन्थ्यो नलिँदा पनि गाली गर्नुहून्थ्यो’ । तामाङ्ग भन्छन्–‘टिप्सबाट कमाएको पैसा खुत्रुकेका जम्मा गरेका थिए । तर एक दिन पैसा चोरीभएपछि उनी निक्कै दुःखी भएँ ।
नागरिकता बिनै बैंकमा खाता
बैकमा पैशा जम्मा गर्नका लागी नागरिकता नभएपछि उनलाई निक्कै समस्या भयो । बैंकका मेनेजरले बुझेर आफ्नै जिम्मेवारीमा १०५ रुपैयाँमा खाता खोलिदिएपछि तामाङ्गको पैशा हराउन छोड्यो । मेनेजरको सरुवा भएपछि बैंक खाताको आधारमा नै नेपाली नागरिकता तामाङ्गले बनाए । दुःख गरेका आधारमा कारण तत्कालिन पञ्च÷गन्यमान्य व्यक्तिहरुले मिलाएर २०४५ सालमा नागरिकता सर्जिमिन गरिदिए । तर नागरिकता लिन भने उनले कष्ट नै भोग्नुपर्यो । प्रमुख जिल्ला अधिकारीले बारम्बार शंकाको दृष्टिले हेर्दै सिफारिस दिएपछि ३ महिनामा नेपाली नागरिकको प्रमाण प्राप्त भयो ।
जम्मा गरेको पैशाबाट रिक्सा
सिता होटलबाट आएको पैसा बैंकमा जम्मा गर्दै २ वटा रिक्सा समेत खरिद गरेर अरुलाई कुदाउन दिए तामाङ्गले । रिक्सा किनेको केहि महिनादेखि होटलको काम छाडेर आफै रिक्सा कुदाउन सुरु उनले । सुरुवातमा कुदाउँदै गर्दा अरु रिक्सालाई ठक्कर दिएर गाली समेत खानुपर्यो । तामाङ्ग भन्छन्–‘रिक्सा सिक्दै गर्दा अरुलाई ठोकियो गाली समेत गरे गल्ती आफ्नै थियो चुपै लागेर बसे’ ।
एक जना विहारी वृद्धले रिक्सा कुदाउन सिकाइदिएपछि उनले होटलमा काम छोडेर पुर्ण रुपमा रिक्सा चालक भएर नै जिविकोपार्जन गर्न थालेका थिए । बिहान बेलुकिको चामल चै सिता होटलमा नै खान्थे ।
फेरिएका दिन
काँकरभिट्टाको सडकमा रात विताएका दिनदेखि होटलमा भाँडा माझ्दै गरेको मेहनतले तामाङ्ग रिक्सा मालिक भए । नेपालको काँकरभिट्टादेखि भारतको पानिट्याङ्किसम्म यात्रुलाई गुडाउने रिक्सा कुदाउन थालेपछि आम्दानी राम्रो भयो । तामाङ्ग भन्छन्–‘ २ वटा रिक्सा चलाउन शुरु गरेको २ वर्षमा ८÷९ वटा रिक्सा समेत जोडे । ‘नेपाल तर्फ रिक्सा युनियन नभएपछि नेपाली रिक्साचालकहरु भारतको भारतिय कम्युनिष्ट पार्टीको युनियनमा आवद्ध हुनुपथ्र्यो’ उनी भन्छन्‘ भारतीय युनियनले पानिट्याङ्कि चौकी छेउमा लगेर पैसा उठायो अनि नेताहरुले खायो गर्दा रहेछन् ।’
रिक्सा युनियनकै नेता
कुरो २०४५ साल तिरको हो । रिक्सा युनियनमा भएको बेथिती चिर्न तामाङ्गले रिक्सा कुदाउने मध्येबाट नेता बनाउनुपर्छ भनेर आवाज उठाए । सवै रिक्साबाला भेला भएर एउटा मञ्च खडा गरेर रिक्सा युनियन घोषणा गरे । ‘एक जना बंगाली आएर भन्यो ए खोने रिक्साबाला कोषअध्यक्ष हरिबहादुर तामाङ हो बे’ भन्दै तामाङ्ग युनियनको कोषाध्यक्ष घोषणा गरियो । तमाङ्ग भन्छन्–‘५ सय बढी रिक्सा चालकहरुको माझमा कोष अध्यक्ष हुनुपर्छ भनेपछि बाध्य भएर पद सम्हाले, तर त्यो सबै भारतपट्टी थियो ।, कोषाध्यक्ष भएपछि ६ महिनाभित्रै उनले पानीटयांकी भारतमा अफिस समेत बनाए । खाता अध्यक्ष सचिव र कोषाध्यक्षको नाममा राख्नुपर्नेमा सवैले विश्वास गरेर उनलाई नै जिम्मा लगाए । दैनिक जसो रिक्साबालाले २० रुपैयाँ जम्मा गर्नुप¥थ्यो ।
बहुदलपछिको तमाङ्गको यात्रा
२०४६ सालमा बहुदल आएपछि पुलिसको ज्यादतीका कारण बाध्य भएर नेपाल तर्फै स्वतन्त्र मजदुर युनियन बनाउनुपर्ने अवस्था आयो । ‘आफनै देश विरुद्ध नाराबाजी गर्नुपर्ने भयो सारै नरमाइलो लाग्यो अनि नेपाल तर्फ भएका ५० रिक्सालाई समेटेर युनियन बढायौ ।’ उसबेला भारत तर्फबाट समेत लोभ नदेखाएको होइन मेची पुलमा बन्द नै गरेको थियो । भारतको संगठन छाडेर नेपालको बनाउँदा धेरै लोभ देखाएपनि राष्ट्रियताका कारण आफ्नो मुलुकमाथी गदारी गर्न मन नलागेको तामाङ्ग बताउँछन् ।
२ बर्षसम्म संघर्षपछि भारतको ४५० मध्ये ५० रिक्सा नेपाल तर्फ आउन पाउने र दैनिक १ रुपैयाँ नेपाललाई बुझाउने तर नेपाली रिक्सा भने भारत तर्फ जाँदा बुझाउन नपर्ने सर्तमा विवाद अन्त्य भयो । नेपाल तर्फ संगठन बनाएपछि आफनै नम्बर हालेर रिक्सा चलाउन थाले । भारत तर्फकाले आफ्नो पार्टीलाई रिर्पोट गर्दा ‘नेपालको संगठन बलियो छ, उसलाई चलाउन हुँदैन भन्ने रिपोट गर्थे’ हरिबहादुले भने ।
रिक्सा मजदुरको नेतृत्व गर्दै गर्दा तितो यर्थाथ समेत भोगे तमाङ्गले । एक दिन एक जना बुढी आमै रिक्साबाट खसेर घाइते भएपछि उनले रिक्साबालालाई प्रहरी लगेर आफै बुझाए । ति बृद्धाको मृत्युपछि रिक्साबालालाई जेल हाल्न माग समेत गरिएको थियो उनी सम्झन्छन ‘चौतारो बनाइदिन्छौ भन्दा समेत मानेनन् अनि हामीले हडताल गरिदियौ । अन्त्यमा प्रमुख जिल्ला अधिकारी र प्रहरीको रोहबरमा बार्ता भएपछि २ हजार भारुमा सम्झना स्वरुप चौतारो बनाइदियौ ।’
आफ्नैले भत्कायो छाप्रो
ऐलानी जमिनमा छाप्रो हालेर रिक्साबाला साथिहरुसँग समेत बसेका थिए, हरिबहादूर तमाङ्ग । ३५÷३६ बर्षको लक्का जवान भइसकेका तामाङ्गले विवाह समेत गरेका थिएनन् । मनमोहन अधिकारीको सरकार भएको बेला रिक्साबालाहरुमा ब्रजपता आइप¥यो । सरकारी जग्गा भएको कारण सबैको घर भत्काइयो । मेची नगरपालिकामा गठन भएको, मेयर थिए रविन कोइराला । नेकपा एमालेका पार्टी पार्टीको पूर्णकालिन सदस्य समेत रेहका तमाङ्ग सहितको छाप्रो भत्किएपछि रामचन्द्र उप्रेती, रविन कोइराला र श्रीप्रसाद मैनालीले हरिलाई हिडन दिनु हुँदैन यो हिड्यो भने रिक्सा संघ टुट्छ भनेर फकाउन खोजे । बस्ती विकासबाट ५ धुर पास गराइदिएर पार्टीबाट घर बनाइदिन्छौ भने तर हरिबहादूरले आफ्नो मात्रै घर बन्ने भएपछि सबैलाई बनाउने भए बस्छु नत्र बस्दिन भन्ने अड्डि कसे ।
विरत्तिएको यात्रा
बस्ने छाप्रोनै भत्किएपछि मन खिन्न भयो । भएका आफ्नो नामका सबै रिक्सा रिक्सा सचिव र उपाध्यक्षलाई जिम्मा लगाएर खालि हिडडुल गर्ने मात्रै गर्थे उनी । तामाङ्ग भन्छन्–‘कहिले कटारी, कहिले धनकुटा पुगे तर नाम मात्रै सुनेको इलामको फिक्कल आएपछि मन शान्त भयो । रिक्सा बनाउने गणेश मजुम्दारसंग झन्डै ३ महिना फिक्कलमा नै घुमे । फिक्कल बजार मनपरेपछि ५ हजार मूल्यको पसल २४ हजारमा खरिद गरेर व्यापार सुरु गरे । ६ हजार सुरुवातमा नै नगद दिएपछि अरु पैसा रिक्साबाट आएको आम्दानी संकलन गरेर तिरे ।
‘सुरुवातमा राजनिती खासै थाहा थिएन कम्युनिष्टको राजनिती मनपरेपछि एमाले भए । पछि त्यही एमाले सरकाले विस्थापित गरायो ।’ दुखी हुँदै उनले सुनाए ‘टहरा डाङडुङ भत्काएपछि भएका सामान राख्ने केही नभएपछि भाडाकुडा सवै एक बैनीलाई दिए’। इलाममा होटल चलाएपनि आफ्नो रिक्सा बिक्रि गरेनन् ।
२०६० साल फागुनमा रिक्सा मजदुरको केन्द्रिय सदस्य समेत भए । त्यसअघि पनि मौका पाएपनि अरुले नै इच्छा देखाएपछि छाडिदिएका थिए । ६÷६ महिनामा बैठक बस्नुपर्ने भएपछि ४ बर्षपछि तत्कालिन अध्यक्ष सलबहादुुर खडकालाई राजिनामा दिएर राजनितिबाट तिलाञ्जली लिए ।
४० कटेपछि घरजम
२०५१ साल भदौबाट पसल थालेका तामाङ्गले २०५३ सालमा फिक्कलमै घरजम गरे । कट्टेलकी छोरीसंग अन्तरजातिय विवाह गरेपछि उनलाई होटल चलाउन झनै सहज भयो । अहिले उनका ३ छोरी छन् ।
पहिले सडक अहिले महलमा
तामाङ्गले पसल गरेर नै सूर्योदय नगरपालिकाको नयाँ चोकमा घर जोडेका छन् । झापामा ४ स्थान र अन्य जिल्लामा गरि ८ वटा भिटा समेत जोडेका छन् । देश विदेशका अनुभव बटुलेका हरिबहादुर भन्छन्– ‘सिलोङ पुगे, जुराठ पुगे, कोइलाखानीमा समेत काम गरे निक्कै संर्घष गरेर यो ठाँउमा आइपुगको हुँ । सिलोङका घरमा उसबेला त २÷४ जना नेपाली केटालाई काम गर्ने राखेका रहेछन् । महिलाहरुले बच्चा जन्माउने बाहेक सबै काम पुरुषलाई लगाउँदा रहेछन् । हाम्रो समाज हेरर त दुःख रहेछ ।’ उनी भन्छन्–‘ जिन्दगी कहिले सडकमा, कहिले महलमा, अहिले राम्रो छ ।,

प्रतिक्रिया
सम्बन्धित समाचार