विराटचोकः मोरङको सुन्दरहरैंचाका स्थानीयले ट्रिफरको ज्यादती बढेको र मानिस मर्ने क्रम नरोकिएको भन्दै आज ६ वटा ट्रिफरमा आगो लगाएका छन् । विराटचोक–विराटनगर सडक खण्डमा विराटचोकभन्दा २ किलोमिटर तल पुलचोकमा आज बिहान ट्रिफरले ठक्कर दिँदा स्थानीय ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो । ढकालको मृत्युपछि आक्रोशित स्थानीयले ठक्कर दिने ट्रिफरसहित हालसम्म ६ वटा ट्रिफरमा आगो लगाइसकेका छन् ।
आगो नियन्त्रण गर्न गएका दमकललाई पनि स्थानीयले अवरोध गर्नाले आगो नियन्त्रणमा आउन नसकेको स्थानीयले बताए । घटनास्थलमा प्रहरी परिचालन भए पनि आक्रोशित हजारौं स्थानीयका अगाडि प्रहरी निरीह भएको स्थानीयले बताए । सो सडकमा ट्रिफरले धेरै जनाको ज्यान लिएको हुनाले ट्रिफर सञ्चालनमा रोक लगाउन स्थानीयले बारम्बार अनुरोध गर्दै आएका छन् । घटनाको बारेमा थप जानकारी आउन बाँकी छ ।
प्रशासनले लगाएको कर्फयुको अवज्ञा गर्दै सुन्दरहरैंचावासीको सडकमै धर्ना
ढकालको मृत्युपछि आक्रोशित भएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिन नसक्दा अहिले सुन्दरहरैंचामा प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बिहान ११ बजेदेखि पूर्वपश्चिम राजमार्गको विराटचोकदेखि दक्षिण बेलेपुरसम्म विराटचोक–विराटनगर सडक खण्डमा लगाइएको निषेधाज्ञा (कर्फ्यु) को अवज्ञा गर्दै स्थानीयले सडकमै प्रदर्शन गरिरहेका छन् । घटनास्थल सुन्दरहरैंचाको सिसौंघारी क्षेत्रमा सशस्त्र र जनपद प्रहरी व्यापक रूपमा परिचालन गरिएको भए पनि स्थानीयले सडकमा प्रदर्शन जारी राखेका छन् । निषेधाज्ञाका बाबजुद पनि प्रदर्शनमा जानेको सङ्ख्या बढिरहेको स्थानीयले बताए ।