फाकफोकुथम । इलामको फाकफोकथुम गाउँपालिका वडा नं. २ मा रहेको स्वास्थ्य चौकी अन्तर्गत रहेको स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यहरूका लागि दुई दिने नेतृत्व विकास तालिम हिजोदेखि सुरू भएको छ । फाकफोकथुम गाउँपालिका र करुणा फाउण्डेशन नेपाल इलामको साझेदारीमा सञ्चालित हेरचाहका लागि उत्प्रेरणा परियोजना अन्तर्गत समितिका सदस्यहरुलाई दुई दिने तालिम सञ्चालन गरिएको हो ।
तालिममा फाकफोकथुम गापा १ र २ का जनप्रतिनिधिहरू, स्वास्थ्य व्यवस्थापन समितिका सदस्यहरु, विद्यालयका प्रअ तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको छ । तालिमलाई मानव अधिकार सञ्जाल तथा शान्ति कार्यसमूह प्याग मेचीका कार्यक्रम निर्देशक प्रकाश अधिकारीले सहजीकरण गरिरहेका छन । व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष यामबहादुर खत्री पौडेलको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा स्वास्थ्य चौकीका ईञ्चार्ज नवराज कुमार शाहले स्वागत मन्तव्य राखेका थिए भने सिबिआर सहजकर्ता चन्द्रप्रकाश बोहोराले सञ्चालन गरेका थिए ।