इलाम । इलाम नगरपालिका–१ साखेजुङ स्थित कच्ची सडकमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । इलाम बजारबाट शान्तिडाँडा बाफरुङ तर्फ जाँदै गरेको मे १ ज ८१८ नम्बरको टयाक्सी अचानक बाटोबाट १ सय मिटर तल खस्दा इलाम नगरपालिका–१ बस्ने ६५ बर्षिय कैलाश गुरुङ र ४३ बर्षिय सुमन खनालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुर्घटनामा सवारी चालक देउमाई नगरपालिका–६ बस्ने ३० बर्षिय रमेश गुरुङ, सहचालक सुनिल गुरुङ र २६ बर्षिय तुलसीकुमार बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका हबलदार बिजय राईले जानकारी दिए ।
घाइतेहरुको इलाम अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षक र प्रहरी चौकी रक्सेबाट प्रहरी सहायक निरिक्षकको नेतृत्वमा टोली खटिएका छन । घटनास्थल जिल्ला प्रहरी कार्यालय इलामबाट १४÷१५ किलोमिटर दक्षिणमा रहेको छ । मृतकका लाश निकाल्ने कार्य भइरहेको हबलदार राईले जानकारी दिए ।