इलाम । १२ महिना सडक संचालनका लागि आफै मर्मत गर्न माईजोगमाई गाउँपालिका इलामले डोजर, स्काभेटर,टिपर र जिप खरिद गर्ने निर्णय गरेको छ । हिउँदमा मुस्किलले सडक संचालन हुने माईजोगमाई गाउँपालिकामा बर्षातका बेला यातायातका साधन प्राय ठप्प हुने गरेको छ । सडक निर्माण तथा मर्मतका लागि ठेक्का र उपभोक्ता समिति गठन गर्नुपर्ने भएकाले काम ढिलो हुने भन्दै संस्थागत विकास मार्फत निर्माणका मेसिन खरिद गरि सडकलाई नियमित संचालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताउनुभयो ।
गाउँपालिकाले संस्थागत विकासमा विकास बजेटको ३० दशमलव ७० प्रतिशत बजेट विनियोजन गरेको हो । माईजोगमाई गाउँपालिकामा चालु आर्थिक वर्षमा विकास बजेट १२ करोड ४० लाख १६ हजार रहेको छ । विकास निर्माणमा आवश्यक गर्ने उपकरण खरिद गरि १२ महिना सडक संचालनका लागि निर्माण तथा स्तरउन्नतीको काम गर्ने योजनाका साथ खरिद गर्ने निर्णय भएको माई जोगमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्र बस्नेतले बताउनुभयो । हेव्वी इक्युमेन्ट खरिद गर्न गाउँपालिकाले २ करोड १० लाख रुपैयाँ चालु आर्थिक वर्षमा विनियोजन गरेको छ ।
इलामको उत्तरपूर्वी क्षेत्रमा रहेको र सदरमुकाम तथा मेची राजमार्गसँग जोड्ने सडक राम्रो नभएको गाउँपालिकाले चालु आर्थिक वर्षदेखि कालोपत्रेको योजना पनि अघि सारेको छ । गाउँपालिकाले सदरमुकाम र मेचीराजमार्ग जोड्ने सडकलाई कालोपत्रे गर्न प्रदेश र केन्द्र सरकारसँग अनुरोध गर्दै गाउँपालिकाको केन्द्र रहेको नयाँबजार क्षेत्रमा आफै कालोपत्रे गर्ने निर्णय रेको छ । विकास बजेटको ३९ दशमलव ८६ प्रतिशत पूर्वाधार विकासमा खर्च गर्ने निर्णय गरेको गाउँपालिकाले केन्द्रदेखि सबै वडा जोड्ने सडक पूर्वाधारलाई ८ मिटरको चौडा गर्ने र नयाँबजार क्षेत्र कालोपत्रे गर्ने योजना प्राथमिकताका साथ अघि सारेको अध्यक्ष जीतबहादूर राईले बताउनुभयो ।
सूर्योदय नगरपालिका १० को फिक्कल स्थित मेचीराजमार्गबाट गाउँपालिकाको केन्द्र हुँदै सदरमुकाम जोड्ने सडक कालोपत्रेका लागि चालु आर्थिक वर्षमा २ करोड ३० लाख प्रदेश सरकारबाट स्वीकृत भएको र केन्द्र सरकार कहाँ ४० करोडको बजेट सिलिङ्ग स्वीकृतका लागि पठाइएको वहाँले बताउनुभयो ।
फिक्कल नयाँबजार सडक १९ किलोमिटरको रहेको छ भने नयाँबजार इलाम सदरमुकामको सडक १९ किलोमिटर रहेको छ । ५ वर्षमा गाउँपालिका क्षेत्रका मुख्य सडकमा धुलो र हिलोबाट अन्त्य गर्ने महत्वकाक्षि योजानाका साथ काम गर्दै आएको गाउँपालिकाले पर्यटन पवद्र्धन, बिजुली र सास्कृतिक ग्राम निर्माणमा जुटेको छ । चालु आर्थिक वर्षमा कुल ३२ करोड ५५ लाख १ हजार बजेट विनियोजन गरेको गाउँपालिकाको चालु खर्च ६ करोड ११ लाख ८५ हजार, पुँजीगत १२ करोड ४० लाख १६ हजार र शिक्षा, स्वास्थ्य, पशु, कृषि लगायत संस्थागत अनुदानतर्फ १४ करोड ३ लाख विनियोजन गरेको छ । पुँजीगत तर्फ ३९ दशमलव ८६ प्रतिसत पूर्वाधार विकास, संस्थागत विकासमा ३० दशमलव ७० प्रतिशत, सामाजिक विकासमा १६ दशमलव ८२ प्रतिशत, आर्थिक विकासमा ५ दशमलव ४ प्रतिशत र वातावरण तथा वनमा २ दशमलव ७१ प्रतिशत विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत चन्द्र बस्नेतले बताउनुभयो ।