इलाम । इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा शसस्त्र प्रहरी बलको सुरक्षा बिओपि राख्न स्वीकृत दिएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था गर्नुपर्नेमा माग गर्दै आएका थिए । सीमा क्षेत्रका नेपाली नागरिकको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै इलामको सीमा क्षेत्र पशुपतिनगरमा पहिलो चरणमा शसस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट स्थापनाका लागी सरकारले स्वीकृत दिएको हो ।
जिल्ला सुरक्षा समितिले इलामको नेपाल भारत सीमा क्षेत्रको पशुपतिनगर, मानेभञ्ज्याङ्ग, छब्बिसे र सन्दकपुर क्षेत्रमा सीमा सुरक्षा बलको टोली राख्ने स्वीकृत मागेको थियो । सुरक्षा समितिको सिफारिसका आधारमा सरकारले पहिलो चरणमा सूर्योदय नगरपालिका २ स्थित पशुपतिनगरमा शसस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट राख्न स्वीकृत दिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले बताउनुभयो ।
तीन हप्ता अघि नै सुरक्षा पोष्ट राख्ने स्वीकृति दिएकाले सुरक्षा फौज बस्ने स्थानको खोजी भइरहेको र चाँडै स्थापना गर्ने तिमसिनाले बताउनुभयो । सीमा सुरक्षा पोष्टमा प्रहरी निरिक्षकको नेतृत्वमा ३७ जनाको टोली रहने शसस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामका प्रमुख बिदुर खड्काले बताउनुभयो । जिल्ला सुरक्षा समितिले सुरक्षा पोष्ट राख्नका लागि पशुपतिनगर भन्सार कार्यालयको पुरानो भवनको माग गरि स्वीकृतिको लागि गृह मन्त्रालयमा पठाएको छ ।
जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले सरकारबाट स्वीृकत आउने बित्तिकै बाँकी ३ स्थानमा पनि सीमा सुरक्षा पोष्ट राख्ने बताउनुभयो । शसस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ को स्थापना इलाममा भएपछि पर्याप्त मात्रमा सुरक्षा फौजको मानपावर रहेकाले स्वीकृत पाउनेवित्तिकै सीमा सुरक्षा पोष्ट स्थापना गर्ने जिल्ला सुरक्षा समितिको योजना छ ।
एक महिना अघि ६ सय २१ दरबन्दि रहेको शसस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलाममा स्थापना भएको थियो ।