इलाम । मानव वेचविखन दिवसको अवसर पारेर इलाममा यौजनन्य हिंसा र बलात्कार विरुद्ध एक महिने जागरण अभियान शुरु भएको छ । देशैभर यौनजन्य हिंसा र बलात्कारको घटना बढिरहेको बेला त्यसलाई नियन्त्रण गर्न इलाममा अभियान शुरु भएको हो । अभियान असोज १६ गते विश्व अहिंसा दिवस दिवसका अवसरमा समापन हुने छ ।
यौनजन्य हिंसा र बलात्कार विरुद्ध एक महिने अभियान चलाउन जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा सरकारी कार्यालय, गैरसरकारी संस्था रहेको २० सदस्यीय समिति गठन गरिएको छ । एक महिनामा सडक नाटक मञ्चन, विद्यार्थी सचेतिकरण कार्यक्रम, महिला समुहसंग अन्तरक्रिया, सरोकारवालासंग अन्तरक्रिया, ब्रोसर वितरण लगायत कार्यक्रम गर्ने तयारी गरिएको छ । इलामको दशवटै स्थानीय तहमा अभियान अन्तरर्गतका कार्यक्रम हुने छन् ।
अभियानको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले पर्याप्त ऐन कानुन भएपनि आपराधिक मानसिकताको कारण अपराधको घटना बढ्ने गरेको बताए । उनले अभियानमा सहभागी हुन जिल्लाबासीलाई आग्रह गरेका छन् । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भने यस्ता अपराधमा मृत्युदण्डको सजायको माग हुन थालेको बताउँदै मृत्युदण्डले अपराध निमिट्यान्न नहुने बताए । उनले समाजमा चेतनाको विकास गरेरै अपराध घटाउन सकिने बताए ।
मानव वेचविखन विरुद्धको दिवस पारेर इलामको पशुपतिनगर, सूर्योदय नगरपालिकाको फिक्कल लगायतका स्थनमा पनि कार्यक्रम भइरहेका छन् ।