रोङ । स्वास्थ्यकर्मी नेत्र पोखरेलले आफुलाई रोङ गाँउपालिकाले वडा सचिव बनाएपछि प्रशासनिक काममा समस्या आएको बताएका छन । गाँउपालिकाले आफुलाई वडा नं ६ जिर्मलेको सचिव बनाएपछि प्रशासनिक कामको अनुभव नभएकाले स्थानियलाई दिनुपर्ने सुविधा दिन नसक्दा गुनासो आएको पोखरेलले बताए ।
उनले भने म ‘स्वास्थ्य क्षेत्रको मानिस कसरी प्रशासनिक काम गर्नु, अनुभव पनि छैन । गाँउपालिकामा कर्मचारी अभाव भएको हुँदा सहयोग गरेको हुँ ।’ पोखरेललाई बैशाख १६ गते तत्कालीन काम चलाउका लागी भनेर असार मसान्तसम्म वडा सचिवको जिम्मेवारी दिएपनि हालसम्म उनलाई स्वास्थ्य शाखामा पुर्नस्थापना गरिएको छैन ।
तह घटुवा गर्दै सचिव
आफु छैटो तहको कर्मचारी भएपनि घटुवा गरेर पाँचौ तहमा सचिव बनाएर पठाइएको पोखरेल बताए । २०५८ सालबाट इरौटार स्वास्थ्य केन्द्रको अहेबको रुपमा कार्यरत पोखरेल २०७४ चैत्रबाट रोङ गाँउपालिकामा स्वास्थ्य सहसंयोजकको रुपमा कार्यरत थिए । स्थानिय राम योन्जनले स्वास्थ्य क्षेत्रको कर्मचारीलाई वडा सचिव बनाएकाले समस्या देखिएको बताए ।
उनले भने पोखरेल सर स्वास्थ्यको हुनुहुन्थ्यो त्यसैले पनि प्रशासनिक काममा केही ढिलासुस्ती भइरहेपनि अन्य कर्मचारीसंगको सहकार्यमा काम भइरहेको छ । उता गाँउपालिका अध्यक्ष शमशेर राईले कर्मचारी अभावका कारण जनतालाई सेवा दिनका लागी नेत्र पोखरेललाई सचिव बनाएर पठाएकोले केही दिनभित्र व्यवस्थापन गर्ने बताए । राई अन्य बिषयमा खुलेर बोल्न चाहेनन् ।