Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

थाहा अभियन्ता रुपचन्द्र विष्टः जसले आलुबाट मात्रै ७० हजार रुपैयाँ कर उठाउँथे

थाहा अभियन्ता रुपचन्द्र विष्टः जसले आलुबाट मात्रै ७० हजार रुपैयाँ कर उठाउँथे

  • शिवकुमार काशी
  • बुधबार, भाद्र ६ २०७५


थाहा अभियन्ता रुपचन्द्र विष्टः जसले आलुबाट मात्रै ७० हजार रुपैयाँ कर उठाउँथे

हेटौँडा ।  दार्शनिक मकवानपुरे नेता रुपचन्द्र विष्टले आजीवन ‘थाहा आन्दोलन’ चलाए। उनको आन्दोलन पञ्चायतकालभरि मकवानपुरमा त सुपरहिट नै भयो, राष्ट्रिय रुपमा पनि यसले चर्चा परिचर्चा र संरचना विकासको अवसर पायो। विद्यालयका प्रधानाध्यापक, जनपक्षीय प्रधानपञ्च र राष्ट्रिय पञ्चायत सदस्य ९सांसद० पनि भएर उनले तत्कालीन पञ्चायती व्यवस्थालाई सदनमा चुनौती दिएका थिए। उनी दिवंगत भएपछि थाहा आन्दोलनका नाउँमा कुनै न कुनै गतिविधिहरु भइरहेका छन्, तर, ति अधिकांश आलोचनामुक्त छैनन्।

मकवानपुरका गाउँगाउँ पस्ने हो भने रुपचन्द्र विष्टको नाम नसुन्ने पुराना पुस्ताका मानिसहरु भेट्न मुस्किल छ। कारण हो, उनी जनतासँग सिधै सम्पर्कमा हुन्थे। उनको बास गाउँमै हुन्थ्यो, जनताका बीच उनी आफ्ना कुराहरु राखिरहेका हुन्थे। जनताकै काम गरिदिने, जनताकै घरमा गुन्द्रुक ढिँडो खाने र जनताकै घरमा मान्द्रो ओछ्याएर सुत्ने सांसद नेपालमै थिए भन्दा पनि अहिले त कथा जस्तो हुन्छ।

उनी गाउँ जाँदा एक्लै कहिल्यै हुँदैनथे। उनका साथमा आफ्ना स्थायी कार्यकर्ताहरु हुन्थे, जो खानपान व्यवस्थापन, सुरक्षालगायत कुराहरुमा सदैब सचेत रहन्थे। त्यस्तै स्थायी कार्यकर्तामध्ये एक हुन् हाल मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती। रुपचन्द्र विष्टले चलाएको थाहा आन्दोलन र अहिले कार्यान्वयनमा आएको सूचनाको हकसँग सम्बन्धमा स्पेसखबरसँग उप्रेतीले केही चोटिला किस्साहरु सुनाएका छन्।

छातीमा आम्दानी टाँसेर अञ्चलाधीशलाई स्पष्टिकरण

पालुङमा रहेको जनकल्याण माविको प्रधानाध्यापक थिए, रुपचन्द्र विष्ट। स्वावलम्बी, निर्भिक र लडाकु स्वभावका विष्टले विद्यालयमा आफ्नै नियमहरु लगाएका थिए, जुन जनहितकारी थिए। उनी विद्यार्थीहरुलाई जंगलमा पाइने बेल ल्याउनु भनेर अह्राउँथे। विद्यालयको कोठामा बेल फुटाउँथे र अधिकांश टाँस्नुपर्ने ठाउँमा बेलको चोपले टाँस्थे। बजारबाट सकेसम्म गम किनेर ल्याउने चेष्टा गर्दैनथे। त्यस्तै आलपिन प्रयोग गरी ‘एट्याच’ गर्नुपर्ने कागजपत्रको व्यवस्थाका लागि पनि उनले घरेलु उपाय निकालेका थिए। विद्यालय वरिपरि मधेसी काँडा रोपेका थिए। आत्मनिर्भरताका लागि उनले ल्याएको यो उपायले आत्मनिर्भरताको बाटो खोलेको थियो।

विष्ट प्रधानाध्यापक हुँदा पञ्चायतीहरुले उनले भ्रष्टाचार गरेको भनेर अञ्चलाधीशसमक्ष उजुरी गरेका रहेछन्। वीरगञ्जमा रहेको अञ्चलाधीश कार्यालयमा स्पष्टिकरणका लागि प्रधानाध्यापक विष्ट जानुपर्ने भयो। ज्याकेट लगाएर गएछन्। जब अञ्चलाधीशले विष्टलाई सोधे–‘विद्यालयको हरहिसाव खोइरु’ विष्टले ज्याकेटको चेन खोलेर छातिभरि आम्दानीको हस्तलिखित सूची देखाइदिएछन्। अञ्चलाधीश दंग परेर फेरि सोधेछन्–‘यो त आम्दानी भयो, खर्च विवरण खोइरु’ ज्याकेट खोलेर फनक्क घुमेछन् र ढाडमा टाँसिएको खर्च विवरण देखाइदिएछन्।

अञ्चलाधीश दंग परेर पढेछन्। खर्च विवरणमा पालुङबाट वीरगञ्जसम्म गएको खर्च १ रुपैयाँमात्रै रहेको देखेपछि अञ्चलाधीशले सोधेछन्–‘१ रुपैयाँ खर्चमा पालुङबाट वीरगञ्ज आउन सम्भव छरु’ विष्टले सबिस्तार जवाफ दिएछन्–‘एउटा भाते साथी थियो, उसले ट्रक चलाउँदो रहेछ। ट्रक चढेको भाडा परेन। त्यसैले बाटोमा मासुभात खुवायो, त्यो खर्च पनि जोगियो। वीरगञ्ज आएर कागज र डटपेन किन्दा जम्मा खर्च १ रुपैयाँ मात्र भयो।’ विष्टका कुरा सुनेर अञ्चलाधीश हेरेको हेर्‍यै भएछन्।

आलुको कर सुन्दरमानको सेफमा

प्रधानपञ्च भएका बेला रुपचन्द्र विष्टले पालुङका तरकारीमा कर लगाए। उनले गरेका निर्णय बमोजिम हरेक एक बोरा आलु निकासी गरेबापत किसानले एउटा आलु चाहिँ कर तिर्नुपर्ने भयो। आलुको राजधानीमा त्यस्तो कर लगाएपछि पञ्चायतको नाउँमा आलुको थुप्रो भयो। त्यसरी संकलित आलु बिक्री गर्दा झण्डै ७० हजार रुपैयाँ जति संकलन भएको थियो। त्यत्रो ठूलो रकम पञ्चायतमा राख्ने कुरा आएन।

नगद रकम राख्दा सुरक्षाको पनि पीर भयो। गाउँकै एकजना साहूको सेफमा त्यो रकम कपडामा सुतरीले बाँधेर दर्जनजति गाँठो पार्दै सुरक्षित ढंगले राख्न दिएछन्। अनि पालुङका अधिकांश चोकहरुमा रहेका पाटीमा गएर उनले आलु बेचेको पैसा यति बाँकी छ, फलानाको सेफमा सुतरीको डोरीले बाँधेर लक गरी राखिएको छ भनेर लेखेछन्। त्यो सूचना पढेर आम मान्छेले थाहा पाएछन् कि, आफूले तिरेको करको दुरुपयोग भएको छैन र सुरक्षित छ।

५० पैसाको हिसाव हराउँदा

जनकल्याण माध्यमिक विद्यालयले चन्दा संकलन गरी सरस्वती पूजा मनाउने तयारी गरेछ। रुपचन्द्र विष्ट थिए हेडमास्टर। विद्याकी देवी सरस्वतीको पूजा गर्न विद्यार्थीहरु पनि उत्साहित। त्यस्तैमा चन्दा संकलन गर्ने र सबै पूजाआजा अनि खानपानको समेत व्यवस्था गर्न भनेर एक जना चलाख विद्यार्थीलाई जिम्मेवारी दिइएको रहेछ।

सबै मिलेर सरस्वती पूजा सम्पन्न गरे। कार्यक्रम एकदमै राम्रो भयो। पछि हिसावकिताव गरियो। सहयोग, चन्दा आम्दानी र खर्चको विवरणहरु पेस भए। तर, त्यो क्रममा ५० पैसाको हिसाव हरायो। ती चलाख विद्यार्थीले ५० पैसाको हिसाव दिएनन्। उनले यो थोरै पैसाको हिसाव खोजिरहनु हुँदैन, कतै हरायो होला भनेर सामान्य रुपमा लिएछन्।

तर, रुपचन्द्र विष्टले उनलाई अरुसँग उठाएको रकम एक पैसा पनि हराउनुहुँदैन। पारदर्शी ढंगले सार्वजनिक गर्नु भनेर दबाब दिएछन्। र, भनेछन्–‘आज विद्यार्थी हुँदा ५० पैसा हिनामिना गर्नेले भोलि देशको ठूलो ठाउँमा पुग्दा ठूलै हिस्सा हिनामिना गर्ने सम्भावना हुन्छ, त्यसैले यस्तो बानी गर्नु हुँदैन।’ ती चलाख विद्यार्थी थिए, अहिलेका राष्ट्रिय सभा सदस्य एवं कानूनविद्–रामनारायण विडारी।

थाहा आन्दोलनको मर्म र सूचनाको हक

‘सत्य थाहा हुँदै झुट नास हुन्छः रुदाने’ लेखिएका पुराना लिखतहरु अहिले पनि भेट्न सकिन्छ। रुपचन्द्र विष्टलाई रुदाने, जसरु लगायतको नामबाट पनि चिनिन्छ। रुदानेको अर्थ नाम ठेगानाको छोटो रुप हो। अर्थात–रुपचन्द्र, दामन, नेपाल। त्यसैगरी जसरुको अर्थ थियो–जनमुखी सहकर्मी रुपचन्द्र। उनी मकवानपुरको तामाङ र चेपाङ गाउँ पुगेर हाते माइकबाट सत्य के हो थाहा चाहियो भनेर अनेक बिषयहरुमा जनताको ध्यानाकर्षण गराउँथे। जब जनताले थाहा पाउँछन्, अनि मात्रै सही वा गलत भनेर छुट्याउन सक्छन्।

शासकहरुले सधै जनतालाई गुमराहमा राख्ने गरेकाले उनले शासकहरुप्रति आक्रोश पोख्थे। रुपचन्द्र विष्टलाई धेरैले सोध्थे रे–‘यो थाहा भनेको के होरु’ उनले आफूले सल्काइराखेको चुरोटले प्रश्नकर्ताको हातमा पोलिदिन्थे। अनि हात फड्कार्दै भाग्दै गर्दा विष्टले ‘के थाहा भो भनेर सोध्थे। प्रतिउत्तरमा चुरोटले पोल्यो, तातो छ भन्ने जबाफ आउँथ्यो। जसरी आगोले पोल्छ भन्ने थाहा भयो, त्यसरी नै शासकहरुले के गर्न खोज्दैछ, के हुँदैछ भन्ने कुरा जनताले थाहा पाउनुपर्छ भन्ने मान्यता विष्टको थियो। त्यही अभियान नै थाहा अभियान हो।

सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली अहिले कार्यान्वयनमा छन्। यो ऐनको प्रावधान र मूलमर्म विष्टको थाहा आन्दोलनको मर्मसँग फरक छैनन्। ( स्पेशखबरबाट साभार)

प्रतिक्रिया
सम्बन्धित समाचार