Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

उन्नतीको सहयोगमा प्रगतीपथ चुम्दै इलामका तुलु तामाङ्ग

उन्नतीको सहयोगमा प्रगतीपथ चुम्दै इलामका तुलु तामाङ्ग

  • सुजन तिमल्सिना
  • आइतबार, साउन २७ २०७५


उन्नतीको सहयोगमा प्रगतीपथ चुम्दै इलामका तुलु तामाङ्ग

इलाम । २०७२ सालको विनासकारी भुकम्पपछि नेपालमा बिदेशी पर्यटकको आवागमन ठप्प भयो । भुकम्पका पराकम्पन धेरै समयसम्म चलेकाले काठमाडौँमा विदेश पर्यटक ओर्लन छोडेपछि पूर्वी नेपालका चीज उद्योगीको उत्पादन बजारबाट माग हुन छोड्यो । पर्यटकीय सहरबाट चीजको माग हुन छोडेपछि उद्योगीलाई उत्पादित चीजको बजार समस्या मात्रै हैन राख्ने ठाउँको अभावले पिरोल्यो । उद्योगमा उत्पादन हुने चीज राख्ने ठाउँ अभावले पिरोलिने मध्येका एक थिए पुर्वी इलामका उद्योगी तुलु तामाङ्ग । २०७२ सालको भुकम्पपछि उत्पादित चीज उद्योगमा राख्ने ठाउँको अभावले झापाको विर्तामोडस्थित कोलस्टोरमा पु¥याउनुपर्यो । दैवि प्रकोप र बजारको उतारचढावले चीजको माग नहुँदा राख्ने ठाउँ अभावले पिरोलिएका तामाङ्गले आफैँ कोलस्टोर निर्माण गर्ने सोच बनाए । योजना त बन्यो तर लगानी नभएपछि कार्यान्वयन गर्न सकिन तामाङ्ग भन्छन् ‘बजारमा चीज निर्यात नभएपछि किसानलाई दूधको पेमेन्ट दिनै समस्या थियो कोलस्टोर भवन निर्माण गर्ने आँटै आएन ।’ पूर्वी नेपालका सात जिल्लामा दूध, चिया, अदुवा, अलैची क्षेत्रमा लगानी गर्न उन्नती समाबेशी परियोजनाले कार्याक्रम शुरु गरेपछि तामाङ्गका लागि उन्नती परियोजना ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो । किसानलाई दुग्ध व्यवसाय तालिमदेखि उद्योग स्तरोन्नतीमा मेसिन औजार र चीज राख्ने कोलस्टोर भवन निर्माणमा अनुदान सहयोग पाएपछि तामाङ्गका लागि उन्नती परियोजना बरदान सावित भएको छ ।


उद्योगसँगै रहेको घरको सानो कोठामा चीज स्टोर गर्दै आएको लक्की डेरीमा उन्नती परियोजना पछि छुट्टै आधुनिक कोलस्टोर भवन निर्माण भएको छ । कोलस्टोर भवन निर्माण भएपछि बजारको समस्या भएका बेला झापाको बिर्तामोड पु¥याउनुपर्ने समस्या हटेको मात्रै छैन खर्चको बचत भएको छ । ‘अफ सिजनमा उत्पादन भएको चीज राख्ने ठाउँ अभावले बिर्तामोडको कोलस्टोरसम्म पु¥याएर प्रतिकेजी पाँच रुपैयाँका दरले शुल्क बुझाउनुपथ्र्यो, तामाङ्गले भने ‘उन्नती परियोजनाको सहयोगपछि समयसँगै खर्चको बचत भएको छ ।’ ३२ लाख ८४ हजार ४३ रुपैयाँमा निर्माण भएको अत्याधुनिक कोलस्टोर भवनमा उन्नती समावेशी परियोजनाले १६ लाख ४२ हजार २२ रुपैयाँ अनुदान प्रदान गरेको थियो । कोलस्टोर भवन निर्माणसँगै त्यसमा आवश्यक पर्ने कोलस्टोर कम्प्रेसर जडान समेत गरिदिएको छ । जसले गर्दा गर्मी मौसममा उद्योगबाट उत्पादन गरिएको चीजको गुणस्तरीयता कायममा सहयोग पुगेको छ । उन्नती सहयोगबाट निर्माण भएको कोलस्टोर भवनमा १२ हजार के.जी. तयारी चीज राख्ने क्षमता रहेको छ ।
आधुनिक मेसिन जडानले फाइदा
थाहै नदिइ विद्युत लाइन काटिने समस्याले तामाङ्ग पिडित थिए । किसानबाट दूध संकलन भइसकेपछि प्रशोधन गर्ने बेलामा विद्युत जाँदा उद्योगले दाउराको सहारा लिनुपथ्र्यो । ‘थाहै नदिइकन विद्युत लाइन काटिएपछि समयमै दूध प्रशोधन गर्न नसकेपछि चीजको गुणस्तरमै समस्या हुन्थ्यो, उनी भन्छन् ‘उन्नती परियोजनाको सहयोगमा ३० केभीको जनेरेटर ल्याएपछि विद्युत नभएपनि समयमै दूध प्रशोधन गर्दै आएका छौँ ।’ कुनैदिन चार दिनसम्म विद्युत नआएर हैरान बनाउँथ्यो जनेरेटर ल्याएपछि इन्धनको समस्या हटेको तामाङ्गले बताए ।


जनेनेटरसँगै चीज भ्याट र स्टिम बोइलर जडानमा उन्नतीको सहयोग भएपछि उद्योगको स्तरोन्नतीसँगै समय पनि बचत हुँदै आएका छ । उन्नती समावेशी परियोजनाले मेसिन औजार खरिदमा ५० प्रतिशत अनुदान दिएको थियो । लक्की डेरीमा १८ लाख ४२ हजार बराबरका मेसिन औजार जडान गरिएको हो । दूध प्रशोधन गर्ने चीज भ्याट र दूध फटाउनका लागि प्रयोग गरिने स्टिम बोइलर जडान गरिएपछि कामदारको स्वास्थ्यमा सुधारसँगै छिटो काम हुने गरेको प्रोपाइटर तुलु तामाङ्गले बताए ।
‘पहिला दाउरा बालेर आगोबाट सिधै दूध फटाउने गरिँदा बढी दाउराको खपतसँगै कामदारमा धुवाँको असर देखिन्थ्यो, तमाङ्ग भन्छन् ‘उन्नतीको सहयोगमा तातो बाफ आउने स्टिम बोइलर ल्याएपछि छिटो हुनुका साथै इन्धन खर्च पचास प्रतिसतले कमी भएको छ ।’
बढ्यो दूधको गुणस्तर
कच्चापदार्थ उत्पादन, प्रशोधन र बजारीकरणसम्म सहयोग गरेको उन्नती समावेशी परियोजनाबाट लक्की डेरीले दूध उत्पादन गर्ने किसानलाई तालिम प्रदान गरेको थियो । किसानलाई प्रदान गरेको तालिममा उन्नती परियोजनाको ९० प्रतिशत अनुदान र १० प्रतिशत लक्की डेरीले खर्च गरेको थियो । आफ्नो उद्योगमा दूध बिक्रि गर्ने ३ सय ७ किसानलाई २ दिने डेरी उत्पादन तथा व्यवस्थापन र १ दिने घाँस चारो व्यवस्थापनको तालिम दिएपछि दूधको गुणस्तरमा सुधार आएको छ । ‘तालिम अघि किसानमा दूध भनेको सेतो भए हुन्छ भन्ने धारणा थियो, तामाङ्ग भन्छन् ‘किसानका घरगाउँमै पुगेर घाँस चारो व्यवस्थापन र गुणस्तरीय डेरी उत्पादन तथा व्यवस्थापन तालिमपछि किसानको दूधमा सुधार आएको छ ।’ उनी भन्छन् ‘पहिला किसानले दूधमा बढी पानी मिसाउने गरेको थिए भने तालिमपछि गुणस्तरीय दूध आउन थालेको छ ।’


गुणस्तरीय दूध उत्पादन पछि किसानले दूधको मुल्य समेत राम्रो पाएका छन् । पानी मिसाएका कारण प्रतिलिटर ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म मुल्य पाउँदै आएका किसानले तालिमपछि शुद्ध दूध बिक्रिबाट प्रतिलिटर ६० रुपैयाँसम्म मुल्य पाएका छन् । १० लाख ५० हजार रुपैयाँ खर्चेर किसानलाई डेरी उत्पादन तथा व्यवस्थापन र घाँस चारो व्यवस्थापनको तालिम डेरी विज्ञबाट किसानलाई प्रदान गरिएको थियो ।
दोब्बर दूध प्रशोधन
उन्नती समावेशी कार्यक्रम पछि लक्की डेरी अहिले प्रगतिपथमा छ । दुधको गुणस्तर, चीजको स्टोर गर्ने समस्या हट्नुसँगै उद्योगको स्तरोन्नती पछि उत्पादन क्षमता वृद्धि भएको छ । १ हजार लिटरको चिज भ्याटमा दूध प्रशोधन गर्दै आएका तामाङ्गको लक्की डेरीमा १५ सय लिटरको नयाँ चीज भ्याट मेसिन जडानपछि दैनिक २४ लिटर दूध संकलन हुँदै आएको छ ।


चिज भ्याट थप्ने श्रोत नहुँदा बजारको माग राम्रो भएपनि सिजनमा दैनिक १२ सय लिटर मात्रै दूध प्रशोधन आएकोमा अहिले उन्नती कार्यक्रमपछि २४ सय लिटर प्रशोधन गरिएको तामाङ्गले बताए । ‘उन्नती कार्यक्रमबाट किसानलाई घरगाउँमै गएर डेरी उत्पादन तथा व्यवस्थापन र घाँस चारो व्यवस्थापन तालिमसँगै घाँसको बिऊ वितरणपछि मेरो उद्योगप्रति किसानको विश्वास बढ्दो छ,तामाङ्ग भन्छन् ‘त्यही भएर दूध संकलन दोब्बर भएको छ । उद्योगमा दूध संकलन वृद्धिसँगै रोजगार र आम्दानी बढ्दै गएको छ । ‘उन्नती कार्यक्रमपछि उद्योगको आम्दानी बढ्दै गएको छ, तामाङ्ग भन्छन् ‘स्टिम बोइलर जडानपछि इन्धनमा हुँदै आएको खर्च ५० प्रतिशत बचत भएको छ भने त्यही हिसाबले आम्दानी पनि बढ्दै गएको छ ।’
को हुन् तुलु तामाङ्ग
रसुवाको विकट गाउँ यार्सामा जन्मिएका तुलु तामाङ्गले गाउँमै विद्यालय भएपनि कक्षामा बसेर अध्ययन गर्ने अवसर पाएनन् । सामान्य खेतीकिसानी गर्ने बुबाआमाको दुःख देखेर उनी कलिलो उमेरमै पर्यटकको भारी बोक्न थाले । घरमा आम्दानीको श्रोत नभएपछि उनले १४ वर्षको उमेरमा बिदेशी पर्यटकको झोला बोक्ने काम शुरु गरे । उनी विगत सम्झदै भन्छन् ‘खेतबारीमा उत्पादन हुने आलु, मकै र कोदोले खान नपुग्ने भएपछि अक्षर चिन्न नपाइ भरिया काम गरियो ।’


पर्यटकको भारी बोकेर लामटाङ, गोसाईकुण्ड, पोखरा, खयर हिमाल, अन्नपूर्ण पदयात्रा क्षेत्र सयौँ पटक ओहोर दाहोर गर्दाको अनुभव उनीमा छ । पेट पाल्न गरुङ्गा भारी बोकेर हिउँको बाटोमा चिप्लि खेल्दै हिड्नुपर्ने पेशामा उनी लामो समय टिक्न सकेनन् । दुईवर्ष पर्यटकका भारी बोकेपछि उनी घर फर्किएर काठमाडौँ खाल्डोमा पसे । भारी बोक्दा लगाउने फाटेका चप्पल र एकसरो कपडा लगाएर काठमाडौँ खाल्डो पस्दा समुन्द्रमा हराए जस्तो लाग्यो । ‘कामको खोजीमा एक्लै काठमाडौँ गएकाले कति दिन त सडकमै बास भयो । उनी भन्छन् ‘अक्षर चिन्ने भनेर काठमाडौ गएको थिए इलाममा चीज फ्याक्ट्री खुल्ने हल्ला सुनेपछि त्यसैका पछि लागे ।’ २०५२ सालमा यती डेरी उद्योगमा काम गर्न इलामको पशुपतिनगर हानिएका उनी दूध बोक्ने, दूध तताउने,दाउरा मिलाउने, उद्योग सफा गर्ने काम गर्थे । ‘शुरुमा चीज कस्तो हुन्छ भनेर नजिकैबाट हेर्न मात्र पाइन्थ्यो छुन पाइएन । उनी भन्छन् ‘लेबर काम गरेको दश वर्षपछि मात्रै चीज बनाउने कामको अवसर मिल्यो । उद्योगको मालिक परिर्वत हुने र समयसमयमा चीज कारखाना बन्द हुन थालेपछि एक समय उनी बेरोजगार जस्तै भएका थिए ।
लक्की डेरीको स्थापना
२०६६ साल असोज १ गते यती डेरीमा काम गर्न छोडेका उनले असोज २३ गतेदेखि आफै चीज कारखाना खोल्ने प्रयास थाले । ससुरालीमा बसेर १० हजार लगानीबाट दुध प्रशोधन सुरु गरेका उनी भन्छन ‘सानो लगानी भएका कारण शुरुमा कसैले पनि पत्याउँदैनथ्यो किसानले आफ्नो पैसा डुब्ने भन्दै मेरो उद्योगमा दूध बिक्री गर्न मानेनन् ।’ किसानबाट दूध नपाएपछि स्थानीय सुन्दरपानी दूग्ध उत्पादन सहकारी संस्थाबाट ४० लिटर दूध खरिद गरि लक्की डेरी शुरु गरेको उनी बताउँछन् ।


४० लिटर दूधबाट ५० लिटर दूध खरिद गर्ने तागत सजिलै भएन । उनी भन्छन् ‘चीज उत्पादन गरेपनि कहाँ लगेर बिक्रि गर्ने समस्या थियो । आठ दश महिना त बनाएको चीज घरमै थन्क्याएर ऋण खोजेर दूधको पैसा संस्थालाई तिर्नुपर्यो ।’ बजारमा चीजको माग हुन थालेपछि मात्रै किसानले दूध दिन थालेको उनी बताउँछन् । १० केजी चीज बनाउन शुरु गरेपनि त्यसलाई ११ केजी बनाउन एक वर्ष नै कुर्नुपर्यो । सुरुमा चीज बजार अभावका कारण विक्री गर्न समस्या भएपनि अहिले भने चीजको महत्व बुझेर उद्योगमै ग्राहक आउने गरेको उनको भनाई छ । लक्की डेरीबाट उत्पादन भएको चीज देशका काठमाण्डौ, पोखरा, विराटनगरका अतिरिक्त भारतका सिक्किम, दाजिलिङ, आसाममा निर्यात हुँदै आएको छ । उत्पादित चीज नेपाल र भारतमै खपत हुने भएकाले तेश्रो मुलुक निर्यात गर्न नसकिएको उनी बताउँछन् ।
उद्योगको अवस्था
अहिले उनको उद्योगमा दैनिक २४ सय लिटर दूध खरिद गरि चीज र ध्यु उत्पादन हुदै आएको छ । उनले मासिक ८० लाखसम्मको कारोवार गर्ने गरेका छन् । जसबाट उद्योगमा हुने खर्च कटाएर मासिक ३ लाख रुपैयासम्म आम्दानी हुने गरेको छ । सुर्योदय नगरपालिका ३ मा रहेको लक्की डेरीमा अहिले २ करोड बराबर लगानी पुगेको छ । उद्योगमा अहिले गहिरीगाउँ, भाँझगाउँ, रुङसुङ्गका किसानले दूध बिक्रि गर्दै आएका छन् । उद्योगमा अहिले चारजना स्थानीयले रोजगारी पाएका छन् ।

तामाङ्ग भन्छन्, आखिरीमा मेहनत गरे सवै संभव हुँदो रहेछ अरुको उद्योगमा झन्डै १ दशक काम गरेर आफै केही गर्ने प्रयास गर्दा अवस्य सफल भइदो रहेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार