Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पाथीभरा मन्दिरमा केबलकार संचालनमा ल्याउने योजना छ : दौलत राई

पाथीभरा मन्दिरमा केबलकार संचालनमा ल्याउने योजना छ : दौलत राई

  • सुजन तिमल्सिना ÷नमीन ढकाल
  • शनिबार, साउन २६ २०७५


पाथीभरा मन्दिरमा केबलकार संचालनमा ल्याउने योजना छ : दौलत राई

दौलत राई पाथीभरा मन्दिर संरक्षण समिति रोङ गाउँपालिका–३,कुटिडाँडाका अध्यक्ष हुन् । लामो समयसम्म समितिको अध्यक्ष पदमा रहेका राईले मन्दिर संरक्षण कार्यलाई अगाडि बढाइरहेका छन् । उनको कार्यकालमा मन्दिर परिसरमा अतिथि सदन निर्माण, बाटोघाटो तथा खानेपानी व्यवस्थापन लगायतका कार्यहरु हुदै आएका छन् । समितिका अध्यक्ष राईसंग पाथीभरा मन्दिर क्षेत्रलाई कसरी पर्यटकहरुको आर्कषणको केन्द्र बनाउने र आगामी कार्ययोजनाका बिषयमा गरेको संक्षिप्त कुराकानी :

पाथीभरा संरक्षण समितिको अध्यक्ष हुनुहुन्छ कामहरु कसरी अघि बढेको छ ?
धार्मिक क्षेत्र प्रर्वद्धनको कुरालाई जोड दिइएको छ । प्रत्येक बर्ष धार्मिक कार्यक्रमहरु आयोजना भइरहेको छ । विशेष गरेर दशैको नवमीको ९ दिनर नयाँ बर्षको दिन पुजा भइरहेकोछ । भौतिक पूर्वाधारको कामलाई तीब्र रुपमा जोड दिएका छौ । ३०० मिटर बाटो निर्माण निरन्तर रुपमा अगाडी बढाएका छौ ।
मन्दिरमा पर्यटकहरु आउँछन्,पर्यटन प्रर्वद्धनको लागि के कस्ता गतिविधिहरु भइरहेको छन् ?
पाथीभरा क्षेत्रको पर्यटनको प्रर्वद्धनको लागि ८÷१० वट फ्ल्यास बोडहरु कन्याम, किटेनी लगायतका ठाँउहरुमा राखिएको छन । विभिन्न पत्रपत्रिका रेडियोहरुमा बारम्बार पर्यटकहरुलाई यस क्षेत्रको बारेमा सूचना एवम जानकारीहरु प्रदान गरिदै आएकोछ ।
मन्दिरको उत्पति कसरी भयो ?
यो क्षेत्र करिव १५० बर्ष पुरानो मानिन्छ । बुधवारे हालको बुद्धशान्ति गाँउपालिकाको डिल्ली सुवेदीले सपनामा शीला देखेपछि आई हेर्दा वास्तवमै शीला भेटाएपछि विस्तारै प्रचारका ल्याएको बूढापाकाहरु बताउँछन । त्यसपछि संरक्षण गरिएको पाइन्छ । लिखित तथ्यहरु केही पाइदैन । १५० बर्षभन्दा पुरानो भन्ने दन्त्य कथा छ ।
मन्दिरको इतिहासको बारेमा अनुसन्धान गरेर तथ्यगत निकाल्न संस्कृति तथा पर्यटन बोर्डसंग कतिको समन्वय छ ?
विशेष गरेर यस क्षेत्रबाट जितेर जाने सांसदहरुसंग कुरा राखेका छौ । यसको तथ्यगत रुपमा निकाल्न सहयोगको लागि शान्ति तथा पुर्न निर्माण मन्त्रालयमा प्रस्ताव हालेका छौ । मन्त्रालयमा बारम्बार यसको बारेमा जानकारी गराइरहेका छौ । तर सरकार उद्धासिन भएर होला खासै सहयोग गरेको छैन । अब भने स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको चासोमा पर्छ भन्ने लागेको छ ।
पर्यटनको पुर्वाधार निर्माणका लागि कस्ता कार्यक्रमहरु ल्याउनुभएको छ ?
भरखरै पाथिभरा संरक्षण संस्था अन्र्तगत रहेर गाँउपालिकाले कार्ययोजना शुरु गरेको छ । त्यस अन्र्तगत रहेर के के अगाडि बढाउने, बनजंगल जोगाउने, बाटो घाटो बनाउने, विकासका पुर्वाधारहरु निर्माण गर्ने लगायतका विषयहरु समेटिएका छन । भरखरै भक्तजनहरुको सुविधाको लागि १५ लाख रुपैयाको लागतमा ट्यांकी निर्माण गरी मन्दिरसम्म पानी पु¥याउन सफल भएका छौ । चालु आर्थिक वर्षको बजेटबाट विकासका कामहरुलाई पहिलो प्राथमिकतामा राखेर बढी भन्दा बढी पर्यटकहरु भित्र्याउने लक्ष्य छ ।
पाथीभरा क्षेत्र वरिपरि अन्य पर्यटकीय क्षेत्रहरु पनि छन् कि मन्दिरमा मात्र पर्यटकहरु आउँछन । आएका भक्तजनहरुलाई आर्कषित गर्न के कस्ता योजनाहरु छन् ?
हामीले नजिकै रहेको अन्य पर्यटकीय क्षेत्रहरुलाईसमेत समेटेर कार्ययोजना बनाएका छौ । यसमा रोङको पाथीभरा मन्दिरमात्र नभएर समग्र इलाम जिल्लाका पर्यटकीय स्थलहरुसंग समेत जोडने छौ । त्यसका लागि समन्वयको प्रयासहरु भइरहेको छन् । पर्यटकहरुलाई आर्कषित गर्नका लागि केबलकारको प्रस्तावलाईसमेत अगाडि बढाएका छौ । पाथीभरा मन्दिर क्षेत्रलाई इङ्गित गरेर ३ स्थानमा होमस्टेलाईसमेत अगाडि बढाएका छौ । भरखरै कार्ययोजनामा समेटिएको हाँसपोखरीमा पार्क, बजार व्यवस्थापन, स्मार्ट भिलेजको योजनालाई अगाडि बढाउँने तरखरमा छौ

मन्दिरको कुल क्षेत्रफल कति छ र यहाँका अन्य विशेषताहरु के के हुन ?
पाथीभरा मन्दिर मातहतको जग्गा जमिन छैन । सरकारी जमिनमा मन्दिर र अन्य संरचनाहरु बनाइएका छन । जमिनलाई कसरी मन्दिरको स्वामित्वमा ल्याउने भन्ने बिषयमा छलफललाई अगाडि बढाएका छौ । यसको बिषयमा सम्वन्धित निकायमा पहलसमेत भइरहेको छ । २ बर्ष अघि साधारणसभामा २ सय मिटर मन्दिर वरपर मन्दिरकै जग्गा भएको कुरा उठेको छ । हामीले यस क्षेत्रमा भवन निर्माण, जैविक विविधता संरक्षण तथा विकासका अन्य कुराहरुलाई जोड दिँदै बढी भन्दा बढी पर्यटक भित्र्याउदै छौ । विशेषता भन्नुपर्दा यहाँ विश्वमा लोपोन्मुख मानिएको सुनगाभा, रातो बाँदर, अन्य चराचुरुङ्गीहरुसमेत पाइन्छ । मन्दिरको छेउबाट इलाम, झापा, सुनसरी, मोरङका अतिरिक्त भारतको सिक्किम, सिलिगुढी, दार्जिलिङदेखि टिस्टा नदीसम्म देख्न सकिन्छ । सुर्योदय र सुर्यास्तको दृश्यावलोकनका लागि समेत उपयुक्त स्थान हो । भ्यूटाबर बनाउने काम अगाडि बढाउदै छौ । नजिकै गुगल पोइन्टसमेत पाइएको छ त्यसलाई समेत प्रर्वद्धन गर्दैछौ ।
प्राकृतिक र जौविक रुपमा धनी पाथीभरा क्षेत्रको संरक्षणमा सरकारी निकायसंग समन्वय कस्तो छ ?
यहाँको प्राकृतिक एवम जौविक विशेषता भनेको अर्किड फूल हो । यस क्षेत्रलाई अर्किडको राजधानीको रुपमा समेत चर्चा गर्ने गरिएकोछ । सरकारबाट यसको संरक्षणको लागी पहल भइरहेको छ । अर्किडको संरक्षण गर्न हाउस निर्माण गरिएका छन । सामुदायिक वन र स्थानियहरु समेत सक्रिय रुपमा लागी परेका छन । सवैको सकारात्मक सोचका कारण यस क्षेत्रभित्र रहेका रुखहरु काटन बन्देज लगाइएको छ । अन्य जैविक विविधताहरुको पहिचानको लागी अनुसन्धानकर्ता एवम खोजकर्ताहरुलाई ल्याएर खोज समेत गरिदै आएको छ ।
बन्यजन्तु र चराहरुको क्षेत्र पनि हो त्यसको संरक्षणका लागी वन कार्यालय र समितीको समन्वय कसरी अघि बढेको छ ?
वन कार्यालयसंगको समन्वयमा विविध कार्यक्रहरु गरिएका छन । जस्तै जनचेतनामुलक कार्यक्रमहरु, खोज अनुसन्धानका कार्य, चोरी तस्करी नियन्त्रण एवम अवैध पैठारी रोक लगाउने समते सहकार्य भइरहेका छन ।
यहाँ विशेष गरेर के के पाइन्छ र अनुसन्धानका लागी के के कार्य भए ?
मुलुक अहिले संघियतामा गएको छ । हामीले पनि यहि अनुरुप गाँउपालिकासंग समन्वय गरेर अघि बढेका छौ । विशेष गरेर लोपोन्मुख अर्किड, बाँदर, चराचुरुङ्गी एवम विभिन्न प्रजातीका वनस्पतीहरु पाइने भएकाले हामीले यि सवैलाई मास्टर प्लानमा समेटर अनुसन्धान गर्ने कार्य अगाडी बढाउने भएका छौ । के के कार्य कसरी गर्ने भन्ने कुराहरु समेत इङिगत गरिएका छन ।
लामोसमयसम्म अध्यक्ष रहेर पुराणको आयोजना गरी अतिथि गृह निर्माण गर्नुभयो । अहिले त्यसको अवस्था के छ ?
पुराण आयोजना गर्दा विकासप्रेमी एवम भक्तजनहरुको राम्रै सहयोग भयो । तर अपेक्षा गरे अनुरुप चाहिः नभएकै हो । १९ लाख रुपैया संकलन गर्न सफल भयौ । यदपी हाम्रो लक्ष्य रहेको ६०÷४० को २ तले अतिथि सदन निर्माण गर्न सफल भयौ झन्डै १ करोड बढीको लागतमा । अहिले पाथीभरा आउने पर्यटकहरुलाई सहुलियत भएका कारण निकै चाप छ । वर्खाको समयमा चाप अलिक कम हून्छ अन्य समयमा सधै अतिथिगृह भरिभराउ नै हुन्छ । अहिले चाप थाम्न नसक्ने भएपछि १ तला थप्ने योजनामा छौ ।
अतिथि सदन निर्माणको लागिस्रोत कसरी जुटाउनुभयो ?
पुराणबाट उठेको रकमले नपुगने भएपछि दाताहरुसंग अनुरोध गरेर बनाएको हौ । शान्ति तथा पुनः निर्माण मन्त्रालयमा प्रस्ताव पेश गरेका थियौ । त्यहाँबाट पनि आश्वासन आएको थियो खै पछि के भयो दिन मिल्दैन भन्ने जवाफ आयो । हामीले सोचे भन्दा अलि बढी समय लाग्यो निर्माण सक्न ।
अतिथिसदनमा भक्तजन र पर्यटकहरुले कस्तो सुविधा पाउँछन् वा कति शुल्क लाग्छ ?
हामीसंग ४ वटा एटेचरुम छ । ३ जनाको दरले सुत्न सकिन्छ । एउटामा १० जनासम्म सुत्न सकिन्छ भने कमनरुममा ५० जना अटाउन सक्छन । एटेच रुमको १ हजार र कमन रुमको प्रत्येकबाट १ सय रुपैया लिने गरेका छौ । प्रत्येकमा टिभी, वाइफाइ, खानेपानीको व्यवस्था छ । भक्तजनहरुबाट सन्तोषजनक प्रतिक्रिया आएको छ ।
पर्यटकहरुको चापसंगै यो स्थान साघुँरो बन्दै गएको छ । पार्किङस्थलको अभाव छ अतिक्रमण बढदो छ । यसको नियन्त्रणमा कस्तो भुमिका रहेको छ ?
गुरु योजनाभित्र कुटिडाँडा हाँसपोखरीमा स्मार्ट भिलेज बनाउने छौ । पर्यटकको चापलाई हेर्दा व्यवसायिक होटल आवश्यक देखिन्छ । स्थानीय सरकार र प्रदेश सरकासंग माग गरेका छौ । गाँउपालिकाले गत बर्ष १० लाख रुपैया छुटयाएर सडकमा १५ मिटर कायम गरी पार्किङ गर्ने तयारी छ । स्थायी पार्किङस्थलको लागि विज्ञसंग परार्मश गरी अघि बढने योजना छ ।
.यस क्षेत्रको खानेपानी समस्या निराकरणको लागि के के हुँदैछ ?
खानेपानीको लागि वृहत खानेपानी योजना कन्याम, फिक्कलदेखि लिएर लक्ष्मीपुरसम्मका उपभोक्ता मिलेर तुम्लिङबाट ल्याउने योजना थियो । तर सुचारु हुन सकेन । नजिकै स्रोत नभएकाले भविष्यलाई अपुग हुन्छ । तर वर्तमानको लागि गाँउपालिकाबाट १७ लाख अनुदान लिएर जनश्रमदानमा ट्यांकी बनाइएको छ । जुन सुचारु हुने क्रममा छ । अहिले ३० हजार लिटरको ट्यांकी बनाएर ९०० मिटर उचाइमा १५ लाखको लागतमा मन्दिरसम्म पु¥याएका छौ । ५० हजार लिटरको २ वटा ट्यांकी छ अब २५ हजारको थप गरी स्थानीयलाई समेत वितरण गर्ने योजना छ ।
समिति संचालनको लागि आर्थिक स्रोत के हो ?
भक्तजनहरुबाट संकलन भएको चन्दा र भेटी नै हो । राज्यबाट सहयोग पाइएको छैन ।
पाथीभरा क्षेत्रमा कुनकुन देशबाट कति पर्यटकहरु आउँछन ?
दैनिक रुपमा हाम्रो तथ्यांकमा ७०० को दरले औषत आउने गरेका छन । आन्तरिक पर्यटकहरु बढी मात्रामा झापा, सुनसरी, मोरङ हुँदै काठमाण्डौको पनि आउँछन । विशेष गरेर भारतको सिलिगुडी, दार्जिलिङको बढी आउँछन । अहिले चाही सिक्किम र आसामका पनि बढी मात्रामा आइरहेका छन ।
संकलन गरिएको दान दक्षिणा कसरी व्यवस्थापन भइरहेको छ ?
सवै रसिद काटेर दिने गरिएको छ । अर्धकट्टीमा भएको अनुसार बैंकमा जम्मा गरिन्छ । अहिले चाहि ३ वटा बैंकमा खाता खोलेर जम्मा गरिरहेका छौ ।
स्थानीय सरकारको यो क्षेत्र प्रर्वद्धनको कस्तो योजना छ ?
आधिकारिक पत्र प्राप्त भएको छैन । तर गाँउपालिकाबाट पाथीभरा क्षेत्र विकास कोष पारित भएको छ सुन्नमा आएको छ । कार्यविधि कस्तो छ हेर्न पाएको छैन । कार्यविधि आइसकेपछि त्यसमा छलफल गर्ने छौ । गाँउपालिका सकारात्मक नै छ यो क्षेत्र प्रर्वद्धन गर्न ।
केबलकार संचालनको कुरा के भयो ?
केन्द्रिय सरकारबाट निति निर्माण नभएकाले केबलकार कसरी संचालन गर्ने भन्ने अन्योल छ तर कम्पनीहरु सम्र्पकमा छन । कहाँबाट संचालन गर्ने भन्ने अध्ययन भएको छैन । १ बर्षमा सक्ने योजना छ ।
सिढी सडकहरु स्तरोन्नतीको काम के हुँदै छ ?
हाँसपोखरीबाट ३ सय मिटर मन्दिर पुग्ने पक्की बाटो १४ लाखमा बनाइसक्यौ । तत्काल १ सय मिटरको काम पनि सुरु गर्छौ । बाटो, पानी भ्युटावर, पार्क लगायतका योजनाहरु अगाडी बढाउनेछौ ।
अतिक्रमण व्यवस्थित गर्न कस्ता कार्यक्रम गर्नुभएको छ ?
पाथिभरा संरक्षण समितीले यस क्षेत्रमा हुने अतिक्रमण रोक लगाइ नै रहेको छ । स्मार्ट भिलेजको योजनामा रहेकाले यसको बारेमा पनि छलफल भइरहेको छ । व्यवस्थित क्षेत्र बनाउनका लागी गाँउपालिकामा समेत योजना लगेर रोक्ने प्रयास भइरहेकोछ ।
नेपालका अन्य धार्मिक स्थलहरुसंग सम्वन्ध कस्तो छ ?
अध्यक्षभएसंगै अन्य धार्मिक क्षेत्र संस्थाहरुसंग समन्वयको लागी अध्ययन अनुसन्धान र भ्रमण गरेका छौ । भरखरै मुक्तीनाथ र काठमाण्डौमा बुझदा त्यहाँको शैली र हाम्रोमा फरक पायौ । अब भने झापाको पाँउ पाथिभरा र ताप्लेजुङको पाथिभरासंग जोडने छौ ।

प्रतिक्रिया
सम्बन्धित समाचार