Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदूषण नियन्त्रणको नाममा डिजेल र पेट्रोलमा अतिरिक्त ५० पैसा कर

प्रदूषण नियन्त्रणको नाममा डिजेल र पेट्रोलमा अतिरिक्त ५० पैसा कर

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १७ २०७५


प्रदूषण नियन्त्रणको नाममा डिजेल र पेट्रोलमा अतिरिक्त ५० पैसा कर

 इलाम । प्रदूषण नियन्त्रण शुल्क भन्दै इलाम नगरपालिकाले डिजेल र पेट्रोल खरिद गर्दा उपभोक्ताबाट अतिरिक्त ५० पैसा कर लिने भएको छ। नगरपालिकाले नेपाल आयल निगमलाई पत्र लेखेर उक्त कर लिइने भएकाले सहयोग गरिदिन भनेर अनुरोध समेत गरेको छ।

नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर एक रुपैयाँ इन्धनमा कर लिने व्यवस्था गरिएको भए पनि हाललाई ५० पैसा मात्र उठाउने निर्णय गरिएको पत्रमा जनाइएको छ। गत असार ३१ को नगर प्रमुखको सचिवालयमा भएको छलफलबाट ५० पैसा प्रदूषण नियन्त्रण शुल्क लिने निर्णय भएको थियो।

प्रदूषण नियन्त्रण शुल्क लिने निर्णय सार्वजनिक भएपछि उक्त निर्णयको चौर्तफी विरोध भएको छ। स्थानीयले सामाजिक सञ्जालमा नगरको निर्णयको चर्को विरोध गरेका छन्। नगरवासीले संघीयताको उपहार बढेको कर भनेका छन्। नगरवासीले नगरपालिकालाई कर मात्र बढाउने नभइ सुविधा पनि दिन माग गरेका छन्।

नगर प्रमुख महेश बस्नेतले प्रदूषण नियन्त्रण शुल्क नगरपालिकाले लिँदा विरोध गर्नु पर्ने कारण नरहेको बताए। प्रदूषण कर लिने निर्णयले इलाम नगरपालिका दोस्रो पटक विवादमा तानिएको छ।

यसअघि नगरका नागरिकले दोस्रो सन्तान जन्माउने सुत्केरीलाई दुई हजार, तेस्रो पटक जन्माउनेलाई तीन हजार, चौथो पटक जन्माउनेलाई चार हजार र पाँचौँ पटक तथा सोभन्दामाथि सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पोषण सुविधा बापत दिने निर्णय गरेको थियो।

उक्त निर्णयको विरोध भएपछि नगरपालिकाले सन्तान जन्माउँदा नभई आमाको स्याहारसुसारका लागि उक्त रकम दिने प्रष्टिकरण दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार